गत साता चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले एउटा दुर्लभ संकल्प पारित गर्यो। पार्टीको सय वर्षे इतिहासमा तीन पटक मात्र यस्तो दस्तावेज पारित गरिएको छ।
पहिलो पटक १९४५ मा माओ त्सेतुङले ल्याएको संकल्पले पार्टीको मार्गनिर्देशक सिद्धान्तका रुपमा माओ विचारधारालाई समेटेको थियो। जसले कम्युनिस्ट पार्टी र चीनकै भविष्यलाई बदलिदियो। माओ आजीवन पार्टी नेता रहे।
१९८१ मा माओको सांस्कृतिक क्रान्तिको विरासतलाई त्याग्न देङ स्याओ पिङले दोस्रो संकल्प अघि सारे। जसले चीनलाई खुलापन र आर्थिक समृद्धिको मार्गमा डोर्यायो। र, विश्वकै ठूलो जनसंख्या भएको मुलुकको भविष्य बदल्यो।
२०१२ मा सत्तामा आएका सी चिनफिङले सुरुदेखि नै आफूलाई माओ र देङकै कोटीमा उभ्याउने प्रयास गरिरहेका थिए। विश्वको महाशक्ति राष्ट्रका रुपमा अमेरिकालाई विस्थापित गर्ने कोसिस गरिरहेका सीले चिनियाँ राष्ट्रको कायाकल्पको लक्ष्य अघि सारेका छन्। दुई कार्यकाल मात्र पार्टी र सरकार प्रमुख बन्न पाइने विधान उनले परिवर्तन गरिसकेका छन्। यही क्रममा कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकले संकल्प पारित गर्यो।
‘गत शताब्दीमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रमुख उपलब्धि र ऐतिहासिक अनुभव’ नाम दिइएको संकल्पको चर्चा अझै जारी छ। थुप्रैले सीले तेस्रो कार्यकाल सुनिश्चित गर्न अथवा आजीवन पार्टी नेता बन्ने उदेश्यले यो दस्तावेज ल्याएको आकलन गरे।
के छ त २७ हजार शब्दको यो बहुचर्चित संकल्पमा?
संकल्पमा खासगरी पार्टीको सय वर्षका उपलब्धि र गल्तीको समीक्षा र आगामी लक्ष्यको चर्चा गरिएको छ। पार्टीले सय वर्ष पुरा गरेको सन्दर्भमा सबै हिसाबले आधुनिक समाजवादी राष्ट्र निर्माणको यात्रा सुरु गर्न तथा राष्ट्रिय कायाकल्पको चिनियाँ सपना पुरा गर्न विगतको समीक्षा आवश्यक रहेको चिनियाँ कम्युनिस्ट पार्टीको ठहर छ।
प्रस्तावनाबाहेक सो दस्तावेजमा सात खण्ड छन्। जसको सारांश यसप्रकार छः
१. प्रजातान्त्रिक क्रान्तिमा विजय
यो खण्डमा कम्युनिस्ट पार्टी स्थापनाको पृष्ठभूमिदेखि १९४९ मा जनवादी गणतन्त्र स्थापनासम्मको अवधिबारे चर्चा गरिएको छ। त्यो अवधिमा पार्टीले गरेका प्रमुख कामहरुमा साम्राज्यवाद, सामन्तवाद र नोकरशाही पुँजीवादको विरोध, स्वतन्त्रता र मुक्तिका लागि विभिन्न चरणमा गरिएका लडाइँ र संघर्ष उल्लेख छ।
‘इतिहास र जनताले चिनियाँ कम्युनिस्ट पार्टीलाई रोजेको पुष्टि भइसकेको छ। पार्टीको नेतृत्वबिना राष्ट्रिय स्वतन्त्रता र जनताको मुक्ति हासिल गर्न सम्भव थिएन। कठिन संघर्षमार्फत पार्टी र जनताले के देखाइदिए भने चिनियाँ जनता आफ्नै खुट्टामा खडा भएका छन्, र चिनियाँ राष्ट्रलाई तर्साउने, दुःख दिने युग बितिसक्यो, त्यो समय फेरि कहिल्यै फर्किने छैन। यो चीनको विकासमा नयाँ युगको सुरुवात थियो,’ दस्तावेजमा भनिएको छ।
२. समाजवादी क्रान्ति र निर्माण
यो खण्डमा जनवादी गणतन्त्र स्थापनादेखि खुलापनको नीतिसम्मका प्रमुख उपलब्धि र असफलताहरुको चर्चा गरिएको छ। भर्खर स्थापना भएको समाजवादी शासनव्यवस्थाको स्थापना र सञ्चालन, ठुल्ठूला योजना परिचालन, कूटनीतिमा पञ्चशीलका सिद्धान्तको खोज, आदिलाई यो अवधिको उपलब्धि मानिएको छ।
नयाँ वैचारिक सिर्जना र मार्क्सवादको सिर्जनात्मक प्रयोगका रुपमा दस्तावेजले माओ त्सेतुङ विचारधाराको प्रशंसा पनि गर्छ। तर, सांस्कृतिक क्रान्तिलगायत गल्तीमा माओलाई जिम्मेवार पनि ठहर्याइएको छः
खेदजनक रुपमा पार्टीको आठौँ राष्ट्रिय सम्मेलनले अनुमोदन गरेको सही लाइनलाई कार्यान्वयन गरिएन। महान अग्रगामी छलाङ र जनकम्युन अभियानजस्ता गल्ती भए। त्यसबेलाको गम्भीर र जटिल बाहिरी वातावरणका कारण समाजवादी राज्यको शक्तिलाई सुदृढ गर्ने विषयमा पार्टी अत्यन्त चिन्तित थियो। त्यसका लागि धेरै प्रयास भए। तर, समाजवादी समाजमा रहेको वर्गसंघर्षबारे कमरेड माओ त्सेतुङका सैद्धान्तिक र व्यवहारिक गल्ती झनझन् गम्भीर हुँदै गए। र, केन्द्रीय कमिटीले समयमै ती गल्तीलाई सुधार्न सकेन। मुलुकको वर्ग सम्बन्ध र पार्टी तथा देशमा विद्यमान राजनीतिक परिस्थितिबारे पुरै गलत मूल्यांकनका आधारमा कमरेड माओ त्सेतुङले सांस्कृतिक क्रान्ति सुरु गर्नुभयो। लिन प्यायो र चियाङ चिङको प्रतिक्रान्तिकारी गुटले माओको गल्तीको फाइदा उठायो र थुप्रै अपराध गर्यो। जसले मुलुक र जनतामाथि प्रलय निम्त्यायो। फलस्वरुप दस वर्षको आन्तरिक अव्यवस्था आइपर्यो। त्यसका कारण पार्टी, मुलुक र जनताले जनवादी गणतन्त्र स्थापनायताकै सबैभन्दा गम्भीर क्षति र असफलता बेहोर्नुपर्यो। यो अत्यन्त नमिठो पाठ थियो। पार्टी र जनताको इच्छाअनुसार अक्टोबर १९७६ मा केन्द्रीय कमिटीको राजनीतिक ब्युरोले ‘ग्याङ अफ फोर’ लाई ध्वस्त पार्यो र प्रलयकारी सांस्कृतिक क्रान्तिको अन्त्य गर्यो।
३. सुधार, खुलापन र सामाजवादी आधुनिकीकरण
यो खण्डमा देङ स्याओपिङले खुलापनको नीति अँगालेदेखि २०१२ मा सी सत्तामा नआउन्जेलसम्मका उपलब्धिहरुको चर्चा गरिएको छ। देङ, जियाङ जमिन र हु जिन्ताओको नेतृत्वमा छोटो समयमा चीनले समृद्धिसम्मको यात्रा तय गरेको दस्तावेजमा उल्लेख छ।
‘सांस्कृतिक क्रान्ति अन्त्यपछि पार्टी महत्वपूर्ण ऐतिहासिक दोबाटोमा उभिएको थियो। त्यो विन्दुमा पार्टीले अगाडिको एक मात्र बाटो भनेको सुधार र खुलापनको कार्यक्रम नै हो भन्ने पहिचान गर्यो। अन्यथा आधुनिकीकरण र समाजवादको निर्माण असफल हुने निश्चित थियो। डिसेम्बर १९७८ मा केन्द्रीय कमिटीको बैठकले वर्ग संघर्षलाई प्रमुख कार्यक्रम मान्ने नीतिलाई त्यागिदियो र मुख्य ध्यान पार्टी र मुलुकको काममा केन्द्रित गर्यो,’ दस्तावेजमा भनिएको छ।
चिनियाँ विशेषतासहितको समाजवादको विकासमा देङ स्याओपिङ सिद्धान्तको महत्वबारे प्रकाश पार्दै त्यसले सम्पूर्ण ध्यान आर्थिक काममा केन्द्रित गरेको उल्लेख छ।
‘..आज चीन जुन स्थितिमा छ, त्यसका लागि सुधार र खुलापन महत्वपूर्ण छ,’ संकल्पमा भनिएको छ।
४. चिनियाँ विशेषतासहितको समाजवादको नयाँ युग
यो पुरै खण्ड सी चिनफिङ र उनका काममा केन्द्रित छ। यो अवधिमा मध्यम रुपमा समृद्ध समाज निर्माण गर्ने कम्युनिस्ट पार्टीको पहिलो सय वर्षको उदेश्य पुरा भएको बताइएको छ। र, चीनलाई आधुनिक र महान समाजवादी मुलुकमा बदल्ने यात्रा सुरु भएको बताइएको छ।
वैचारिक–सैद्धान्तिक रुपमा पनि सी चिनफिङ विचारधारामार्फत् उनलाई माओको हाराहारीमा उभ्याइएको छ। त्यसका अलावा गएको नौ वर्षमा पार्टीले यी १३ क्षेत्रमा मुख्य उपलब्धि हासिल गरेको उल्लेख छः
क) पार्टीको समग्र नेतृत्वलाई कायम राख्नु
ख) पूर्ण र कठोर स्वशासनको अभ्यास गर्नु
ग) आर्थिक विकासको पिछा गर्नु
घ) सुधार र खुलापनलाई अझ गहिरोगरी लागू गर्नु
ङ) राजनीतिक कामलाई अघि बढाउनु
च) कानुनमा आधारित शासनलाई बृहत् रुपमा उन्नत बनाउनु
छ) सांस्कृतिक उन्नतिलाई बढावा दिनु
ज) सामाजिक उन्नतिलाई बढावा दिनु
झ) वातावरणीय उन्नतिलाई बढावा दिनु
ञ) राष्ट्रिय रक्षा र सेनालाई सुदृढ पार्नु
राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरणका लागि चीनले तीन चरणको रणनीति अख्तियार गरेको छः
– जनमुक्ति सेनाको पहिलो शताब्दीको लक्ष्य २०२७ मा पुरा गर्ने
– राष्ट्रिय रक्षा र सेनाको आधुनिकीकरण २०३५ सम्ममा पुरा गर्ने, र
– यो शताब्दीको मध्येसम्ममा सेनालाई पुरै रुपान्तरण गरेर विश्वस्तरीय बनाउने
ट) राष्ट्रिय सुरक्षाको रक्षा
ठ) एक देश, दुई व्यवस्थाको नीतिलाई कायम राख्नु र राष्ट्रिय पुनर्एकीकरणको प्रबद्र्धन गर्नु
ताइवानलाई मुख्यभूमिमा एकीकरण गर्ने ऐतिहासिक अभियानमा पार्टीको अटल प्रतिबद्धता भएको जनाइएको छ। सीले अघि सारेको राष्ट्रिय कायाकल्पलाई प्राप्त गर्न ताइवानको एकीकरण आवश्यक रहेको उल्लेख छ।
ड) कूटनीतिक मोर्चालाई मजबुत गर्नु
अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा ठूलो समायोजन भइरहेकाले एकपक्षीयतावाद, संरक्षणवाद, प्रभुत्ववाद र शक्तिको राजनीतिले विश्व शान्ति र विकासमा खतरा उत्पन्न गरेको तथा विश्व अशान्ति र परिवर्तनको अवधिमा प्रवेश गरेको दस्तावेजमा उल्लेख छ।
‘..छिमेकीहरुसँग सहभागितामूलक तथा मित्रता र साझेदारीको नीति अँगालेका छौँ। हामीले छिमेकी मुलुकसँग सम्बन्धलाई अझ गहिरो तुल्याएका छौँ। उनीहरुको रणनीतिक समर्थन प्राप्त गर्न काम गरेका छौँ। र, उनीहरुसँग साझा भविष्य निर्माणका लागि साझेदारी गरेका छौँ,’ संकल्पमा भनिएको छ।
५. गत शताब्दीमा पार्टीका प्रयासहरुको ऐतिहासिक महत्व
यो खण्डमा गत शताब्दीमा पार्टीले हासिल गरेको उपलब्धिहरुको समीक्षा गर्दै पार्टीका ती प्रयासहरुको महत्वबारे चर्चा गरिएको छ। जसलाई पाँच विन्दुमा वर्णन गरिएको छः
क) चिनियाँ जनताको भविष्यलाई आधारभूत रुपमा परिवर्तन गर्नु
ख) चिनियाँ राष्ट्रको कायाकल्प प्राप्तिका लागि सही मार्ग चुन्नु
ग) मार्क्सवादको प्रबल शक्ति प्रदर्शन गर्नु
घ) विश्व इतिहासमा ठूलो प्रभाव उत्पन्न गर्नु
ङ) कम्युनिस्ट पार्टीलाई समयको अग्रदूत बनाउनु
यो खण्डले चिनियाँ जनता, राष्ट्र, मार्क्सवाद, मानवीय प्रगतिलगायतमा कम्युनिस्ट पार्टीले दिएको योगदानको वर्णन गरेको छ।
चिनियाँ सन्दर्भमा मार्क्सवादको प्रयोग सफल भएको कुरालाई बढी महत्व दिइएको छ। यसले समाजवादप्रतिको आम धारणामा नै परिवर्तन आएको पनि बताइएको छ:
मार्क्सवादले मानव समाजको विकासलाई सञ्चालन गर्ने नियमहरुलाई प्रकाशमा ल्याएको छ। दुनियाँलाई बुझ्ने र बदल्ने यो वैज्ञानिक सत्य हो। तर, मार्क्सवादलाई कायम राख्न र विकास गर्न विश्वभरका मार्क्सवादीहरुले सिद्धान्त र व्यवहार दुवैतर्फ कठिन मेहनत गर्नुपर्ने हुन्छ...चीनमा मार्क्सवादलाई वैज्ञानिक सत्यका रुपमा पूर्ण परीक्षण गरिएको छ। मार्क्सवादको जनकेन्द्रित र व्यवहारिक प्रकृतिलाई पूर्ण प्रयोग गरिएको छ। यसको अनियत र खुला प्रकृति तथा वर्तमान प्रासंगिकताको प्रदर्शन गरिएको छ। चिनियाँ सन्दर्भ र हाम्रो समयको आवश्यकताअनुसार मार्क्सवादको प्रयोगमा हामीले प्राप्त गरेको निरन्तर सफलताले दुनियाँको नजरमा मार्क्सवाद नयाँ रुपमा प्रकट हुन सम्भव भएको छ। यसले दुई अलग विचारधारा र सामाजिक व्यवस्थाका रुपमा समाजवाद र पुँजीवादबीचको प्रतिस्पर्धालाई समाजवादको पक्षमा ढल्काएको छ।
६. गत शताब्दीमा पार्टीका प्रयासहरुबाट प्राप्त ऐतिहासिक अनुभव
यो खण्डमा पार्टीले गत सय वर्षमा हासिल गरेका प्रमुख अनुभवहरुलाई समेटिएको छ। जसलाई १० बुँदामा उल्लेख गरिएको छः
क) पार्टीको नेतृत्वलाई कायम राख्ने
ख) जनतालाई पहिलो प्राथमिकता दिने
ग) सैद्धान्तिक नवअन्वेषणलाई उन्नत तुल्याउने
घ) स्वतन्त्र रहने
ङ) चिनियाँ मार्ग पहिल्याउने
च) विश्वव्यापी दृष्टिकोण कायम गर्ने
छ) नयाँ सुरुवात गर्ने
ज) आफ्ना लागि खडा हुने
झ) एकीकृत मोर्चा अघि सार्ने
ञ) आत्मसुधारका लागि प्रतिबद्ध रहने
७. नयाँ युगमा चिनियाँ कम्युनिस्ट पार्टी
यो खण्ड दोस्रो शताब्दीको लक्ष्यमा केन्द्रित छ। यसले पार्टी सदस्यहरुलाई चीनको कायाकल्प गरेर महान् आधुनिक समाजवादी राष्ट्र निर्माणमा जुट्न आह्वान गर्छ।
‘पार्टीको लक्ष्य प्राप्त गर्ने हो भने हामीले किन सुरुवात गरेका थियौँ, कहिल्यै भुल्नु हुँदैन’ दस्तावेजमा भनिएको छ, ‘१९ औँ राष्ट्रिय सम्मेलनमा दोस्रो शताब्दीको लक्ष्य हासिल गर्न पार्टीले दुई चरणको रणनीति अघि सारेको थियो। पहिलो चरणमा २०२० देखि २०३० सम्म हामीले आधारभूत रुपमा समाजवादी आधुनिकीकरण हासिल गरिसक्ने छौँ। दोस्रो चरणमा २०३५ देखि शताब्दीको मध्यसम्ममा हामी चीनलाई एक महान् आधुनिक समाजवादी मुलुक बनाउने छौँ। त्यो चरणको अन्त्यमा निम्न लक्ष्यहरु पुरा हुनेछन्ः
–भौतिक, राजनीतिक, सांस्कृतिक–नैतिक, सामाजिक र वातावरणीय उन्नतिका हरेक पक्षमा नयाँ उचाइ प्राप्त हुनेछ
–चिनियाँ प्रणाली र शासन क्षमताको आधुनिकीकरण प्राप्त हुनेछ
–समग्र राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय प्रभावका मामिलामा चीन विश्वको नेता बन्नेछ
–सबैको साझा समृद्धि धेरै हदसम्म पुरा हुनेछ
–चिनियाँ जनताले खुसी, सुरक्षित र स्वस्थ जीवन बाँच्नेछन्
–विश्वका मुलुकहरुमध्ये चिनियाँ राष्ट्र अग्लो र गौरवान्वित रुपमा खडा हुनेछ
Shares
प्रतिक्रिया