ad ad

राजनीति


सोनलले गरे लोसपामा सनाखत, जनप्रतिनिधि फकाउने अन्तिम कसरतमा जसपा र लोसपा

सोनलले गरे लोसपामा सनाखत, जनप्रतिनिधि फकाउने अन्तिम कसरतमा जसपा र लोसपा

शैलेन्द्र महतो
भदौ २१, २०७८ सोमबार १६:३४, जनकपुरधाम

प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) जनपतिनिधि जाेगाउन र फकाउन अन्तिम कसरतमा लागेका छन्।

दलबदल अन्तर्गत जसपाबाट नवगठित लोसपा र नेकपा एमालेबाट नवगठित नेकपा (एकीकृत समाजवादी) रोज्न जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले भोलि भदौ २२ गतेसम्म अन्तिम समयसिमा तोकेको छ।  

जसपा र लोसपाको आधार क्षेत्र रहेको प्रदेश २ मा दुवै दलका अध्यक्षसहित केन्द्रीय नेता झण्डै एक सातादेखि प्रदेश सांसद र जनप्रतिनिधि फकाउन व्यस्त छन्। 

सांसद तान्न र जोगाउन जसपा अध्यक्ष उपेन्द्र यादव जनकपुरको वेलकम होटेलमा र लोसपा अध्यक्ष महन्थ ठाकुर छेउकै सिटीस्टर होटेलमा अड्डा जमाएर बसेका हुन्। 

अध्यक्षद्वय यादव र ठाकुर दिनहुँ आफ्ना प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायत वडासदस्यहरुसँग भेटघाटलाई निरन्तरता दिएका छन्। 

उनीहरुले सकेसम्म आफ्नो पार्टीमै रहन र आउन लोभ-प्रलोभन, साम-दाम, दण्ड-भेदको नीति अंगालेका छन्।

पूर्व समाजवादीका ३० र पूर्व राजपाका २५ गरी ५५ प्रदेश सांसद रहेको जसपाबाट हालसम्म १६ जना लोसपामा सनाखत गरिसकेका छन्। अझै सांसद तान्ने प्रयासमा लोसपा छ भने र जसपा बचाउनमा।

यद्यपी लोसपा अध्यक्ष महन्थ ठाकुर जितेन्द्र सोलनसहितका तीन सांसदलाई सो जिम्मेवारी दिएर काठमाडौं फर्केका छन्। वरिष्ठ नेता राजेन्द्र महतो फर्किने क्रममा रहेको र सरतसिंह भण्डारी भने आइतबार नै फर्केको प्रेस मञ्चका कोषाध्यक्ष विन्दकिशोर साहले बताए।

जसपाबाट जनप्रतिनिधि फकाउने र सनाखत गराउने जिम्मा सोनलसहित उपेन्द्र महतो र सुरिता साहले पाएका छन्। उनीहरु त्यस कार्यमै जुटेका छन्। 

यता जसपा अध्यक्ष उपेन्द्र यादव भने बुधबारसम्म जनकपुर छाड्ने एक सांसदले बताए। 

‘उहाँ बिहानदेखि रातिसम्म प्रदेश सांसद, पालिका प्रमुख, उपप्रमुख लगायत जनप्रतिनिधिसँग भेटघाटमा निरन्तर व्यस्त हुनुहुन्छ। सकेसम्म आफ्ना जनप्रतिनिधिलाई बचाउने अध्यक्षजीको प्रयास हो’ ती सांसदले भने।

सोनलले गरे सनाखत 
यसैबीच पूर्वमन्त्री समेत रहेको प्रदेश सांसद जितेन्द्र सोनलले लोसपामा सनाखत गरेका छन्। सोमबार निर्वाचन कार्यालय जनकपुर पुगेर उनले सनाखत गरेका हुन्।

यसअघि जसपाका १५ सांसदले लोसपामा सनाखत गरिसकेका छन्।  सोनलसँगै सनाखत गर्ने सांसदको संख्या १६ पुगेको छ। 

सोनल अझै केही प्रदेश सांसद फकाएर सँगै सनाखत गर्ने प्रयासमा थिए। तर अन्य सांसद आउने छाँटकाट नदेखेपछि सोनल एक्लै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका हुन्। 

अब जनता समाजवादी पार्टीसँग ५५ मध्ये सभामुख सरोज यादवसहित ३९ सांसद रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .