ad ad

राजनीति


तेस्रो पुस्ताका तीन नेताबीच महामन्त्रीमा प्रतिस्पर्धा

तेस्रो पुस्ताका तीन नेताबीच महामन्त्रीमा प्रतिस्पर्धा

केशव सावद
भदौ २०, २०७८ आइतबार १८:३३, काठमाडौँ

नेपाली कांग्रेसको तेस्रो पुस्ताका तीन युवा नेताबीच आसन्न १४ औं महाधिवेशनमा प्रतिस्पर्धा हुने सम्भावना देखिएकाे छ। तीन समूहमा विभक्त कांग्रेसका तीन युवा नेताले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने इच्छा गरेपछि उनीहरूबीच महाधिवेशनमा चुनावी प्रतिस्पर्धा हुने सम्भावना बढेको हो। 

कांग्रेसमा तेस्रो पुस्ताको प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत रहेका पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र गगन थापाले महामन्त्री बन्ने आकांक्षा राखेका हुन्। 

यीमध्ये पूर्वमन्त्रीसमेत रहेका नेता थापाले त औपचारिक रूपमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। थापाले सधैं निर्वाचन लड्ने गरेको क्षेत्रमा पर्ने काठमाडौं–३० मा यही भदौ १४ गते आयोजित क्रियाशील सदस्यहरूको भेलामा उनले आफू महामन्त्रीमा उठ्ने घोषणा गरेका हुन्। 

त्यसको ३ दिनपछि उनी वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको समूहले पार्टी केन्द्रीय कार्यालय (सानेपा) मा आयोजना गरेको पत्रकार सम्मेलनमा देखिए। योसँगै नेता थापाले सिटौला समूह छाडेको चर्चा चलिरहेको छ। 

नेताद्वय शर्मा र पौडेलले उम्मेदवारी दिने औपचारिक घोषणा गरिनसके पनि तयारी भने गरिरहेका छन्। संस्थापनपक्षीय पार्टी प्रवक्ता शर्माले जननायक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। 

‘उम्मेदवारी घोषणा कहिले? शुभचिन्तक, मित्रहरू, पार्टी पंक्ति र प्रेसको प्रश्न र जिज्ञासाप्रति आभारी छु’, उनले गत शुक्रबार बेलुकी ट्विट गरेका छन्, ‘प्रवक्ताबाट रिटायर्ड हुन आएको होइन भन्दै आएको थिएँ। वडा अधिवेशन सुरु भएको आजको दिन सबै उम्मेदवारलाई शुभकामना! चाँडै नै म मैदानमा हुनेछु, शुभेच्छा र साथ चाहन्छु।’

यस्तै कांग्रेसको तेस्रो धारका रूपमा चिनिने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको समूहबाट नेता प्रदीप पौडेलले महामन्त्रीको आकांक्षा राखेका छन्। उनले ७७ वटै जिल्लाको क्रियाशील सदस्यको सूची पार्टीको वेबसाइटमा सार्वजनिक भएलगत्तै आधिकारिक रूपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। 

‘क्रियाशील सदस्यता टुङ्ग्याएर उम्मेदवारी घोषणा गर्दै छु,’ केन्द्रीय सदस्य पौडेलले नेपालखबरसँग भने, ‘क्रियाशील सदस्यता छानबिनका लागि पार्टीले दिएको जिम्मेवारी पहिले पूरा होस् भनेर बसेको छु।’

उनी क्रियाशील सदस्यता विवाद समाधानका लागि केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गठित छानबिन समितिका सदस्य हुन्। समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर प्रतिवेदन पार्टीलाई बुझाइसकेको छ। 

तर छानबिन समितिले अहिलेसम्म कार्य सम्पन्न गरेका जिल्ला भन्दै केन्द्रीय निर्वाचन समितिले ५६ जिल्लाको क्रियाशील सदस्यताको नामावली मात्रै सार्वजनिक गरेको छ। 

अझै २१ जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न बाँकी छ। ती जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक भएपछि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने नेता पौडेलको भनाइ छ।  
कांग्रेसले आसन्न महाधिवेशनबाट केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनयन गर्ने व्यवस्था विधानमा गरेको छ। कांग्रेसका दुई महामन्त्री पदका लागि संस्थापन समूहबाट प्रवक्ता शर्मा, पौडेल समूहबाट थापा र सिटौला समूहबाट पौडेल उम्मेदवार बन्ने लगभग निश्चित जस्तै देखिएको छ।  

तर गगन थापाले आफू चुनाव लड्ने समूह भने खुलाइसकेका छैनन्। उनीनिकट स्रोतका अनुसार नेता थापा सभापति शेरबहादुर देउवाइतर समूहलाई एक ठाउँमा ल्याउन प्रयासरत छन्। इतर समूहबाट थापासँगै नेताहरू डा. मीनेन्द्र रिजाल, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे आकांक्षी देखिएका छन्। 

थापाले १३ औं महाधिवेशनबाट तेस्रो धारको नेतृत्व गरिरहेका पूर्वमहामन्त्री सिटौलालाई पनि देउवाइतर समूहमा ल्याउने भूमिका निर्वाह गरिरहेको स्रोतको भनाइ छ। इतर समूह देउवालाई रोक्न सभापतिको साझा उम्मेदवार खोजिरहेको छ। 

तर संस्थापनइतर समूहबाट सभापति पदको साझा उम्मेदवार तय हुन सकेको छैन। इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी हुन्।  

इतर समूहले भदौ ७ गते बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा सभापति पदका आकांक्षीहरूको बैठक राखेर वडा अधिवेशन सुरु हुनु पहिले नै आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्ने समझदारी जुटाएको थियो। 

तर भदौ १५ र १६ गते बोहराटारमा बसेको बैठक पनि साझा उम्मेदवार टुंग्याउन सफल नभएपछि उसले भदौ १७ गते संयुक्त पत्रकार सम्मेलन गरी आफूहरू एकताबद्ध रहेको सन्देश दिने प्रयास गरेको थियो। संस्थापन इतर नेताहरूका तर्फबाट साझा आवाज बोल्दै वरिष्ठ नेता पौडेलले सहमतिमै अघि बढ्ने बताएका थिए।

‘हाम्रोतर्फबाट सभापतिको उम्मेदवार एक जना मात्रै हुनेछ’, उनले भनेका थिए, ‘यो कुरामा हाम्रा देशभरका साथीहरूलाई पनि विश्वास दिलाउन चाहन्छौं।’ अहिले संस्थापन इतर समूह पार्टीलाई एक बनाएर अघि बढाउने योजनामा रहेको पनि पौडेलले बताए।

‘हामी कांग्रेसलाई एकतावद्ध बनाउन लागेका छौँ। एकतावद्ध कांग्रेसमा हाम्रो अस्तित्व पनि जोगाउनु छ,’ उनले भने, ‘हामी हाम्रो एकतालाई १४ औँ महाधिवेशनका लागि जोगाइराख्छौँ। सबैको सहमतिमै एकजना सभापतिका उम्मेदवार बनाउँछौं।’

तर त्यसको ३ दिन बितिसक्दा पनि संस्थापनइतर समूहले साझा उम्मेदवार बनाउनेबारे छलफलसमेत गरेको छैन। यस विषयमा अहिलेसम्म सामूहिक छलफल नभएको एक आकांक्षीका स्वकीय सचिवले पुष्टि गरे। 

कांग्रेसको संस्थापन समूहबाट अहिलेसम्म तीन जनाले सभापति पदको आकांक्षा राखेका छन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा दोहोरिन चाहेका छन् भने उपसभापति विमलेन्द्र निधि र संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले औपचारिक रूपमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

संस्थापन समूहबाट प्रवक्ता शर्मासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँण, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका नेता ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्यद्वय एनपी साउद र रमेश लेखकले महामन्त्री पदको आकांक्षा राखेका छन्।  

कांग्रेसको ‘तेस्रो धार’बाट पूर्वमहामन्त्री सिटौलाले उम्मेदवार बन्ने इच्छा गरेका छन्। तर उनी पछिल्लो समय सभापति पदको उम्मेदवारीबारे खुलेर बोलिरहेका छैनन्।   

नेता सिटौलाले २०७६ फागुनमा गृहजिल्ला झापा पुगेर पहिलोपटक महाधिवेशनमा पनि अलग समूह बनाउने घोषणा गरेका थिए। १३ औं महाधिवेशनमा पहिलो चरणबाटै सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनले देउवालाई सघाएका थिए।

सिटौलाकै सहयोगका कारण देउवाले प्रतिद्वन्द्वी पौडेललाई हराएका थिए। तर १४ औं महाधिवेशनको चहलपहल बढेसँगै यसपटक देउवालाई सघाउनेबारे सोच्न पनि नसकिने प्रतिक्रिया दिइसकेका सिटौलाले महाधिवेशनका दिन के गर्छन्, सर्वत्र चासो छ।

उनले १४ औं महाधिवेशनलाई नै लक्ष्य गरेर २०७६ फागुन अगाडि नै सम्पर्क कार्यालय खोलेका थिए। काठमाडौंको महाराजगन्जस्थित रिङ रोडको मुख्य सडकबाट नजिकै रहेको सम्पर्क कार्यालयमा नेता सिटौलाले नेता–कार्यकर्ताहरूसँग नियमित भेटघाटसमेत सुरु गरेका  थिए। 

तर पछिल्लो समय उनले सम्पर्क कार्यालय गौशालामा सारेका छन्। जहाँ नेता सिटौलाले नेता–कार्यकर्ताहरूसँगको भेटघाटलाई निरन्तरता दिइरहेका छन्। 

आसन्न महाधिवेशनमा उम्मेदवारी दिनकै लागि सम्पर्क कार्यालय स्थापना गरी गतिविधि अघि बढाइएको उनको निजी सचिवालयले जनाएको छ।       

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .