ad ad

राजनीति


तुल्सीपुर र घोराहीमा बढ्यो कांग्रेसको चुनावी राप: गुटबन्दी अन्त्यको चुनौती

तुल्सीपुर र घोराहीमा बढ्यो कांग्रेसको चुनावी राप: गुटबन्दी अन्त्यको चुनौती

सुदीप भण्डारी
असोज ४, २०७८ सोमबार २०:१७, काठमाडौँ

नेपाली कांग्रेसको गाउँ नगर अधिवेशन सुरु हुन ५ दिन बाँकी रहँदा दाङमा कांग्रेस कार्यकर्तामाझ चुनावी सरगर्मी बढेको छ। विगतमा कांग्रेसको राम्रो प्रभाव भएको जिल्ला हो दाङ। खुमबहादुर खड्काको देशव्यापी गुट थियो।

खुमबहादुरकै प्रभावका कारण विगतका चुनावमा कांग्रेसले दाङमा बर्चस्व कायम गरेको थियो। २०४८ र ०५१ सालको चुनावमा एउटाबाहेक सबै क्षेत्र कांग्रेसले जितेको थियो। त्यस्तै २०५६ र २०७० सालको चुनावमा कांग्रेसले सबै क्षेत्रमा आफ्नो झण्डा फहराएको थियो। तर, २०६४ सालको चुनावमा भने माओवादीले जिल्लाका सबै क्षेत्रमा पकड जमाएको थियो। 

२०७४ सालको चुनावले कांग्रेसलाई १० वर्ष अघि २०६४ कै निराशा सम्झाइदियो। एमाले र माओवादी केन्द्र मिलेर चुनाव लड्दा दाङमा कांग्रेस एउटा प्रदेश निर्वाचन क्षेत्रमा मात्र विजयी भएको थियो। बाँकी ५ वटा प्रदेश निर्वाचन क्षेत्र र ३ वटा प्रतिनिधि सभाको क्षेत्र कांग्रेसले गुमायो।

तर, एमाले र माओवादी केन्द्र मिलेर मात्र दाङमा कांग्रेस कमजोर देखिएको होइन। संसदीय चुनावको ५ महिनाअघि २०७४ असारको स्थानीय चुनावमा पनि कांग्रेसले कमजोर प्रदर्शन गरेको थियो।

जिल्लाका १० वटा स्थानीय तहमध्ये ३ वटा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जितेको थियो। लमही नगरपालिकामा उपमेयर र बबई गाउँपालिकामा उपाध्यक्षमा मात्र हात पार्यो। यी दुई पालिकाका प्रमुख पदमा भने एमाले विजयी भएको थियो। 

तुल्सीपुर र घोराही दुवै उपमहानगरमा मेयर र उपमेयर दुवै पद कांग्रेसले गुमाएको थियो। जित्नुपर्ने धेरै वडाहरुमा समेत काग्रेस विजयी हुन नसकेको कार्यकर्ता तथा शुभेच्क्षुकको बुझाइ छ। 

अहिले तुल्सीपुर र घोराहीमा कांग्रेसको नगर अधिवेशनबाट कस्तो नेतृत्व आउला भन्ने धेरैको चासो छ। दुई सहरमा कांग्रेसको नगर सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकाहरुले पनि पार्टीमा एकता नहुँदा स्थानीय चुनावमा पराजय बेहोर्नुपरेको बताएका छन्। उनीहरुले आफू नगरको नेतृत्वमा पुगे एकता कायम गरेर कांग्रेसको प्रभाव बढाउने दाबी गरे। 

तुल्सीपुरमा हमाल र कार्की मैदानमा 
नेपाली कांग्रेस तुल्सीपुर नगर सभापतिको लागि सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्कीले उम्मेदवार बन्ने बताएका थिए। तर सुरेश हमाल र अनिल कार्कीबीच मात्र प्रतिस्पर्धा हुने देखिएको छ। तुल्सीपुरमा केन्द्रीय सदस्य दीपक गिरी र पूर्वसांसद गेहेन्द्र गिरी गरी दुई समुहमा कांग्रेस कार्यकर्ताहरु देखिएका छन्। दीपक गिरी केन्द्रमा शशांक कोइराला पक्षका हुन् भने गेहेन्द्र देउवा पक्षका हुन्। 

तुल्सीपुरका नगर सभापतिका उम्मेदवारमध्ये सुरेश हमाललाई दीपकको समर्थन छ। अनिल कार्कीलाई गेहेन्द्रले अगाडि सारेका छन्। 

सुरेश कांग्रेसको केन्द्रीय यातायात विभागका सदस्य हुन्। त्यस्तै उनी कांग्रेस निकट नेपाल प्रजातान्त्रिक यातायात व्यवसायी संघका केन्द्रीय सचिव पनि हुन्। विगतका त्रुटिहरुलाई समीक्षा गरेर तुल्सीपुरमा कांग्रेसलाई फेरि बलियो बनाउने आफ्नो एजेन्डा रहेको नगर सभापतिका उम्मेदवार हमालले बताए। 

‘तुल्सीपुरमा कांग्रेस बलियो हो। बीचमा केही प्राविधिक कारण अनि केही पार्टीभित्रको आन्तरिक त्रुटिले पराजित हुनुपर्यो। विगतका कमजोरी र विकृतिलाई हटाउँदै सबैलाई समेटेर कांग्रेसलाई बलियो बनाउने छौँ,’ उनले भने।

गत स्थानीय चुनावमा तुल्सीपुरका १९ वटा वडामध्ये ११ वटा वडामा कांग्रेस विजयी भएको थियो। तर, मेयर र उपमेयर जित्न भने सकेको थिएन। 

तुल्सीपुरका कांग्रेस नगरसभापतिका अर्का उम्मेदवार अनिल कार्कीले उपमहानगरमा सेलाएको पार्टीको रापलाई फेरि तताउने बताए। 

‘तुल्सीपुरमा हिजोको दिनमा कांग्रेसको जुन राप थियो त्यो घटेको छ। त्यसलाई बदल्न हामी युवा आउन लागेका हौँ,’ उनले भने, ‘यहाँ कांग्रेसमा आस्था भएका तमाम हुनुहुन्छ। तर सक्षम कार्यकर्ताको आवश्यकता छ। म नेतृत्वमा आएँ भने कार्यकर्ताहरुलाई सक्षम र सशक्त बनाउँछु।’

२०६५ सालमा राप्ती बबई क्याम्पसमा स्ववियु सभापति भएका कार्की विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका हुन्। 

दुवै उम्मेदवारले आफू सहमतिका लागि बाधक भने नबन्ने बताएका छन्। हमालले क्षेत्रदेखि जिल्लासम्म सहमतिको वातावरण बनेमा आफू बाधक नबन्ने बताए। अनिल कार्कीले माथिल्लो तहका नेताहरुमा सहमतिको खाका ल्याएमा आफूले मनन् गर्ने उल्लेख गरे। 

घोराहीमा गिरी र रावतबीच प्रतिस्पर्धा हुने 
नेपाली कांग्रेसको घोराही नगर सभापतिको लागि रमेश पाण्डे र तिलक रावतले उम्मेदवारी घोषणा गरेका थिए। आइतबार पाण्डे नगरसभापतिको उम्मेदवारबाट  पछि हटे। तिलक रावतले चुनावी प्रचारप्रसार जारी राखेका छन्। रावत पार्टीमा संस्थापन अर्थात् देउवा पक्षका हुन्। 

पाण्डे पछि हटेपछि संस्थापन इतर पक्षले निरज गिरीलाई नगरसभापतिको उम्मेदवारको रुपमा अघि सारेको छ। दुवै जना विद्यार्थी राजनीतिबाट आएका हुन्। नगरसभापतिको उम्मेदवार तिलक रावतले आफूहरुको पुस्ता आएपछि घोराहीमा फेरि कांग्रेसको प्रभाव बढ्ने दाबी गरे। 

‘घोराही कांग्रेसको लिगेसी बोकेको सहर हो। हिजोभन्दा हामी केही न केही संगठनात्मक रुपमा कमजोर छौँ,’ उनले भने, ‘हिजोको हाम्रो लिगेसी र संगठनात्मक सम्पत्तिलाई जोगाउन हामीले केही परिश्रम गर्न आवश्यक छ। वैचारिक रुपान्तरणको लागि मैले आफ्नो उम्मेदवारी घोषणा गरेको हो।’ 

यता आइतबार मात्र घोराही नगर सभापतिका लागि निरज गिरी अघि सरेका छन्। यसअघि वडा समितिको कोषाध्यक्ष रहेका गिरीले सभापतिमा फड्को मार्ने तयारी गरेका हुन्। उनले कार्यकर्ताहरुबीचको सम्पर्कलाई मजबुत बनाएर नगरभित्र पार्टीलाई सशक्त बनाउने बताए।

‘पुराना र नयाँ दुवै पुस्ताका कार्यकर्ता छौ। तर, एउटा समस्या के छ भने नयाँ साथीहरुले धेरै पुराना साथीहरुलाई नचिन्ने समस्या छ,’ उनले भने, ‘पार्टीभित्र आपसमा सम्पर्क कमजोर हुँदा पार्टीमा पनि असर परेको छ। त्यसको लागि मैले पुलको काम गरेर समन्वय बढाउँछु। कार्यकर्ताको प्रशिक्षण लगायतका कुराहरुलाई पनि निरन्तरता दिन्छु।’ 

घोराहीमा नगरसभापतिको उम्मेदवारी घोषणा गरेका गिरी र रावत दुवैले सहमति भएमा आफू पछि हट्न तयार रहेको बताए। 

दुई उपमहानगरसँगै लमही नगरपालिका र ७ वटा गाउँपालिकामा पनि अधिवेशनको चहलपहल बढेको छ। गाउँनगरमा सभापतिको आकांक्षीहरुले पनि आआफ्नो ठाउँमा पार्टीलाई बलियो बनाउने बताएका छन्। 

६ वर्षअघिको अधिवेशनमा दाङमा चरम गुटबन्दी थियो। एउटा क्षेत्रबाट पार्टीको एक पक्षका मात्र प्रतिनिधि चुनिएर जान्थे। अर्को पक्षका राम्रा मान्छे पनि तल्लो तहमा पराजित हुन्थे। 

त्यसकै असर स्थानीय तहको चुनावमा पनि देखियो। एकपक्षको उमेदवारलाई पार्टीभित्रकै अर्को पक्षले अन्तरघात र असयोग गरेकाले समानुपातिकतर्फ दाङमा कांग्रेस पहिलो भए पनि स्थानीय तहमा राम्रो नतिजा ल्याउन नसकेको कार्यकर्ताको भनाइ छ।

तर, अहिलेको अधिवेशनमा भने त्यस्तो गुटबन्दी नहुने दाङमा राजनीतिशास्त्रको प्राध्यापन गरिरहेका सुदीप गौतमको बुझाइ छ। 

‘जिल्लाभरमा सय वटा वडा छन्। ६० वटा वडामा सर्वसम्मत पदाधिकारी तथा प्रतिनिधि चुनिएका छन्। निर्वाचन भएको वडामा पनि एक पक्ष मात्र हाबी देखिएको छैन। दुवै पक्ष मिश्रित रुपमा आए,’ उनले भने, ‘नयाँ क्रियाशील सदस्यहरु धेरै थपिए। नयाँ पिँढीले अन्धभक्तका रुपमा आफ्नै गुटलाई मात्र भोट हालेन। राजनीतिमा सक्रियहरुलाई न्याय गरेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .