राजनीति


अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

अफगानिस्तानका लागि अमेरिकी राजदूत खलिलजादले दिए राजीनामा

नेपालखबर
कात्तिक २, २०७८ मंगलबार ११:५४, काठमाडौँ

अफगानिस्तानका लागि अमेरिकी राजदूत जाल्मे खलिलजादले राजीनामा दिएका छन् । अमेरिकी विदेश मन्त्रालयले उनले राजीनामा दिएको बताएको छ ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको दुई महिना नपुग्दै खलिलजादले राजीनामा दिएका हुन् । खलिलजादको स्थानमा उनका सहायक टोम वेस्टले पदभार सम्हाल्नेछन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सार्वजनिक गरेको एक विज्ञप्तिमा टोम वेस्टले कतारको दोहास्थित दूतावासबाट काम गर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म खलिलजादलाई उनले गरेको सेवाप्रति आभार व्यक्त गर्न चाहन्छु र विशेष प्रतिनिधि वेस्टलाई सोही पदमा स्वागत गर्न चाहन्छु ।’ 

रोयटर्सका अनुसार गत शुक्रबार खलिलजादले आफ्नो राजीनामा पत्र बुझाएका थिए । तालिबानले अफगानिस्तानमा कब्जा जमाएपछि अमेरिकाको तालिबानसँगको पहिलो आधिकारिक वार्तामा खलिलजाद सामेल थिएनन् । उक्त वार्ता अक्टोबरको सुरुमा दोहामा भएको थियो । 

अफगानिस्तानमा जन्मिएका खलिलजाद सन् २०१८ देखि यो पदमा रहँदै आएका थिए । उनले तालिबानसँगको अमेरिकाको वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा २०२० को फेब्रुअरीमा अमेरिका–तालिबान शान्ति सम्झौता भएको थियो । सोही सम्झौताको आधारमा यस वर्ष अमेरिकी सेनाले अफगानिस्तान छाडेको हो । 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad