राजनीति


माओवादी केन्द्रीय कमिटी बैठक : पार्टीको नाम फेर्नेदेखि राष्ट्रिय सम्मेलनसहितका एजेन्डा

माओवादी केन्द्रीय कमिटी बैठक : पार्टीको नाम फेर्नेदेखि राष्ट्रिय सम्मेलनसहितका एजेन्डा

नेपालखबर
साउन ३०, २०७८ शनिबार १२:३२, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ। बत्तीसपुतलीस्थित अनुपम पार्टी प्यालेसमा माओवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको हो। 

शुक्रबार मात्रै माओवादीको स्थायी कमिटी बैठक बसेको थियो। शनिवार बस्ने केन्द्रीय कमिटी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीतिबारे छलफल हुँदैछ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गर्ने एजेण्डा रहेको जानकारी दिएका छन्। 

शुक्रवार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले तत्काल मन्त्रिमण्डल विस्तार हुने सम्भावना नरहेको बताएका थिए। नेता श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धनको सहकार्यलाई सुदृढ बनाउने र सबै कम्युनिष्ट तथा प्रगतिशील शक्तिहरूको मोर्चा बनाउन पहल गर्नुपर्ने धारणा राखेका थिए।

प्रचण्डको राजनीतिक प्रतिवेदनमा गणतन्त्र र संविधानका लागि सबैभन्दा खतरा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट रहेको निष्कर्ष निकालिएको छ। प्रचण्डले आफ्नो प्रतिवेदनमा नेपाली कांग्रेसलाई भने निकट साथीका रुपमा व्याख्या गरेका छन्। 

उनले एमालेबाहेक अरु राजनीतिक शक्तिसँग सहकार्य गरेर जान समस्या नहुने बताएका छन्। प्रचण्डले शुक्रबारको बैठकमा वाम-लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाएर जानुपर्नेमा जोड दिएका थिए। उनले अबको केही महिना शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सफल बनाउन नेता कार्यकर्तालाई पनि निर्देशन दिए। 

आजदेखि सुरु केन्द्रीय कमिटी बैठकमा माओवादीले विधानमाथि पनि छलफल गर्ने एजेण्डा तय गरेको छ। आगामी मंसिरमा राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीको यो केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिएको छ। 

यो बैठकबाट दलको विधान र राजनीतिक प्रतिवेदन पारित गर्ने योजना प्रचण्डले बनाएका छन्। माओवादीले १ सय ८७ जना केन्द्रीय सदस्यहरुलाई मैदानमा पठाउने योजना बनाएको छ।

यो बैठकबाट पार्टी विस्तार अभियान व्यापक बनाउने योजना छ। पार्टी संगठनलाई वडासम्म विस्तार गर्ने रणनीति पनि यो बैठकले बनाउनेछ। त्यसका लागि प्रचण्डको संगठनात्मक कार्य विभाजनसहितको प्रतिवेदन पेश हुँदैछ। 

यही बैठकबाट सबै नेताहरुलाई कामको जिम्मेवारी दिएर तलसम्म पठाउन लागिएको छ। माओवादीले अब २ सय १५ सदस्यीय केन्द्रीय सदस्य बनाउने तयारी गरेको छ। 

यही बैठकका विधानमा उल्लेख भए अनुसार केन्द्रीय सदस्यको संख्या थपिन सक्नेछ। यही बैठकबाट माओवादीले आफ्नो नाम परिवर्तन गरेर नेपाल कम्युनिष्ट पार्टी या यस्तै अर्को नाम राख्ने तयारी गरेको छ। 

स्थानीय तहदेखि केन्द्रसम्मको पार्टी संरचना सक्रिय बनाउने गरी प्रचण्डले सांगठनिक र राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। 

तत्काल एमालेको माधवकुमार नेपालसहित अन्य शक्तिसँग एकता सम्भव नभएपछि माओवादीले अहिलेकै अवस्थामा संगठनलाई बलियो बनाएर जाने तयारी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad