राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपा सर्लाहीका जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको निष्कर्ष निकालेको छ । आयोगको टोलीको स्थलगत अनुसन्धानबाट उनलाई नियन्त्रणमा लिएर नौ वटा गोली हानेर हत्या गरिएको जनाएको छ ।
पौडेलको बाँच्न पाउने न्यूनतम् अधिकारको हनन् भएको आयोग ठहर छ। आयोगको स्थलगत अनुसन्धानबाट दोहोरो भीडन्त वा आत्मरक्षाको अवस्था कतैबाट पुष्टि नभएको प्रतिवेदनमा उल्लेख छ। प्रहरीले भने आत्मरक्षा र दोहोरो भीडन्तमा पौडेल मारिएको दाबी गर्दै आएको थियो। पौडेल गत असार ४ गते मारिएका थिए। प्रहरी ‘इन्काउण्टर’ मा मारिएको दाबी सुरक्षा निकायको थियो।
प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा दुई नम्वर प्रदेश प्रहरी कार्यालयको समन्वयमा परिचालित प्रहरीले पौडेललाई नियन्त्रणमा लिए पश्चात अनावश्यक रुपमा बल प्रयोग गरी गोली हानेको आयोगले जनाएको छ।
आयोगले उक्त घटनामा प्रहरीलाई निर्देशन दिने पदाधिकारी उपर कानुनी कारवाहीका लागि सरकारलाई निर्देशनसमेत दिएको छ।
आयोगले सरकारलाई सिफारिस गर्दै पहिलो नम्बर बुँदामा भनेको छ, ‘घटनामा प्रहरीलाई निर्देशन दिने तालुक निकायका पदाधिकारी तथा कर्मचारीहरु, आदेश दिने अधिकारी तथा दुरुत्साहन गर्ने व्यक्तिहरुमाथि समेत अनुसन्धान गरी कानूनको दायरामा ल्याई कानून बमोजिम कार्वाही गर्न।’ घटनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डर समेत रहेका प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह, प्रहरी हवल्दारद्वय विनोद साह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरी फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस भएको छ। अर्का प्रहरी निरीक्षकद्वय किरण प्रसाद न्यौपाने र सूर्यकुमार कार्कीलाई घटनाको मुचुल्कामा त्रुटिपूर्ण कार्य गरेको भन्दै सचेत गराउन भनिएको छ।

प्रतिक्रिया