नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव नल्याइने बताएका छन्।
‘यो हामीले ल्याएको पनि छैन, कुरा भएको पनि छैन, कहाँबाट आयो’, शुक्रबार नेपाल पत्रकार महासंघ गण्डकीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने,‘ यो हल्ला हो, हल्लाको पछि कुद्नु छैन।’
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरूको हुर्मत लिन खोजेको आरोप पनि लगाए।
संसद पुनःस्थापनाका पक्षमा परमादेश जारी गर्ने पाँचै न्यायाधीशले नै राजीनामा गर्नुपर्ने माग गरेर एमाले अध्यक्ष ओलीले जालझेल र तिकडम गरेको जिकिर नेपालले गरे।
उनले भने, ‘उहाँ (ओली) न्यायिक क्षेत्रको हुर्मत लिन खोज्दै हुनुहुन्छ, सिस्टम भत्काउन चाहनुहुन्छ,उहाँको काम नै त्यही हो।’
तर उनले न्यायपालिकाभित्र घटित पछिल्लो घटनाक्रमबारे आफूसँग धेरै जानकारी नभएको दाबी पनि गरे।
Shares
प्रतिक्रिया