ad ad

राजनीति


गठबन्धन सरकारलाई सघाउन पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल

हरेक दलबाट दुईजना सदस्य
गठबन्धन सरकारलाई सघाउन पूर्णबहादुर खड्का नेतृत्वको कार्यदल

सागर न्यौपाने
साउन ७, २०७८ बिहिबार २१:५१,

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालन सहज बनाउन कार्यदल गठन गरिएको छ। मन्त्रालय बाँडफाँट, राजनीतिक नियुक्तिमा मापदण्ड, सरकारकाे काम कारवाहीका लागि साझा नीति तथा कार्यक्रम बनाउन कार्यदल बनाइएको नेताहरुले नेपालखबर बताए ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वमा माओवादी केन्द्रबाट २, जनता समाजवादी पार्टी (जसपा) २ र कांग्रेसबाट २ जना रहनेगरी ७ सदस्यीय कार्यदल गठन गरिएको हो।

यी हुन् सदस्य

कार्यदलमा खड्कासहित, डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव रहेका छन् । नेकपा एमाले पक्षका नेताहरुलाई पनि कार्यदलमा समेटिने बताइएको छ। बुधबार कार्यदलको बैठक समेत बसेको पुनले नेपालखबर बताए । 

‘सरकारलाई काम गर्न सहज हुनेगरी कार्यदल बनाइएको छ,’ पुनले भने,‘यसले मन्त्रालय बाँडफाँट, साझा नीति तथा कार्यक्रम र राजनीतिक नियुक्तिमा मापदण्ड बनाएर सरकारलाई राय सुझाव दिनेछ।’

यसका साथै कार्यदलले कुटनीति क्षेत्रका अन्य नियुक्ति र राजदूत नियुक्ति लगायतबारे समेत गठबन्धनका दलहरुबीचमा सहमतिका आधारमा नाम टुंगो लगाउने काम गर्नेछ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त देउवाले साउन ३ गते संसदबाट विश्वासको मत समेत पाइसकेका छन्। कांग्रेससहित पाँच दलीय गठबन्धनको सहयोगमा सरकारको नेतृत्व गरेका देउवालाई सहमतिकै आधारमा सरकार चलाउँदै उसका काम कारवाही प्रभावकारी बनाउन कार्यदल बनाइएको नेताहरुले बताएका छन्। आगामी चुनावसम्म गठबन्धन रहने भएकोले कार्यदलले त्यहीअनुसार काम गर्ने पुनले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .