कारोबार


भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने

नेपालखबर
असोज २८, २०७६ मंगलबार १२:४७,

जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो।

आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए। जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि छ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो। आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भए पनि विसं २०७२ को भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो। भूकम्पमा क्षति भएको आयोजना पुनःनिर्माण शुरु हुँदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पु-याएको थियो।

आयोजनाको अहिले हेडबक्सका काम सकिएको र पानी भर्ने काम भइरहेको स्थापितले जानकारी दिए। ‘हामी अहिले हेडबक्सको परीक्षणमा छौँ’, स्थापितले भने, ‘विद्युत् गृह परीक्षणको प्रक्रियामा छौँ।’ असोजभित्र पुनःनिर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको स्थापितले जानकारी दिए। शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरू युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ।

साढे चार वर्षदेखि विद्युत् आयोजना अवरुद्ध हुँदा अर्बौं क्षति भएको आयोजनाले जानकारी दिएको छ। आयोजना पुनःनिर्माणका लागि रु सात अर्ब खर्च हुने महाप्रबन्धक स्थापितले जानकारी दिए। यो रकम नयाँ आयोजना निर्माण गर्दा लाग्ने खर्च जत्तिकै भयो, महाप्रबन्धक स्थापितले भने, ‘क्षति धेरै भयो, लागत पनि बढ्यो।’

आयोजनाको हेडबक्स, सुरुङ र पेनस्टक पाइपमा समेत क्षति पुगेको थियो भने इलेक्ट्रोनिक्सको पनि सबै सामग्री फेर्नु परेको आयोजनाले जानकारी दिएको छ। भूकम्पमा अन्य संरचनामा मात्रै क्षति भए पनि बाढीले भने बाँध र बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाएको आयोजनाले जानकारी दिएको छ।

आयोजना बन्द हुँदा कति क्षति भयो त्यो अहिले भन्न नमिले पनि भूकम्पले मात्रै रु तीन अर्ब बढी क्षति भएको आयोजनाका महाप्रबन्धक स्थापितले बताए। आयोजनाले शुरुमा ३६ मेगावाट मात्रै विद्युत् उत्पादन गरे पनि सन् २०११ मा विद्युत् खरीद सम्झौतापछि ४५ मेगावट क्षमतामा गएको थियो।

जुरे पहिरोले भोटेकोशी बन्द भए पनि शेयर माग गर्दै स्थानीयवासीले आन्दोलनसमेत गरेका थिए। पछि त्यतिबेलाका प्रमुख तीन पार्टीकै नेतृत्वमा भोटेकोशीविरुद्ध आन्दोलन चर्किएपछि जिल्लावासीलाई छ प्रतिशत शेयर दिन भोटेकोशी तयार भएको थियो। शेयर दिन तयार भए पनि आयोजना पुनः बन्द भएपछि त्यसको प्रक्रिया अघि बढेको छैन। आयोजना पुनः सञ्चालनमा आएपछि आफूहरुसँग गरेको सम्झौता कार्यान्वयनमा दबाब दिने स्थानीयवासीले जानकारी दिएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad