राजनीति


'प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजे'

देउवा प्रचण्डको कुण्ठाको मोहोरा बनेको आरोप
'प्रचण्डले माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोजे'

नेपालखबर
साउन ३०, २०७८ शनिबार १२:५९, काठमाडौँ

नेकपा एमालेका नेता शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि जनयुद्धको नीति नछाडेको बताएका छन्। 

दाङको घोराहीमा निर्मित शहीद नेत्रलाल अभागीको शालिकको शनिबार अनावरणका क्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलले यस्तो बताएका हुन्। 

'पुष्पकमल दाहाल प्रचण्ड अवसरवादको अर्को नाम रहेछ। प्रचण्डलाई आधार बनाएर चुनावी गठबन्धन र पार्टी एकता गरिएको हो', उनले भने, 'तर प्रचण्डले जनयुद्धको बेलाको ढाडमा टेकेर टाउकोमा हान्ने नीति छाडेका रहेनछन्। उनले माधव नेपालको ढाडमा टेकेर टाउकोमा हान्न खोजे।'

नेता पोखरेलले प्रचण्डमा रहेको अवसरवाद र महत्वाकांक्षाले नेपालको राजनीतिक अस्थिरतामा गएको पनि बताए। 'प्रचण्डकै कारण आज देश अस्थिरतामा गएको छ', उनले भने, 'शेरबहादुर देउवाजी प्रचण्डको कुण्ठाको मोहोरा बने।'

उनले नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको पनि दाबी गरे। 'नेपालको राजनीति दुई ध्रुवमा बाँडिएको छ', उनले थपे, 'एउटा ध्रुवमा केपी ओली नेतृत्वको राष्ट्रिय स्वाभिमान र समृद्धिको बाटोतर्फ छ। जसले जनताको भर गरेर अघि बढ्छ। अर्को मोर्चा, जोसँग न सिद्धानन्त न बिचार छ न नीति छ। छ त कुण्ठा र अवसरवाद अनि प्रतिशोधको भावना।'

उनले त्यही प्रतिशोधको भावना भएको झुण्ड अहिले सरकारमा रहेको भन्दै कटाक्ष गरे। 'राष्ट्रिय स्वाधीनता र विकासको बाटो हिँड्ने की जनताले देखाएको बाटो हिँड्ने या अध्यादेश र परमाशेदको बाटो हिँड्ने?', उनले सोधै, 'मुलुकलाई अस्थिरताको बाटो लैजान हिँड्दा समस्या हुन्छ। स्वार्थहरुको योजना अनुसार मुलुक अगाडि बढ्न सक्दैन।'

उनले देउवा नेतृत्वको सरकारलाई परमादेशबाट बनेको संज्ञा दिए। 'परमादेशबाट जन्मिएको सरकार संसदीय लोकतन्त्रको अपमान हो', उनले भने, 'स्वार्थी राजनीतिका कारण हामीले अहिले नेतृत्व गुमाएका छौँ। प्राविधिक रुपमा नेतृत्व गुमे पनि जनताको मन आस्था र विश्वासमा त्यो नेतृत्व कायम गरिसकेका छौँ। हामीले जे पूर्वाधार बनाएका छौँ, त्यसालई कसैले भत्काउन सक्दैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad