ad ad

राजनीति


महाधिवेशनतर्फ कांग्रेस : ४० जिल्लामा एकैदिन सुरु भयो वडा अधिवेशन

५६ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको थियो
महाधिवेशनतर्फ कांग्रेस : ४० जिल्लामा एकैदिन सुरु भयो वडा अधिवेशन

केशव सावद
भदौ १८, २०७८ शुक्रबार १९:१९, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले देशका ४० जिल्लाहरुमा शुक्रबार वडा अधिवेशन सुरु गरेको छ। क्रियाशील सदस्यता सार्वजनिक भएका ५६ मध्ये ४० वडा अधिवेशन सुरु भएको हो। 

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेका सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको थियो। तर शुक्रबार ४० जिल्लामा मात्रै वडा अधिवेशन सुरु भएको हो।  
निर्वाचन अधिकृत खटाएकामध्ये ४० जिल्लामा वडा अधिवेशन सुरु भएको निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए। 

उनले पार्टीको वेबसाइटमा क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएकामध्ये ललितपुर, नुवाकोट, धादिङ, चितवन, बागलुङ, नवलपुर (बर्दघाट सुस्तापूर्व), अर्घाखाँची, पाल्पा, रोल्पा, प्युठान, बैतडी र दार्चुलामा वडा अधिवेशन सुरु नभएको बताए। 

निर्वाचन अधिकृत खटाइएका ती जिल्लामा तयारी नपुगेकाले शुक्रबार वडा अधिवेशन हुन नसकेको सदस्य सचिव श्रेष्ठले बताए। 

‘बाढी, पहिरोका कारण निर्वाचन सामग्री पुर्‍याउन सकिएन,’ उनले नेपालखबरसँग भने, ‘त्यसैले केही जिल्लामा वडा अधिवेशन सुरु गर्न नसकेका हौँ।’

उनले क्रियाशील सदस्यता विवरण सार्वजनिक भएर पनि रोकिएका जिल्लामा भदौ २२ भित्रै अधिवेशन गरिसक्ने कार्यतालिका रहेको पनि बताए।

‘सुरु नभएका जिल्लाहरु कसैले १९, कसैले २०, कसैले २१ गते अधिवेशन मिति तोकेका छन्,’ श्रेष्ठले भने, ‘बाँकी जिल्लामा ढिलोमा भदौ २२ गते वडा अधिवेशन भइसक्छ।’ 

वडा अधिवेशन सुरु भएका जिल्लाहरुमा कतिपयले शुक्रबार नै नेतृत्व चयन गरिसकेको उनले जानकारी दिए।

कतिपयले शनिबार निर्वाचन गरेर नेतृत्व छान्दैछन्। कांग्रेसले यसपाली क्रियाशील सदस्यहरुको संख्या बढाएर करिब नौ लाख पु¥याएको छ। कांग्रेसका यी क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन्। 

क्रियाशील सदस्यले आफ्नो वडाको वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्न पाउने विधानले व्यवस्था गरेको छ। 

गाउँपालिका वडा अधिवेशनले वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्यता लिएको एक वर्ष पुगेको सदस्य मात्रै गाउँपालिका÷नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने वैधानिक व्यवस्था छ।

यस्तै, सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ।

विधानअनुसार गाउँपालिका वडा अधिवेशनले तीन महिलासहित नौ जना प्रत्यक्ष निर्वाचित सदस्य, महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

गाउँपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

यस्तै १ सय ५० वा सो भन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिकाका वडा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि तीन महिलासहित नौ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ।

१ सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्। वडा सभापति स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुन्छ।

कांग्रेसको गाउँपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित  सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोटअनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ। 

नगरपालिका वडा अधिवेशनमा पनि वडाका क्रियाशील सदस्यहरुले सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ ।

कांग्रेसको क्रियाशील सदस्यता लिएको एक वर्ष पुगेको सदस्य मात्रै नगरपालिका वडा कार्यसमितिको सभापतिको उम्मेदवार बन्न पाउने कांग्रेसमा व्यवस्था छ।

यस्तै सभापतिले वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट कोषाध्यक्ष चयन गर्न पाउने व्यवस्था विधानमा गरिएको छ। 

विधानअनुसार ४ महिलासहित १२ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ८ जना सदस्य, वडाको जनसंख्याको ​बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

नगरपालिका वडा कार्यसमितिको सभापतिलाई कार्यसमितिमा एक तिहाई सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

उपमहानगरपालिका/महानगरपालिका वडा अधिवेशनले पनि गाउँपालिका÷नगरपालिका वडा अधिवेशनकै अनुपातमा सभापति, उपसभापति, सचिव, सहसचिव प्रत्यक्ष निर्वाचित गर्नुपर्छ। कोषाध्यक्ष पनि वडा कार्यसमितिका निर्वाचित सदस्यहरुमध्येबाट चयन गर्न पाउने व्यवस्था विधानमा छ।

उपमहानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ५ महिलासहित १५ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १० जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

उपमहानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

महानगरपालिका वडा अधिवेशनमा विधानअनुसार ६ महिलासहित १८ जना प्रत्यक्ष तथा महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट १२ जना सदस्य, वडाको जनसंख्याको बनोटअनुसार तोकिएबमोजिम समानुपातिक आधारमा सदस्य निर्वाचित गर्नुपर्ने हुन्छ।

महानगरपालिका वडा कार्यसमितिको सभापतिलाई पनि कार्यसमितिमा एकतिहाइ सदस्य महिला हुनुपर्ने व्यवस्था, समावेशी सिद्धान्त र अपांगता भएका वा अल्पसंख्यकको प्रतिनिधित्वलाई ध्यानमा राखेर क्रियाशील सदस्यमध्येबाट कार्यसमितिको कूल संख्याको २० प्रतिशत सदस्य मनोनित गर्ने अधिकार विधानले दिएको छ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनमा १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा अधिवेशनले क्रियाशील सदस्यमध्येबाट प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि ३ महिलासहित ९ जना क्षेत्रीय प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान कांग्रेसको छ।

१ सय ५० वा त्योभन्दा बढी क्रियाशील सदस्य भएको वडामा बढीमा ७५ को सीमाभित्र रही प्रति सय थप क्रियाशील सदस्यमा २ महिलासहित ६ जना थप क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन्। वडा सभापति भने स्वतः प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रतिनिधि हुन्छ।

कांग्रेसको नगर, उपमहानगर र महानगरपालिका वडा कार्यसमितिले महिला, दलित, आदिवासी–जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछाडिएको क्षेत्रबाट १ सय ५० वा योभन्दा कम क्रियाशील सदस्य भएको वडामा गरिने निर्वाचनबाट निर्वाचित सदस्य संख्याको दुईतिहाइ संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा तोकिएबमोजिम क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधानमा उल्लेख छ।

नगर, उपमहानगर र महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित वडा सभापतिहरू स्वतः क्षेत्रीय प्रतिनिधि हुने व्यवस्था कांग्रेसको विधानमा छ।

यी हुन् निर्वाचन अधिकृत खटाइएका जिल्ला :
१. ताप्लेजुङ
२. पाँचथर
३. इलाम
४. संखुवासभा
५. तेह्रथुम
६. खोटाङ
७. सोलुखुम्बु
८. ओखलढुंगा
९. उदयपुर
१०. झापा
११. दोलखा
१२. रामेछाप
१३. सिन्धुली
१४. भक्तपुर
१५. गोरखा
१६. लमजुङ
१७. तनहुँ
१८. कास्की
१९. मनाङ
२०. मुस्ताङ
२१. पर्वत
२२. स्याङ्जा
२३. म्याग्दी
२४. नवलपुर (बर्दघाट सुस्तापूर्व)
२५. नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)
२६. रुपन्देही
२७. पाल्पा
२८. रुकुम (पूर्वी भाग)
२९. रोल्पा
३०. रुकुम (पश्चिम भाग)
३१. जुम्ला
३२. मुगु
३३. हुम्ला
३४. बझाङ
३५. डोटी
३६. दार्चुला
३७. बैतडी
३८. कञ्चनपुर
३९ धनकुटा
४०. भोजपुर
४१. गुल्मी
४२. प्यूठान
४३. दाङ
४४. सल्यान
४५. कालिकोट
४६. जाजरकोट
४७. दैलेख
४८. अछाम
४९. नुवाकोट
५०. धादिङ
५१. चितवन
५२. ललितपुर
५३. अर्घाखाँची
५४. सुनसरी
५५. मकवानपुर
५६. बाग्लुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .