ad ad

राजनीति


एमसीसीबारे माधव नेपालको लाइन : संशोधन नगरी पास गर्न सकिँदैन

झलनाथ कार्यदल प्रतिवेदनलाई आधार बनाउन आग्रह
एमसीसीबारे माधव नेपालको लाइन : संशोधन नगरी पास गर्न सकिँदैन

ज्ञानेन्द्र खड्का
भदौ २४, २०७८ बिहिबार १९:८, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीले झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन अघि बढाउनुपर्ने नीति लिएको छ।

२०७६ माघ १९ मा तत्कालीन नेकपाले गठन गरेको खनाल कार्यदलले एमसीसीलाई संशोधन नगरी पास गर्न नसकिने प्रतिवेदन दिएको थियो।

अहिलेलाई एकीकृत समाजवादीले पनि एमसीसी संशोधन नगरी पास गर्न नसकिने अडान लिएको हो। एमसीसीलाई लिएर एमाले फुटाएर बनेको समाजवादीले हालसम्म औपचारिक धारणा तय गरिसकेको छैन। 

यस्तो अवस्थामा नेपालखबरले हालै मात्र एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडासँग सरकारले एमसीसी संसदमा टेबुल गर्न लाग्दैछ, तपाईंहरुको पार्टीले के गर्छ भनेर सोधेको थियो।

नेता खतिवडाले एमसीसीबारे अहिलेलाई आफूहरुको लाइन झलनाथ नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार नै हुने बताए। तत्कालीन अवस्थामा नेकपाको केन्द्रीय कमिटीले पूर्व प्रधानमन्त्री खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो।

'एमसीसीबारे अहिलेलाई हाम्रो धारणा भनेको पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको कार्यदलको प्रतिवेदन अनुसार नै अघि बढ्नुपर्छ भन्ने हो। यद्यपि यसबारेमा हाम्रो पार्टीले औपचारिक धारणा बनाउन बाँकी छ', खतिवडाले भने, 'एमसीसीसहितका अन्य राजनीतिक विषय र पार्टीको भावी रणनीति तय गर्न हामी चाँडै राष्ट्रिय कार्यकर्ता भेला या केन्द्रीय समिति बैठक बस्दैछौँ। यसबारेमा त्यहीँबाट औपचारिक धारणा तय हुनेछ।'

खतिवडाले राष्ट्रिय कार्यकर्ता भेला या केन्द्रीय कमिटी बैठक कुन पहिले डाक्नेबारे छलफल भइरहेको पनि जानकारी दिए। 

'अहिले हामी छलफलमै छौँ। यही महिनाको अन्त्यमा केन्द्रीय कमिटी बैठक राख्नेबारे पनि छलफल हुँदैछ, निर्णय भइसकेको छैन', उनले भने, 'भर्खरै पार्टी दर्ता भएकाले तलसम्म पुग्नका लागि राष्ट्रिय कार्यकर्ता भेला गर्ने विकल्पबारे पनि हामी छलफलमै छौँ।'

एमसीसीबारे सत्तारुढ गठबन्धन विभाजित भइरहेका बेला मौन रहेको समाजवादीले कार्यदल संयोजक खनाल आफूहरूसँगै रहेकाले त्यही अनुसार धारणा बनाउने भएको हो।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडा

'एमसीसीलाई संशोधन नगरी पास गर्न नहुने प्रतिवेदन हाम्रा वरिष्ठ नेता खनाल संयोजक रहेको कार्यदलले दिइसकेको छ,' खतिवडाले भने, 'कार्यदलले त्यसबेला नेकपालाई यो सम्झौतालाई सुधार नगरी लागु गर्न सकिँदैन भनिसकेकाले हामीले तत्काललाई त्यही कुरालाई ग्रहण गर्दै अघि बढ्छौँ। थप निर्णय केन्द्रीय कमिटी या राष्ट्रिय भेलाले तय गर्नेछ।'

सुधार र परिमार्जन जरुरी 

एमसीसीबारेमा नेकपा एकीकृत समाजवादी पार्टीका सांसद विरोध खतिवडाले पनि खनाल कार्यदलकै प्रतिवेदन वरिपरि रहेर निष्कर्षमा जानु पर्ने बताएका छन्। 

'एमसीसीबारेमा हाम्रो पार्टीको बैठक बसेर धारणा बनाइसकेको अवस्था छैन', खतिवडाले भने, 'यसबारेमा हामी बैठक बसेर नै धारणा बनाउँछौँ। तर अहिलेलाई गठबन्धन सरकारले सोधेका प्रश्न र अमेरिकाले दिएका जवाफको अध्ययन गरेपछि मात्रै हामी ठोस धारणा बनाउँछौँ।'

खतिवडाले गठबन्धन सरकारले सोधिएको चिज र आएका जवाफमाथि छलफल गरेपछि मात्रै ठोस धारणा तय गरिने बताए।  

'अहिले गठबन्धन सरकार छ। हामीले मात्रै यसबारेमा निर्णय गरेर हुँदैन। गठबन्धनकै साझा धारणा निर्माण हुनु जरूरी हुन्छ', उनले भने, 'हामी गठबन्धनको बैठक पनि बस्छौँ। अहिलेलाई निष्कर्षमा भन्दा हामी एमसीसीबारे अझै स्पष्ट हुन चाहन्छौँ।'

खतिवडाले एमसीसी पास गर्ने सवालमा एकीकृत समाजवादीले हतार गरिनहाल्ने बताए। 'हामी अहिले पनि खनाल कार्यदलले दिएको प्रतिवेदन वरिपरि रहेर नै अघि बढ्नुपर्छ भन्ने पक्षमा छौँ', उनले भने, 'खनाल प्रतिवदेन र गठबन्धन सरकारले सोधेका प्रश्नको जवाफबीचको तालमेलको पनि खोजी हुनुपर्छ। अनि मात्रै निष्कर्षमा पुग्न सकिन्छ।'

खनाल नेतृत्वको कार्यदलले एमसीसी अन्तर्गत नेपाल र अमेरिकी सरकारबीच भएको अनुदान सम्झौतालाई सुधार नगरी पारित गर्न नसकिने सुझाव उतिखेरै दिएको थियो।

खनालको प्रतिवेदनले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि अफ्ठेरो परेको थियो। ओलीले अमेरिकाले नेपालको विकासका लागि दिने अनुदान ढुक्कसाथ प्रयोग गर्दा हुने बताएका थिए। 

तर ओलीले एमसीसी अगाडि बढाउनै नपाई सरकारबाट बिदा भए। त्यसपछि एमाले नै विभाजित भएर दुई पार्टी बनिसकेका छन्। 

यस्तोमा माधव नेपाल नेतृत्वको समाजवादी अहिले सत्ताधारी भएको छ भने ओली नेतृत्वको एमाले प्रतिपक्षमा छ। 

सत्तारुढमा पनि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पासका लागि सदनमा टेबुल गर्ने तयारी गरेका छन्। 

तर नेपाल नेतृत्वको एकीकृत समाजवादी जस्तै नेकपा माओवादी केन्द्र अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा देखिएको छैन। 

एकीकृत समाजवादीका सांसद विरोध खतिवडा

यसअघि सरकारले सोधेका प्रश्नको अमेरिकाले चित्त बुझ्दो जवाफ नपठाएको भन्दै माओवादी एमसीसी पास नगर्ने पक्षमा देखिएको छ।

अमेरिकाले जवाफ अध्ययन गर्दा एमसीसी संशोधन नहुने अडानका कारण नेपालको संसदमा प्रस्तुत गर्ने सम्भावना नरहेको माओवादीका सचेतक देव गुरुङले बताए।

‘सरकारले सोधेको प्रश्नको जवाफ गोलमोटोल दिइएको छ, त्यसलाई संशोधन गर्न पनि नसकिने भनेपछि अहिलेकै अवस्थामा एमसीसी स्वीकार गर्न सकिँदैन,’ गुरुङले भने, ‘अब त्यसलाई संसदमा पेश गर्ने 'च्याप्टर क्लोज' भयो।’

अर्कातिर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि एमसीसीलाई लिएर अनिर्णित छ। उनी बिहीबारको सत्ता गठबन्धनको बैठकमै भाग लिन गएनन्। 

सत्तारुढमध्ये कांग्रेस मात्रै अहिलेकै अवस्थामा एमसीसी पास गर्ने पक्षमा छ। यस्तो अवस्थामा नेपाल नेतृत्वको एकीकृत समाजवादी पनि तत्कालै एमसीसी पास गर्ने मुडमा नदेखिएको हो। 

यसैबीच बिहीबार बालकोटमा एमसीसी उपाध्यक्ष सुमारसँग भएको भेटवार्तामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिले सत्तारुढ दलहरु प्रष्ट हुनुपर्ने बताएका छन्। 

एमसीसी उपाध्यक्ष फातिमा सुमारसँग बालकोटमा भएको भेटका क्रममा आफूहरु प्रतिपक्षमा रहेकाले पहिले सत्तारुढ दलहरुले धारणा प्रष्ट पार्नु पर्ने बताएका हुन्। 

'एमसीसीबारे हामीले हतारिएर पोजिसन बनाउँदैनौँ। पहिले सरकारमा रहेकाहरुले पोजिसन क्लियर गर्नुपर्छ', भेटका क्रममा ओलीको भनाइ उद्धृत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले नेपालखबरसँग भने, 'हिजो हामी सरकार हुँदा एमसीसी पास गर्न प्रयास गरेको कुरा तपाईंहरुलाई थाहै छ। अहिले एमसीसी जसका कारण रोकिएको हो, पहिले उनीहरुले पोजिसन क्लियर गर्नुपर्छ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .