ad ad

राजनीति


कांग्रेस महाधिवेशन सार्ने तयारी

कांग्रेस महाधिवेशन सार्ने तयारी

सागर न्यौपाने
असार ३१, २०७८ बिहिबार २१:३६,

सत्तारुढ दल नेपाली कांग्रेसले भदौ दोस्रो साताका लागि तय गरेको पार्टीको चौधौँ महाधिवेशन सार्ने तयारी गरेको छ। त्यसका लागि युवा नेताहरुले नै सक्रियता देखाएका छन्।

महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने कांग्रेसको कार्यतालिका हो।  

सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार मन्त्रिमण्डल विस्तार, कोभिड र क्रियाशील सदस्यताको विषयका कारण महाधिवेशन सार्ने तयारी भएको हो। 

यो विषयलाई सभापति देउवाले छिट्टै बस्ने पार्टी पदाधिकारी बैठकमा प्रस्तावका रूपमा लैजाने उनी निकट एक नेताले बताए। 
पहिलो पटक सरकार बनेको, स्थानीय निर्वाचनको लागि केन्द्रित हुनुपर्ने र कोरोनाको कारण अहिले महाधिवेशन गर्न सम्भव नहुने भएकोले सार्नुपर्ने आवाज उठेको हो। 

बिहीबार कांग्रेसका प्रभावशाली  युवा नेताहरु गगन थापा, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गुरु घिमिरे, बद्री पाण्डेलगायतका नेताहरुको भेलाले भरखरै सरकार गठन भएको, स्थानीय तहको चुनाव निकट आइसकेको, कोरोना अझै नसकिएको र सरकारले साउन १० गतेसम्म निषेधाज्ञा जारी गरेकोले अधिवेशनका कार्यक्रम अघि बढाउन नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए। 

उनीहरुले यो विषयमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र शेखर कोइराला लगायतलाई जानकारी समेत गराइसकेका छन्।

कांग्रेसको तीनै गुटका नेताहरुलाई युवा नेताहरुले नै लबिङ गरेपछि महाधिवेशन कार्यक्रम सर्ने ती नेताले बताए।

यसअघि पनि विभिन्न कारण देखाउँदै कांग्रेसको महाधिवेशन दुईपटक सरिसकेको छ।
२०७२ फागुन तेस्रो साता कांग्रेसको महाधिवेशन भएको थियो। त्यस आधारमा २०७६ फागुनदेखि देउवाको चारवर्षे कार्यकाल सकिएको छ। 

तर, विधानअनुसार एक वर्ष म्याद थप गरेर २०७७ फागुन पु¥याएको थियो। त्यो समयमा पनि महाधिवशेन हुन सकेन। त्यसपछि संवैधानिक व्यवस्था अनुसार थप ६ महिना कार्यकाल थपिएको थियो त्यो म्याद यही भदौ २३ मा सकिँदैछ।

पछिल्लो समय थपिएको म्यादमा समेत महाधिवेशन गर्न नसक्ने देखिएपछि सार्नेबारे छलफल भइरहेको नेताहरु बताउँछन्।

‘अहिले नै त्यसबारे घोषणा भइसकेको छैन,’ देउवा निकट स्रोतले भन्यो, ‘पदाधिकारी बैठकले त्यसबारे निर्णय गर्ने सम्भावना छ।’

कांग्रेसको आजको लागि बोलाइएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक स्थगित गरेर भोलि २ बजे बस्न लागेको छ।

कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्ने जानकारी दिए।

बैठकमा क्रियाशील सदस्यता, पार्टीबाट सरकारमा जाने नेताहरुको नाम तय गर्ने र महाधिवेशनको विषयमा छलफल हुने उनले बताए।

नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अझै टुंगो लाग्न सकेको छैन।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले साउन ३ गतेपछि मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएका छन्।

माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थनमा कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनेका हुन्।

कांग्रेसको आगामी साउन १२ गतेदेखि गाउँ कमिटीको  अधिवेशन तय भएको छ।

‘गाउँ कमिटीको अधिवेशन गर्ने कार्यसूची केही प्रभावित हुने देखिएको छ,’ देउवानिकट अर्का केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘मौसम, कोरोना लगायतको कारण त्यो मिति प्रभावित हुने देखिन्छ।’

यद्यपि, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लिने अडानमा महाधिवेशन सर्ने नसर्ने निर्णय हुने नेताहरु बताउँछन्।

पौडेल पक्षले आज महाधिवेशनकै विषयमा छलफल गरेको थियो। 

गाउँ र नगरपालिका अधिवेशन साउन १२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुने प्रस्ताव गरिएको छ। त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूमा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ भने  प्रदेश अधिवेशन २०७८ भदौ १ र २ गते हुने तय भएको छ भने केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने घोषणा भइसकेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .