राजनीति


ओलीको अन्तरपार्टी निर्देशन : एमाले एक बनाउन माधव नेपाल बाधक (पूर्ण पाठ)

ओलीको अन्तरपार्टी निर्देशन : एमाले एक बनाउन माधव नेपाल बाधक (पूर्ण पाठ)

नेपालखबर
साउन ३२, २०७८ सोमबार १७:३८, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेको छ। हालै बसेको  केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीले अपानि जारी गरेका हुन्।

 आइतवार जारी गरिएको अपानिमा अध्यक्ष ओलीले एमालेलाई एक बनाउने प्रयासमा वरिष्ठ नेता माधवकुमार नेपाल बाधक रहेको बताएका छन्। 

उनले एमालेलाई एकतावद्ध बनाउने प्रयासमा माधव नेपाल समूह बाधक बनिरहेको अपानिमा उल्लेख गरेका छन्। माधव समूहले पार्टी हितविरुद्ध गरेका काम रोक्ने प्रयास भए पनि सफल हुन नसकिएको ओलीले स्वीकारेका छन्।

पार्टी एकता बचाउन कार्यदलले काम गरेपछि माधव नेपालले सहमतिलाई अस्वीकार गरेको पनि ओलीले अपानिमा उल्लेख गरेका छन्।

'माधव नेपाल र उनको गिरोहले देश, जनता र पार्टीको भलाइको असल मनसाय साथ गरिएका सम्पूर्ण प्रयासलाई तिरस्कार र अपमान गर्दै अश्वीकार गर्‍यो', अपानिमा भनिएको छ, 'यसरी समस्या समाधानका हाम्रा प्रयास असफल भए।'

एमालेले यस्ता दुष्प्रयासलाई तोडेर अगाडि बढ्ने पनि अपानिमा उल्लेख गरिएको छ। 'हाम्रो पार्टी यस्ता दुष्प्रयासबाट हरेस खाने छैन', ओलीले अपानिमा भनेका छन्, 'पार्टी र आन्दोलनविरुद्धको जुनसुकै षड्यन्त्र, आक्रमण र
दुष्प्रयासलाई पराजित गर्दै विजय यात्रामा दृढता र तीव्र गति साथ अघि बढ्नेछ।'

असार २८ को फैसला बेठीक

एमालेले सर्वोच्च अदालतले दोस्रो पटक गरिएको संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको परमादेशलाई एमालेले असंवैधानिक भनेको छ। 

लोकतन्त्रका आधार स्तम्भका रुपमा रहेका राज्यका तीन अंगबीचको सन्तुलन सर्वोच्चको फैसलासँगै नराम्रोसँग खल्बलिन पुगेको एमालेले जनाएको छ।

सर्वोच्चको फैसला गलत भएकाले जनतालाई प्रष्ट पार्ने पनि एमालेले अपानिमा उल्लेख गरेको छ। 

'फैसलाका विविध पक्षमा आफ्ना दृष्टिकोण, मान्यता र अवधारणा पार्टीले जनतामाझ स्पष्ट पार्ने छ', २८ पेजको अपानिमा भनिएको छ, 'पार्टीले यसबारे जनतामा बहस चलाउनेछ। सर्वोच्चको फैसलाले निम्त्याएका जटिलता हटाउन र दलीय व्यवस्था अनुसारका संरचना तलमाथि हुन नदिन एमालेले आफ्नो प्रयास निरन्तर जारी राख्नेछ।'

एमालेको अपानिमा ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा गरेका राम्रा काम र विकास निर्माणबारे पनि चर्चा गरिएको छ। 

एमालेले आफ्नो सरकारले गरेका काम समेटेर पुस्तिका निकाल्ने पनि तयारी गरेको छ। 'ओली सरकारका कामलाई जनताबीच स्थापित गर्दै निरन्तरता दिन चनाखो रहँदै खबरदारी गरिरहने छौँ', अपानिमा भनिएको छ, 'हाम्रो नेतृत्वका प्रदेश सरकार एवम् स्थानीय तहका मुख्य काम र उपलब्धिबारे पुस्तिका निकालेर जनतालाई बुझाइनेछ।'

एमालेको अन्तर पार्टी निर्देशन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad