राजनीति


कांग्रेसको गुनासो : राष्ट्रपतिबाट देउवा सरकारमाथि सौतेनी व्यवहार भयो

कांग्रेसको गुनासो : राष्ट्रपतिबाट देउवा सरकारमाथि सौतेनी व्यवहार भयो

नेपालखबर
साउन २०, २०७८ बुधबार १४:४२, काठमाडौँ

सत्तारुढ नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि राष्ट्रपति विद्यादेवी भण्डारीले सौतेनी व्यवहार गरेको गुनासो गरेको छ।

बुधबार बसेको राष्ट्रियसभामा बोल्दै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले यस्तो बताएका हुन्। 

उनले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई राष्ट्रपतिले हरेक कुरामा सहज सहयोग गरिदिएको बताउँदै तर देउवा प्रधानमन्त्री भएपछि अर्कै व्यवहार गर्न थालिएको आरोप  लगाए। 

'राष्ट्रपतिले देउवा सरकारसँग सौतेनी व्यवहार गरिन्, ओलीसँग एउटा व्यवहार तर हाम्रो सरकारसँग अर्कै व्यवहार गरिँदैछ', उनले भने, 'राष्ट्रपतिलाई हामीले सम्मानित गर्न खोजिएको हो तर त्यो सम्मान उहाँलाई भएन। देउवा सरकारलाई हरेक ठाउँमा अफ्ठेरो पार्ने नियतले राष्ट्रपतिले काम गरिरहनुभएको छ।'

सांसद रायमाझीले यो सरकार निर्दलीय नभएको पनि टिप्पणी गरे। 'यो सरकार निर्दलीय होइन। आफ्ना सांसदलाई नियन्त्रणमा राख्न नसक्ने अनि जनताद्वारा निर्वाचित सांसदले मत हालेर बनेको सरकारलाई निर्दलीय सरकार भन्ने', उनले भने, 'केपी शर्मा ओलीको सरकारले आफूले विश्वास लिँदा जुन प्राप्त गर्नुपर्ने मत थियो। तर आफ्नो ह्विप उलंघन गर्नेलाई कारबाही गर्न नसक्ने अनि यो सरकारलाई गाली गर्ने?'

ओलीले दुई पटक संसद विघटन गरेर बेठीक गरेको पनि रायमाझीले बताए। 'ओलीले पुसमा विघटन गरेको कुरालाई सर्वोच्चले बदर गरिदियो। तर ओलीले फेरि संसद विघटन गरिदिए', उनले भने, 'जनताले आफ्नो काम गर है भन्दा ओली सरकारले नमानेपछि सिस्नो पानी लगाएकै हो।'

रायमाझीले १६५ जना सांसदहरुले मत दिएकाले यो सरकारलाई निर्दलीय वा परमादेशको भन्न नसकिने बताए। 'यो परमादेशको सरकार होइन। तपाईंसँग बहुमत छ भने नयाँ सरकार बनाउनुस्', उनले एमाले सांसदहरुलाई भने, 'बहुमत गुमाएपछि परमादेशको सरकार भन्ने?'

सांसद रायमाझीले तर यो सरकारले तदारुकतासाथ काम गर्न नसकेको बताए। 'सरकारले जुन तदारुकतासँग गर्नुपर्थ्यो त्यो भएन', उनले भने, 'मन्त्रिपरिषद् विस्तारसहितको काम ढिलो भएको छ, यो चाँडै होस्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad