अहिलेको प्रतिनिधि सभा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईदुईपटक विघटन गरे पनि अदालतद्वारा पुनःस्थापित संसद् हो।
पहिलोपटक गत पुस ५ गते एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। तर त्यसविरुद्ध परेको मुद्दाको सुनुवाइ गर्दै सर्वाेच्च अदालतले गत फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गर्यो।
त्यसपछि पनि ओली र भण्डारीले पुनः दोस्रोपटक गत जेठ ७ गते मध्यराति संसद् विघटन गरे। त्यसविरुद्ध पनि रिट निवेदन परेपछि सर्वाेच्च अदालतले गत असार २८ गते पुनः उनीहरूको निर्णय बदर गर्दै प्रतिनिधि सभा ब्युँताएको हो।
योसँगै प्रधानमन्त्री पदबाट बर्खास्त एमाले अध्यक्ष ओलीलगायत उनका पार्टीका सांसद पनि अहिले प्रतिनिधि सभाका बैठकमा सहभागी भएर चर्काे स्वरमा सरकारको विरोध गर्ने गरिरहेका छन्।
यसैले ओलीविरोधी ती दल तथा नागकिरले आफैंले विघटन गरेको संसदमा उपस्थित हुन ओलीलगायत एमाले सांसदलाई किन लाज नलागेको होला भनेर आलोचना गर्ने गरेका छन्।
यसै प्रसंगमा पूर्वमुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेलले जवाफ दिएका हुन्।
‘संसद् विघटनगर्नेहरू संसदमा जानु हुँदैन भन्नेहरू पनि छन्,’ एमाले नेता पोखरेलले सामाजिक सञ्जालमार्फत दाबी गरेका छन्, ‘तर संसदको विघटन चुनावका लागि थियो, संसदीय लोकतन्त्रको अन्त्यका लागि होइन।’
Shares

प्रतिक्रिया