स्वास्थ्यमा समस्या देखिएपछि ग्राण्डीमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।
स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल गए पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने उनी ‘नियमित स्वास्थ्य जाँच’का लागि अस्पताल गएको बताएका थिए। तर अन्य समयमा भने प्रधानमन्त्री नियमित स्वास्थ्य परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुग्ने गरेका थिए।
ओली बुधबार बिहान ग्राण्डी अस्पताल पुगेका थिए। उनलाइ अपरेसन थिएटरमै राखेर विभिन्न परीक्षण गराइएको थियो। उनको स्वास्थ्य अवस्था ‘नर्मल’ रहेको र डिस्चार्ज गर्ने तयारी भइरहेको ग्रान्डी अस्पतालले जनाएको छ। अस्पताल प्रशासनले नेपालखबरसँग भन्यो, ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य सामान्य छ, एक घण्टाभित्र डिस्चार्ज गरिन लागिएको छ।’
अस्पतालका अनुसार प्रधानमन्त्रीलाई आईसीयूमा राखेर विभिन्न परीक्षण गरेपछि अपरेशन थिएटरमा लगेर नियमित जाँच गरिएको हो। प्रधानमन्त्री ओलीले भदौ ५ गते सिंगापुर गएर त्यहाँ दुई साता बसेर प्लाज्माफेरेसिस गराई भदौ २० गते स्वदेश फर्किएका थिए।
त्यसपछि उनले नियमित रुपमा उपचार गराउँदै आएका छन्।
Shares

प्रतिक्रिया