राजनीति


सानेपामा सभापति अनशन बस्याबस्यै, डडेल्धुरामा अधिवेशन अगाडि बढ्याबढ्यै

सानेपामा सभापति अनशन बस्याबस्यै, डडेल्धुरामा अधिवेशन अगाडि बढ्याबढ्यै

डडेल्धुरामा कांग्रेसको प्रदेश क्षेत्रीय अधिवेशनबाट विजयीहरू।


गोकुल जोशी
मंसिर ४, २०७८ शनिबार १३:५०, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको विवाद उत्कर्षमा पुगेको छ। 

क्रियाशील सदस्यता विवादकै बीच डडेल्धुरामा कांग्रेसका वडा र प्रदेश क्षेत्रीय अधिवेशन गरिएका हुन्। 

कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्ण मल्ल पक्षधरले अधिवेशन बहिष्कार गरेका छन्। जिल्ला सभापति मल्लले सिफारिस गरेर पठाएका क्रियाशील सदस्यको नाम काटेर केन्द्रले अरू थपेपछि डडेल्धुरामा विवाद चर्किएको हो। 

क्रियाशील सदस्यताबारे विवाद समाधान गर्न माग गर्दै बुधबारदेखि उनीहरू नेपाली कांग्रेसको केन्द्रीय कार्यालय (सानेपा) मा अनशनरत छन्। तर सभापति देउवाले मल्ल पक्षधरको माग सुन्ने कुनै सुरसार गरेका छैनन्। बरु उनीहरूलाई ‘पेलेर एकलौटी हिसाबले’ अगाडि बढ्ने नीति लिएका छन्। देउवा पक्षधरले डडेल्धुरामा वडा अधिवेशन सकेर शुक्रबार प्रदेश क्षेत्रीय अधिवेशन गरेको छ।

दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवा पक्षले पार्टीको विधान मिचेर अधिवेशन गरेको मल्ल पक्षको भनाइ छ। 

कांग्रेसको विधानको धारा १० (६) अनुसार प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको अध्यक्षता सभापतिले गर्ने प्रावधान छ। तर डडेल्धुरामा यो प्रावधानविपरीत प्रदेश क्षेत्रीय अधिवेशन गरिएको छ।

शुक्रबार प्रदेशसभा (१) र (२) मा जिल्ला सचिवद्वय हेमराज चटौत र लक्ष्मीदत्त अवस्थीको अध्यक्षतामा अधिवेशन सम्पन्न गरिएका हुन्। प्रदेश १ क्षेत्रीय सभापति  मानबहादुर बुढामगर र प्रदेशसभा (२) का सभापति करुणाकर भट्ट काठमाडौंमा अनशनमा छन्।
डडेल्धुरामा पार्टी पंक्तिलाई बाहिर राखेर शक्तिको आडमा एकलौटी तरिकाले अधिवेशन गरिएको प्रदेशसभा (२) सभापति करुणाकर भट्ट बताउँछन्। 

‘प्रदेश क्षेत्रीय सभापतिहरूसहित बहुमत कार्यसमिति सदस्य काठमाडौंमा छौं। डडेल्धुरामा अधिवेशन भएको छ’, उनले नेपालखबरसँग भने, ‘यो पार्टीको विधानविपरीत छ। हामीलाई स्वीकार्य हुँदैन।’

यो पनिदेउवाको गृहजिल्लाका कार्यकर्ताले थाले सानेपामा अनशन (तस्बिरहरु)

सभापतिको अनुपस्थितिमा अधिवेशन गर्ने प्रावधान कांग्रेसको कुन विधानमा रहेको छ भनेर उनले प्रश्न गरे। 

‘पार्टी पक्तिलाई बाहिर राखेर अधिवेशन गर्ने कांग्रेसको विधानले परिकल्पना गरेको छैन। सत्ताको दम्भमा राणा शैलीमा अधिवेशन गरिएको छ’, भट्टले भने, ‘प्रदेशसभा अधिवेशनको अध्यक्षता सभापतिले गर्नुपर्छ । मैले कसैलाई कार्यवाहक दिएको छैन।’

उनका अनुसार १७ सदस्यीय प्रदेशसभा (२) निर्वाचन क्षेत्रीय समितिका बहुमत (१२) पदाधिकारी र प्रदेशसभा (१) को ५ सदस्यीय कार्यसमितिका ३ जना सानेपामा रिले अनशनमा छन्।

विधानको खिल्ली उडाउँदै भएको अधिवेशनलाई मान्यता नदिन निर्वाचन समितिलाई उनले आग्रह गरेका छन्।

मल्ल पक्षधरको आवाज नसुनेरै उनीहरूलाई किनारा लगाउँदै देउवा पक्षले प्रदेशसभा क्षेत्रीय अधिवेशन गरेको हो। डडेल्धुरा प्रदेश (१) मा निर्वाचनमार्फत कैलाश पाण्डेय सभापति चयन भएको भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिलाकुमार भट्टले जानकारी दिइन। उनका अनुसार  प्रदेश (२) मा गणेश भट्ट सर्वसम्मत सभापति चयन भएका छन्। 

मल्ल पक्षधरलाई बर्जित गर्दै देउवा पक्षले जिल्ला अधिवेशन पनि गर्ने योजना बनाएको छ। एउटा संघीय निर्वाचन क्षेत्र मात्रै रहेको डडेल्धुरामा मंसिर ६ गते जिल्ला अधिवेशन गर्ने देउवा पक्षको कार्यतालिका छ। 

क्रियाशील सदस्यता विवाद कायम रहेकै बेला भदौ २५ मा डडेल्धुरामा अधिवेशन प्रक्रिया अघि बढेको थियो। सभापति कर्ण मल्लसहित बहुमत कार्यसमिति सदस्यले क्रियाशील सदस्यता विवाद समाधान नगरेसम्म अधिवेशन नगर्ने निर्णय गरेको थियो।

डडेल्धुरामा कांग्रेस अधिवेशनका केही दृश्य– 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad