ad ad

राजनीति


बैतडी डोजरकाण्डबारे कांग्रेसले भन्योः अक्षम्य अपराध, दाेषीमाथि कारबाही गर

बैतडी डोजरकाण्डबारे कांग्रेसले भन्योः अक्षम्य अपराध, दाेषीमाथि कारबाही गर

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ११:३६,

नेपाली कांग्रेसले सोमबार बैतडी जिल्लाको दशरथचन्द नगरपालिकामा ‘एकपक्षीय’ रुपमा सडक खन्ने क्रममा एक्स्काभेटरबाट स्थानीयलाई घाइते बनाइएको भन्दै आपत्ति जनाएको छ। स्थानीय नागरिकलाई विश्वासमा नलिई एक्स्काभेटर प्रयोग गरी नगरपालिकाले सडक खन्नथालेपछि विरोधमा उत्रिएका महिलामाथि एक्स्काभेटर चलाइएको भन्दै कांग्रेसले मंगलबार आपत्ति जनाएको हो।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘विकासका कुनै पनि कार्यबाट सम्बन्धित क्षेत्रका नागरिक लाभान्वित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ तर सम्बन्धित क्षेत्रका नागरिकलाई विश्वासमा नलिने र एक्स्काभेटर प्रयोग गरी सडक निर्माण गर्ने कार्य अघि बढाउँदा विरोधमा उत्रिएका नागरिकमाथि डोजर चलाइएको घटना गम्भीर र अक्षम्य छ।’

घटनाको स्थलगत अध्ययन गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधिका रुपमा बहादुर सिंह थापालाई बैतडी पठाएको पनि जनाएको छ। उनी कञ्चनपुर जिललाका पूर्वसभापति तथा संविधानसभाका सदस्य रहिसकेका नेता हुन्। नेपाली कांग्रेसले घटनाको गहिरो छानबिन गर्न माग गरेको छ।

यसैबीच, विरोधमा उत्रिएका स्थानीयमाथि एक्स्काभेटर चलाउने दशरथचन्द नगरपालिका २ बचकैया बस्ने २७ वर्षीय एक्स्काभेटर चालक किशोर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसबारे थप अनुसन्धान भइरहेको बैतडीका प्रहरी निरीक्षक किसन चन्दले बताए।

सडक खन्ने क्रममा चालक बोहराको जबर्जस्तीले सोही नगरपालिका ९ अयारखाली बस्ने ३५ वर्षीया गौरी जोशी गम्भीर घाइते भएकी छिन्। उनलाई थप उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .