सरकारले दल फुटाउने खुकुलो व्यवस्थासहित अध्यादेश ल्याएपछि नयाँ दल दर्ताका लागि तयार माधवकुमार नेपाल पक्षको बैठक मंगलबार मध्यान्ह सिंहदरबारमा बसिरहेको थियो।
आफू पक्षीय सांसद र केन्द्रीय समिति सदस्यहरुसँग नेता नेपालले छलफल गरेर बाहिरिए लगत्तै अध्यक्ष केपी शर्मा ओली पक्षीय चार सांसद पनि बैठकस्थलमा छिरे।
अध्यादेश आएपछि आफू पक्षीय नेताहरुसँग बसेर नेपालले रणनीतिबारे छलफल गरेर बाहिरिएपछि ओली पक्षीय चार सांसदहरु त्यहाँ पुगेका थिए।
नेपाल पक्षका सांसद र नेताहरुको बैठकस्थलमा ओलीनिकट सांसदहरु गणेश पहाडी, कृष्ण प्रसाद दाहाल, नवराज सिलवाल र डा. सूर्य पाठक सिंहदरबार पुगेका हुन्।
नेपाल पक्षको बैठकमा उनीहरु ओली समूह छाडेर भने मिसिन गएका होइनन्। उनीहरु त्यहाँ माधव पक्षीय सांसदहरुसँग पार्टीलाई एक बनाउन भन्दै छलफलका लागि पुगेका हुन्।
‘नेपाल पक्षमा लाग्नु भएका केही साथीहरुसँग छलफलका लागि हामी आएका हौँ', सांसद पहाडीले भने, 'हामी यहाँ आउनुमा अन्य कुनै कारण थिएन।'
पहाडीसहितले एमाले एकताका लागि भन्दै सांसदहरु दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवा, झपट रावल र पवित्रा निरौला खरेलसहितसँग केहीबेर कुराकानी गरेका थिए।
एमाले फुटाएर माधव नेपाल पक्षले नयाँ पार्टी बनाउने तयारी गरिरहँदा सांसद तानातान सुरु भएको छ। आजै नेता नेपाललाई भेटेका माया ज्ञवाली र तुलसा थापासहितका सांसद संसदीय दलको बैठकमा पुगेका छन्।
Shares

प्रतिक्रिया