ad ad

राजनीति


केन्द्रीय समितिमा ओली : वरिष्ठ नेता नेपाल, आले र श्रेष्ठमाथि खनिए, रावलप्रति सहानुभूति देखाए

केन्द्रीय समितिमा ओली : वरिष्ठ नेता नेपाल, आले र श्रेष्ठमाथि खनिए, रावलप्रति सहानुभूति देखाए

नेपालखबर
साउन ४, २०७८ सोमबार १७:३८,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार बसेको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित तीन नेतामाथि आक्रोश पोखेका छन्। आफ्नै पार्टीको सरकार ढालेको भन्दै ओलीले नेपाललाई कम्युनिष्ट आन्दोलनको गद्दारको संज्ञा दिएका छन्। 

सोमबार ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधनका क्रममा आक्रोशित मुद्रामा प्रस्तुत ओली नेता नेपालसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरु प्रेम आले र कृष्णकुमार श्रेष्ठमाथि आक्रोश पोखेका हुन्। 

उनले आइतवार संसदमा भएको घटनालाई असाधारण र चरम अनैतिक संज्ञा दिँदै भने। 'हिजो संसदमा कांग्रेस दलका नेता शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका केही सांसदहरुको कदम असाधारण, अस्वभाविक र चरम अनैतिक हो। यो कुरा हाम्रो पार्टीका लागि शर्मनाक र लज्जास्पद हो।' 

ओलीले आफ्नो बहुमत नभएको कमिटीमा आउँदिन भन्ने नेपालले अध्यक्ष पद खोजेको आरोप पनि लगाए। 'हिजो मात्रै माधव नेपालले बहुमत नभएको कमिटीमा जान्न भनेर अपराध गर्ने, सरकार ढलाउने अनि उनैलाई बहुमत दिनुपर्ने? अध्यक्ष बनाउनुपर्ने?', ओलीले बैठकमा भने। 

उनले नेता नेपाल प्रतिक्रियावादी खेमाका मान्छे भएको पनि आरोप लगाए। 'माधवकुमार नेपाल प्रतिक्रियावादी खेमाका मान्छु हन्। उनी जनपक्षीय खेमाका होइनन्, मान्न सकिन्न', ओलीले अगाडि भने।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले असार २७ मा कार्यदलले गरेको १० बुँदे सहमतिलाई आफूले स्वीकारे पनि माधव नेपालले त्यसलाई नमानेको गुनासो गरे। 'कार्यदलले जुटाएको १० बुँदे सहमतिलाई मैले स्वीकारेँ। तर माधव नेपालले स्वीकारेनन्', ओलीले अगाडि भने, 'हामीले उक्त सहमतिलाई स्थायी कमिटीबाट अनुमोदनको निर्णय गर्यौँ तर नेपालले अस्वीकार गरेर पार्टी एकताको विपक्षमा गए।'

ओलीले नेता नेपालले पार्टी एकताका लागि मानेनन् भन्दै पार्टी उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिनु गलत भएको बताए। 'माधव नेपालले मानेनन् भनेर भीम रावलले राजीनामा दिनु गलत छ', उनले अगाडि भने, 'रावलजीले राजीनामा फिर्ता लिएर आउनुपर्छ।' 

डोटीबाट निर्वाचित भएर आफ्नै क्याबिनेटमा वन मन्त्री भएका प्रेम आलेबारे उनले कडा टिप्पणी गरे। आलेलाई मन्त्री बनाए पनि राम्रो काम नगरेकाले हटाउँदा हिजो उनी कांग्रेसको पक्षमा उभिएको दाबी गरे। 'प्रेम आलेलाई मन्त्री बनाएको थिएँ। तर उनले राम्रो काम गर्न नसकेपछि मन्त्रीबाट हटाएँ', उनले भने, 'मन्त्रीबाट हटाएपछि उनी फेरि मन्त्रीको लोभमा कांग्रेसलाई समर्थन गर्न गएका हुन्।'

ओलीले तनहुँमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका एमाले सांसद कृष्णकुमार श्रेष्ठबारे पनि कडा टिप्पणी गरे। 'किसान (कृष्ण) श्रेष्ठले मन्त्री हुन जोडबल गरेका थिए उनी अस्ति मन्त्री भएनन्। मैले मन्त्री बनाइँन', ओलीले भने, 'त्यही भएर यस्तो पार्टीमा किन बस्ने भन्दै उनी कांग्रेसतिर मन्त्री हुनका लागि गए।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .