अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विद्युतीय सवारी साधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिएका छन्।
बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको जिकिर गरे। अर्थमन्त्रीले करका दरमा चलखेल गरेको आरोप लगाइरहेका बेला अर्थमन्त्री वाग्लेले प्रमाणित गर्न चुनौती दिएका हुन्।
‘कर बढ्दै छ भनेर सूचना दिएको छ भन्ने ननसेन्स कुरा हो। त्यसको प्रमाण प्रस्तुत गरियोस्,’ उनले भने, ‘दशौँ करोड घाटा हुने गरी कसैले हतारहतार गाडी पास गर्यो भने त्यसको प्रमाण लिएर आउनुस्। कुनै कागजी प्रमाण होला, कुनै सञ्चार वा पत्राचारका विवरण होलान्, ती सबै लिएर आउनुस्। म त कठघरामा उभिन तयार छु।’
आफूले कतै पनि बेइमानी नगरेको उनको भनाइ थियो। करका दरमा बेइमानी गरेको भेटिएमा आफूले राजनीतिसँगै सार्वजनिक जीवनै त्याग्ने उनले बताए।
‘अरब-खर्बको कुरा जथाभावी गरिएको छ। दुई अर्ब होइन, स्वर्णिम वाग्लेले दुई रुपैयाँ बराबरको पनि कुनै बदमासी गरेको छ भने म अर्थमन्त्री मात्र होइन, सांसद मात्र होइन, सार्वजनिक जीवन नै त्याग गर्न तयार छु,’ वाग्लेले भने, ‘यो मेरो चुनौती हो।’
उनले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिले समान स्तरको नैतिकता र जवाफदेहिता कायम राख्नुपर्ने आवश्यकता पनि औँल्याए। बजेट र कर नीतिसम्बन्धी निर्णयहरू आर्थिक सिद्धान्त, प्रगतिशील कर प्रणाली तथा दीर्घकालीन आर्थिक हितलाई ध्यानमा राखेर गरिएको उनको भनाइ थियो।
Shares

प्रतिक्रिया