राजनीति


एमिकस क्युरिका वरिष्ठ अधिवक्ता वैद्यले पनि देखाए राष्ट्रपतिकै गल्ती

एमिकस क्युरिका वरिष्ठ अधिवक्ता वैद्यले पनि देखाए राष्ट्रपतिकै गल्ती

नेपालखबर
असार २१, २०७८ सोमबार १५:५९,

संसदबाट विश्वास गुमाइसकेका व्यक्तिलाई अर्को उपधाराअनुसार प्रधानमन्त्रीमा नियुक्ति गरेर राष्ट्रपतिले गल्ती गरेको एमिकस क्युरीका वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले बताएका छन्।

७६ (२) को प्रधानमन्त्री रहेका ओलीले संसदमा विश्वासको मत नपाएपछि उनी पदबाट हटेकाे र ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्ति गर्नै नमिल्ने वैद्यले दाबी गरे। 

पूर्वन्यायाधीश समेत रहेका वैद्यले भने, ‘संसदले सत्ता चलाउन अयोग्य भनिसकेपछि उनको हैसियत यो राष्ट्रलाई चिनाउनुपर्थ्यो। तर राष्ट्रपतिले अर्को अवतारमा आएको जसरी अर्को उपधाराअनुसार नियुक्त गरिदिनुभयो।’

नेपाल बार एसोसिएसनबाट एमिकसमा प्रतिनिधित्व गरेका वैद्यले भने, ‘७६ (३) मा संसदीय दलको ठूलो दलको नेताका हैसियतले नियुक्ति गरिएको हो। उहाँ अहिले ठूलो दलको नेता हो र! जतिबेला विश्वासको मत पाउनुभएन, त्यतिबेला पनि उहाँ नेकपा एमालेकै नेता हो। जब नेता परिवर्तन भएको छैन भने ७६ (३) मा राष्ट्रपतिले कसरी विश्वास गर्नुभयो?’

विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो? राष्ट्रपतिले बुझ्नुपर्ने बताउँदै वैद्यले राष्ट्रपतिले निकास नै नखोजेको बताए। 

‘विश्वासको मत पाउन नसकेपछि पदमुक्त हुनुभएको थियो। पदमुक्त भएको प्रधानमन्त्रीको सम्बन्धमा त्यसको परिणाम आउनासाथ उहाँको हैसियत के हो राष्ट्रले थाहा पाउनुपर्थ्यो,  राष्ट्रलाई चिनाउनुपर्थ्यो। तर विश्वासको मत नपाए पनि विश्वास गुमाए पनि उहाँ नै प्रधानमन्त्री रहिरहनुभयो,’ वैद्यले भने।

पदमुक्त भएको प्रधानमन्त्रीको सट्टामा अर्को व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने राय दिँदै उनले नयाँ अवतारमा लगेर प्रधानमन्त्री नियुक्त गर्नै नमिल्ने दाबी गरे। 

‘अविश्वास भइसकेपछि उहाँलाई सत्तामा बस्न पाउँदैनौ भनेको हो, अर्को उपधाराअनुसार फेरि आऊ भनेको होइन,’ वैद्यले भने, ‘फैसला हुँदाखेरि यो कुरा पनि स्मरण गराउनुपर्छ।’

पार्टीले संसदीय दलको नेता परिवर्तन गरेर भने दाबी गर्न मिल्ने उनले बताए।

यी पनिः 

देउवालाई प्रधानमन्त्री नबनाएर राष्ट्रपतिले गम्भीर संवैधानिक त्रुटि गरेकी छन्ः बद्रीबहादुर कार्की

विद्या भण्डारी प्रधानमन्त्रीले भनेको लुरुलुरु मान्ने संसारकै कमजोर राष्ट्रपति: शम्भु थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .