१३ वर्षको छँदा सुवास पंगेनी एकदिन बा–आमासँग वालिङ महोत्सव घुम्न गएका थिए। अरुले फोटो खिचिरहेको देख्दा सुवासकी आमालाई पारिवारिक तस्बिर खिचाउने चाहना भयो।
तर, पैसा त बासँग हुन्थ्यो।
‘म छोराहरूसँग फोटो खिच्छु, सय रुपैयाँ दिनुस् न,’ सुवासकी आमाले बासँग आग्रह गरिन्।
बा उल्टै आमासँग झर्किए, ‘किन खिच्नुपर्यो! छैन मसँग पैसा।’
बा व्यवसायी थिए। तर, व्यवसायमा आमाको मेहेनत पनि बाको भन्दा कम थिएन। मसिनो रहरको लागि सय रुपैयाँ माग्दा पनि टर्रो जवाफ पाएपछि आमा भक्कानिइन्।
‘म चाहिँ यति धेरै मेहेनत गर्छु। तर मेरो हातमा एक सुको पैसा कहिल्यै हुन्न। माग्दा पनि यो गाली सहनुपर्छ,’ उनले सुँक्सुकाउँदै भनिन्।
पछि आमाले साथीहरूसँग सापटी मागेर फोटो त खिचिन्। तर, सुवासले भने त्यो बिर्सिन सकेनन्।
काठमाडौँमा स्नातक सकेर गाउँ फर्किएका सुवास आमाहरूलाई देख्थे। बिहानदेखि बेलुकीसम्म घरका कामले उनीहरूको हात खाली हुन्न थियो।
‘तर, तिनै आमाहरूको थैलीचाहिँ किन सधैँ रित्तो हुन्छ?’ उनले सोचे।
यो कुरा उनले फुपूका छोरा दाइ दिनकर नेपाललाई सुनाए।
‘न चाहेको कुरा लगाउन पाउँछन्, न खान। महिलाहरू आत्मनिर्भर नबनेसम्म यो भइरहन्छ,’ सुवासले भने।
दिनकर नेपाल भारतीय सेनाको जागिर छाडेर गाउँ फर्किएका। सुवास पनि केही गर्छु भन्ने हुटहुटीका साथ गाउँ फर्किएका।
‘त्यसोभए आमाहरूको जीवनस्तर उकास्ने केही काम गरौँ,’ दाजुभाइले सल्लाह गरे।
उनीहरू गाउँगाउँ डुले। त्यहाँको जीवनस्तर अध्ययन गरे। सम्भावित व्यवसायबारे सोचे। गाउँमा महिलाहरूले हातले ऊनीका कपडाहरू बनाइरहेको देखे।
‘उहाँहरूले ऊनीबाट स्वेटर, गलबन्दी बनाउनुहुन्थ्यो। सीप थियो तर त्यसबाट राम्रो आम्दानी थिएन,’ सुवास सुनाउँछन्।
‘महिलाहरूको त्यही सीपलाई व्यवसायमा प्रयोग गर्न पाए!’ दुई भाइले सोचे।
‘अब हामी ऊनीबाट बन्ने कपडाको उत्पादन सुरु गरौं। गाउँमा महिलाहरूलाई तालिम दिएर उनीहरूबाटै उत्पादन गराउने सकिने रहेछ,’ सुवासले दिनकरलाई भने।
सहरमा ऊनीका कपडाले राम्रो बजार पाएको देखेका थिए सुवासले।
सुवासको यो आइडिया मनपर्यो दिनकरलाई। अन्ततः उनीहरूले गाउँमा मेसिन लगेर महिलाहरूलाई ऊनीका कपडा बुन्ने तालिम दिने योजना बनाए।
***
तीन वर्षअघि दिनकर र सुवास कटन र सात वटा मेसिन लिएर गाउँ गए। सिलाइ बुनाइ सिकाउने मास्टर पनि थिए साथमा। निःशुल्क ऊनीका कपडा बुन्ने तालिमको आह्वान गाउँभरिका महिलालाई गरे।
‘गाउँमा यस्तो उद्योग खोल्दै छौं, घरमा बसीबसी जागिर खान कसलाई मन लागेको छ भनेर सोध्यौं। त्यसपछि उहाँहरूलाई तालिममा बोलायौं,’ सुवास सुनाउँछन्।
वालिङको चिसापानीमा नातेदारको भवन थियो र उद्योग सञ्चालनका लागि तीन महिना निःशुल्क भवन दिन राजी भए। तालिमका लागि सुरुमा ६० जना आए।
तर, दिन बित्दै जाँदा महिलाहरु घट्दै गए। अन्तिममा आठ जना रहे।
घट्दै जानुको कारण परिवार थियो।
‘कतिपयको चाहिँ श्रीमानले गाली गरेछन्। श्रीमानले कमाउँदा कमाउँदै श्रीमतीले किन कमाउनुपर्यो भन्ने कुराले कति महिलाहरू आउन छाड्नुभयो,’ सुवास भन्छन्।
त्यतिबेला कतिपयले सुवास र दिनकरको कामलाई पागलपनको संज्ञा पनि दिए।
‘यो हुने खेलो हो त? चिसापानीमा गएर एउटा पागलले फ्याक्ट्री खोलेको छ रे। बजारमा नखोलेर कहाँ खोलेको?’ उनकै अगाडि एकजना चालकले भनिदिए।
सुवासले सुने नसुनेझैं गरे।
‘समाजले जे सोचेको थियो, उहाँले त्यही भन्नुभएको थियो। मैले केही भनिनँ उहाँलाई,’ सुवास सुनाउँछन्।
***
सुवास अहिले २५ वर्षका भए। ३ वर्षमा उनको व्यवसायले लय लिइसकेको छ। हिमाली आमाको कोसेली अहिले स्वदेशी र विदेशीमाझ परिचित हुँदैछ। उनी सानो छँदा बाले हिमाली नामबाट सप्लायर्स सुरु गरेका थिए। त्यसकारण हिमाली ब्रान्ड उनी छाड्न चाहँदैनथे।
सुवासले सोचे, ‘आमाहरूको कम्पनी भएपछि त हिमाली आमाको कोसेली नै राम्रो सुनिन्छ।’
अहिले आमाहरूले बुनेको भनेपछि कोसेलीका रुपमा पनि स्वेटर, गलबन्दी किनेर लैजानेहरू छन्। उनीहरुले उनीको टोपी, पस्मिनाको स्वेटर, आउटर लगायतका उत्पादन गरिरहेका छन्।
हिमालीको कपडा खरिद गर्दा त्यो कसले बुनेको र बुन्नेलाई कति पैसा जान्छ भन्ने कुरा खुलाउने सोचमा छन् सुवास।
‘सबैलाई आमा प्यारो लाग्छिन्। हिमाली त्यसकारण सबैको प्यारो हुँदै गएको छ,’ सुवास सुनाउँछन्।
बजारमा लगेर उत्पादित सामान बेच्दै गर्दा कतिपयले आश्चर्य व्यक्त गरे, ‘खोलो उल्टो बग्यो।’
काठमाडौंमा उत्पादन गरेको सामान गाउँमा पुग्थ्यो। अहिले गाउँमा उत्पादित कपडा काठमाडौं आउँछ भन्दा कतिपय व्यापारीसमेत दंग परे।
अहिले उक्त कम्पनीमा करिब १० जना महिलाहरूले रोजगार पाएका छन्। रोजगार पाउनेहरूको जीवनस्तर पनि उकासिने चरणमा छ।
‘हिमाली आमाको कोसेली’मा कार्यरत तिला रेग्मीका दुई सन्तान छन्। उनका श्रीमान् विदेश जाने भनेर काठमाडौंमै अल्झिए। काठमाडौंमा आफैं पालिन धौ–धौ भएको अवस्थामा घरमा एक पैसा पनि पठाउन सकिरहेका थिएनन्।
‘बच्चाहरूलाई स्कुल पठाउन पनि समस्या थियो। उहाँको आम्दानी शून्य थियो,’ सुवास सुनाउँछन्।
अहिले तिला मासिक २० हजारसम्म कमाउँछिन्। उनको घर व्यवहार धानिने बाटो नै हिमाली आमाको कोसेली भएको छ।
एकजना महिला गर्भवती भएको महिनौँसम्म नियमित रुपमा कम्पनीमा हिँडेर आइन्।
‘उहाँ बिहानदेखि आउनुहुन्थ्यो, टिफिनमा खाना बोकेर उहाँको श्रीमान् ल्याइदिनुहुन्थ्यो,’ सुवास सुनाउँछन्।
त्यहाँ कार्यरत महिलाहरूको आर्थिक आयको मुख्य स्रोत नै हिमाली हो। मासिक तलब बुझ्ने बेलामा उनीहरु भन्छन्, ‘सुवास भाइ, धन्यवाद।’
सुवासको मन प्रफुल्ल हुन्छ।
अहिले कम्पनीसँग गाउँका अन्य महिला पनि आकर्षित भएका छन्। उनीहरू भन्छन्, ‘सुवास भाइ हामी पनि सिक्न र काम गर्न चाहन्छौँ।’
सुवास कम्पनीलाई विस्तार गर्ने सोचमा समेत छन् अब।
‘पहिले त वालिङकै महिलाहरूलाई आत्मनिर्भर बनाउँछौं, त्यसपछि अन्य ठाउँमा पनि विस्तार गर्नेछौँ,’ सुवास भन्छन्।
***
सुरुमा उत्पादित सामान बेच्न कम्ता कठिन भएन सुवासलाई। उनी आफ्नो म्यानेजरसहित पहिलो उत्पादन झोलामा बोकेर वालिङ र पोखरा बजार घुमे।
‘कति जनाले वास्ता गरेनन्। कति जनाले छ्या भनेर हुर्याइदिए पनि,’ सुवास सुनाउँछन्।
एकजना महिलाले ‘यस्तो स्वीटर’ भनेर रिसाउँदै फालिदिइन्। त्यतिबेला भने सुवासलाई साह्रै चित्त दुख्यो। उनले ती महिलालाई मनभरिको जवाफ दिए, ‘गाउँघरमा काम गरेको महिलाले बुनेको कपडा हो। आज हजुरले फाल्नुभयो, मलाई दुःख लाग्यो। बुन्दै गरेको महिला आउँथे भने हजुरको अगाडि रुन्थे। छोराछोरी छाडेर, गर्भवती महिलाले आएर बुनेको कपडा हो। यसरी नफालिदिनुस्।’
‘तर पछि विस्तारै सामानको महत्व बुझ्न थाले। विस्तारै माग पनि बढ्न थाल्यो,’ सुवास भन्छन्।
अहिले कम्पनी उत्पादन पोखरा र वालिङ बजारमात्र हैन, देशका अधिकांश बजारमा पुग्छन्।
कम्पनी सुरु गर्ने बेला दिनकर र सुवास दुवैसँग पर्याप्त पैसा थिएन। सुवासले सहकारीबाट १० लाख ऋण लिएर सुरु गरेको थिए।
बेलाबेला सुवासकी आमा आत्तिँदै भन्छिन्, ‘बाबु जागिर खाएको भए महिनामा ३० हजार जति त कमाउँथिस्। महिनाको चार लाख तलबमै लाग्छ। कहाँबाट ल्याउँछस्? तँलाई यसले डुबाउँछ कि।’
तर, सुवाससँग आत्मविश्वास छ। सफल हुने हुटहुटी छ। उनी आमालाई पनि विश्वास दिलाउँछन्।
अहिले कम्पनीमा २४ जना स्टाफ कार्यरत छन्।
आफू मात्रै हैन, आमाहरुलाई आत्मनिर्भर बनाउन पाएकोमा सुवास खुसी छन्। उनलाई लाग्छ, आमाहरू आत्मनिर्भर नभई छोरीहरू स्वतन्त्र हुन सक्दैनन्।
‘ममी आफ्नै खुट्टामा उभिनुभएको थियो, म पनि उभिनुपर्छ भन्ने कुरा छोरीले सिक्छन्,’ सुवासको बुझाइ छ।
र, उनलाई यो पनि विश्वास छ– आमाहरूकै मेहनतले उनीहरूको उत्पादनले भोलि विश्व बजारमा ठाउँ पाउनेछ।
प्रतिक्रिया