प्रमुख प्रतिपक्षी नेकपा एमालेले भोलि (आइतवार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिनका लागि सारिएको छ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी एकताका लागि भोलिसम्मका लागि अल्टिमेटम दिएको अवस्थामा एमालेको बैठक सरेको हो।
नेपाल पक्षको बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले भोलिसम्मको अल्टिमेटम दिँदै एमाले मिलाउन ओलीले निर्णायक कदम चाल्नुपर्ने बताएको थियो।
शनिबार ललितपुरमा आफू पक्षीय जनवर्गीय संगठनको कार्यक्रमलाई पनि सम्बोधन गर्दै नेता नेपालले भोलिसम्म ओलीले निकास नदिए आफूले थप कदम चाल्ने बताएका छन्।
नेपाल पक्षको अल्टिमेटमबीच एमालेको बैठक २५ गते दिउँसो ३ बजेसम्मलाई सारिएको हो। पार्टीको विधान मस्यौदा समितिले विधान संसोधनसम्बन्धी काम नसकेकाले बैठक सारिएको बताइएको छ।
सोमबार ११ बजे स्थायी कमिटी बैठकमा विधानबारे छलफल गर्ने कार्यतालिका छ। त्यसपछि दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठकमा उक्त विधान मस्यौदा प्रस्तुत गर्ने एमालेको तयारी छ।
एमालेले पार्टीको विधान संसोधनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति बनाएको छ।
Shares

प्रतिक्रिया