नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को विदेश विभागले चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको कद बढेको निष्कर्ष निकालेको छ। तुलसीलाल स्मृति प्रतिष्ठानमा मंगलबार भएको विभागको बैठकले लामो अन्तरालपछि चिनियाँ राष्ट्रपतिबाट भएको भ्रमणले विश्वभर त्यसको सकारात्मक प्रभाव पर्ने ठहर गरेको हो।
त्यसैगरी बैठकले नेपाल र चीनबीचका सम्बन्ध नयाँ उचाइमा पुग्ने मात्रै नभई भ्रमणपछिको अन्य देशहरुसँग नयाँ ढंगले सम्बन्ध विस्तार हुने, सरकारको व्यावसायिक क्षमता विस्तार भएको, भ्रमणले देशभित्र राष्ट्रिय सहमति देखाएको निष्कर्ष निकालेको छ।
‘लामो समयपछि भएको भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका व्यक्तित्वलाई बढाएको छ। यसले चीनको राष्ट्रपतिका दुई दिन राजकीय भ्रमण सफल भएको र त्यसले नेपालबारे सकारात्मक सन्देश विश्वभर गएको छ’, नेकपाका विदेश विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘चिनियाँ राष्ट्रपतिको समयको सुरक्षा, व्यवस्थासहित सबै विषयमा भएको प्रबन्धले पनि नेपालको व्यवस्थापकीय क्षमता विस्तार भएको देखाएको बैठकको निष्कर्ष हो।’
द्वन्द्वबाट शान्तिमा आएको संसारका विभिन्न देशहरुमा लामो समयसम्म यस प्रकारको ठूलो भ्रमणको आयोजना गर्न उपयुक्त नमानिने भन्दै रिजालले नेपालखबरसँग भने, ‘जुन रुपमा सहजताका साथ भ्रमण सम्पन्न भयो। त्यसले हाम्रो क्षमता विस्तार भएको देखाएको छ।’
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले गत शनिबार र आइतबार दुई दिने नेपाल भ्रमण गरेका थिए। २३ वर्षपछि चिनियाँ राष्ट्रपति नेपाल भ्रमण भएको हो। चिनियाँ राष्ट्रपति सीको भ्रमणको विषयमा विश्वभरको सबै प्रमुख सञ्चारमाध्यमहरुले समाचार सम्प्रेषण गरेका थिए।
त्यसैगरी बैठकले चीनले उपलब्ध गराउने ५६ अर्ब रुपैयाँको सहयोग नेपालको विकासमा निकै महत्वपूर्ण रहेको निष्कर्ष निकालेको छ। भ्रमणको समयमा नेपाल र चीनबीच २० बुँदे सहमति भएको थियो। त्यस्तै राष्ट्रपति सी नेपालबाट चीन फर्किएलगत्तै नेपाल र चीनबाट १४ बुँदे संयुक्त वक्तव्य समेत जारी भएकाे थियाे।
पूर्णता नपाइसकेको नेकपाको विदेश विभाग तीन सदस्यीय रहेको छ। यसका प्रमुखमा माधवकुमार नेपाल र उपप्रमुखमा राम कार्की र विष्णु रिजाल रहेका छन्।
बैठकमा चीनका विज्ञहरु युवराज संग्रौला, मिलन तुलाधार, रुपक सापकोटा, मातृका पौडेललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया