राजनीति


समाजवादी-राजपा एकताः पेचिलो बनेकाे नेतृत्व व्यवस्थापन

समाजवादी-राजपा एकताः पेचिलो बनेकाे नेतृत्व व्यवस्थापन

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार १५:३८,

मधेश केन्द्रीत राजनीति गर्दै आएका दुई दल राष्ट्रिय जनता पार्टी(राजपा) र समाजवादी पार्टीबीचको एकतामा नेतृत्वको व्यवस्थापन पेचिलो बनेको छ। दुई दलबीच भइरहेको एकता सम्बन्धी छलफल नेतृत्वमै केन्द्रित भएको छ।

पार्टी एकताका लागि भैरहेको छलफल कस्तो संगठन संरचना बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेताहरु बताउँछन्। ‘वैचारिक, सैद्धान्तिक, संगठन र नेतृत्व व्यवस्थापनको विषयमा छलफल पनि चलेको छ। अहिले सबै विषय अनौपचारिक छलफलकै चरणमा रहेको छ’ समाजवादी पार्टीका नेता गंगा श्रेष्ठले नेपालखबरसँग भने, ‘नेतृत्व व्यवस्थापनको विषय सबैभन्दा पेचिलो देखिएको छ।’

समाजवादी पार्टीले बहुपदाधिकारी युक्त संगठन बनाएको छ। जसमा केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव रहेका छन् भने संघीय परिषदको अध्यक्षमा डा बाबुराम भट्टराई रहेका छन्।

राजपामा पनि धेरै शीर्ष नेता रहेको छन्। जसमा ६ सदस्यीय अध्यक्ष मण्डल निर्माण गरिएको छ। महन्थ ठाकुर, महेन्द्र यादव, राजेन्द्र महतो, राजकिशोर यादव, शरदसिंह भण्डारी, अनिल झा अध्यक्ष मण्डलमा रहेका छन्। तीन तीन महिनामा पालैपालो अध्यक्ष मण्डलका संयोजक परिवर्तन हुने गरेका छन्।

‘दुवै तर्फ धेरै नेताहरु रहनु भएको छ। अहिलेको अवस्था संक्रमणकालीन भएकाले पनि नयाँ बन्ने दल सबैले जिम्मेवारी पाउने गरी व्यवस्थापन हुन्छ होला’ श्रेष्ठले भने। पदाधिकारी तथा अन्य विभिन्न स्तरमा दुवैतर्फ वार्ता केन्द्रित रहेको छ।

साम्यवादी र पुँजीवादी राजनीतिक प्रणालीभन्दा पृथकको सम्मुनत संघीय समाजवाद राजनीतिक लाईन बनाउने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने विषयमा दुवै दलबीच छलफल चलेको छ। राजपाका अधिकांश नेताको राजनीतिक पृष्ठभूमी कांग्रेसको रहेको छ भने समाजवादी पार्टीका कम्युनिष्ट पृष्ठभूमीबाट आएकाहरुको बाहुल्यता रहेको छ।

राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले पनि वार्ता सकारात्मक रुपमा अघि बढी रहेको बताए। ‘एकता हुुनुपर्छ भन्ने जनताको चाहाना पनि हा। तर औपचारिक रुपमा भएको छैन। प्रस्तावहरु आदान प्रदान मात्रै भएको छ,’ यादवले भने।

राजपा र समाजवादी दलबीच पार्टी एकीकरण गर्ने र तिहार लगत्तैबाटसंविधान संशोधन र पहिचानसहितका एघार प्रदेश निर्माणका लागि संघर्ष गर्ने तयारी शुरु गरेका छन्। ‘संविधान संशोधनको विषय भनेका सबै दलहरुबीच सहमति रहेको छ। तर कहिले गर्ने भन्ने विषयमा मात्रै बाँकी हो,’ यादवले भने, ‘अहिलेको सरकारले संविधान संशोधनमा सहमति गरेकै कारण हामीले पनि समर्थन गरेका थियौँ।’

एकीकरण अघि नै सामाजवादी पार्टीले सत्ता छाड्ने र एकीकरणपछि दुवै दलले अर्को मधेश आन्दोलन गर्ने तयारीमा दुवै दल रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad