ad ad

राजनीति


नेता खनालको उपचार खर्च एमालेले व्यहोर्छ कि सरकारले?

नेता खनालको उपचार खर्च एमालेले व्यहोर्छ कि सरकारले?

फाइल तस्बिर


नेपालखबर
असार २४, २०७८ बिहिबार १४:३४,

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतको अपोलो अस्पतालमा उपचार गराइरहेका वरिष्ठ नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो। 

निर्णयलगत्तै मुख्यसचिव शंकरदास वैरागीले अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयको नाममा निकासा दिने र परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासमार्फत भुक्तानीको व्यवस्था गर्ने गरी भुक्तानीको व्यवस्था गर्ने गरी परिपत्र गरेका छन्। 

यसअघि पनि पूर्वप्रधानमन्त्री तथा मन्त्रीहरुको उपचार खर्च सरकारले नै व्यहोर्दै आएकाले पूर्वप्रधानमन्त्री खनालको उपचारको जिम्मा पनि सरकारले नै लिने निर्णय मन्त्रिपरिषद्ले गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। 

खनालको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गर्नुअघि एमाले पार्टीले उनको उपचारको सम्पूर्ण जिम्मेवारी लिने निर्णय गरेको थियो। 

असार १८ गतेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले खनालको उपचारमा लागेको खर्च एमाले पार्टीले तिर्ने बताएका थिए। 

नेकपा एमालेको १९ गते सकिएको केन्द्रीय कमिटिको बैठकको निर्णय सार्वजनिक गरिएको थियो जसको ६ नम्बर बुँदामा वरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको खर्च पार्टीले व्यहोर्ने निर्णय गरेकोमा अध्यक्षलाई धन्यवाद दिने उल्लेख छ।

 ‘यो बैठक भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गराइरहनुभएका पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री कमरेड झलनाथ खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ। उहाँको स्वास्थ्योपचारको जिम्मा लिनुभएकोमा पार्टी अध्यक्षप्रति धन्यवाद ज्ञापन गर्दछ’, उक्त निर्णयमा भनिएको छ। 

सास फेर्न गाह्रो भएपछि नर्भिक अस्पतालमा भर्ना भएका खनाललाई गत असार २ गते थप उपचारका लागि दिल्ली लगिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .