ad ad

फोटो


सिंहमहलकै स्वरूपमा थापाथलीमा ठडियो राष्ट्र बैंकको नयाँ भवन (तस्बिर)

सिंहमहलकै स्वरूपमा थापाथलीमा ठडियो राष्ट्र बैंकको नयाँ भवन (तस्बिर)

सरोज बैजु
चैत १३, २०८० मंगलबार १०:५, काठमाडौँ

२ अर्ब २५ करोड लागतमा थापाथलीमा नेपाल राष्ट्र बैंकको भवन ठडिएको छ। 

२०७२ सालको भूकम्पले भत्किएको भवन बल्ल निर्माणको अन्तिम चरणमा पुगेको हो। 

भूकम्पबाट क्षतिग्रस्त राणाकालीन भवनलाई पूर्णतः हटाएर पुरानै शैलीमा निर्माण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

राष्ट्र बैंकका सूचना अधिकारी भागवत आचार्यका अनुसार, सहरी विकास तथा भवन निर्माण विभागले नै ठेक्का लगाएर यो भवन बनाएको हो। बजेट भने राष्ट्र बैंकले नै दिएको हो।

२०७५ भदौ ११ गते निर्माण सम्झौता भएको थियो। विभागले भदौ १५ गते कार्यादेश पाएको थियो। विभागले निर्माण कम्पनी बिलिल कन्टेक जेभीलाई ठेक्का दिएको थियो।

राष्ट्र बैंकका अनुसार, ३० महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ६७ महिना बितिसकेका छन्। सुरुमा १ अर्ब ७७ करोड लागत अनुमान गरी ठेक्का दिइएकोमा अहिले सवा २ अर्ब पुगिसकेको छ।

आचार्य भन्छन्, ‘अहिलेसम्म ९० प्रतिशतभन्दा बढी काम सकिएको भन्ने जानकारी प्राप्त भएको छ। फिनिसिङ तथा बाहिरको बाटो लगायतका काम बाँकी छन्।’

राष्ट्र बैंकको थापाथलीमा ४२ रोपनी ३ आना २ पैसा जग्गा छ, मुख्य बैंकिङ कार्यालय, हेल्थ क्लब, सेक्युरिटी ब्लक र चमेनागृह ब्लक हुनेछन्। मूल भवन ६ तलाको छ। यसको बाहिरी भाग पुरानो राणाकालीन दरबारजस्तै देखिनेछ।

राष्ट्र बैंकको मुख्यालय भने बालुवाटारमा छ।

त्यो सिंहमहल
थापाथली दरबार कुनै बेलाको एक शक्तिशाली राजनीतिक केन्द्र थियो। काजी नैनसिंह थापाद्वारा निर्मित दरबारमा पछि उनकै छोरीका सन्तान जंगबहादुर राणाको रजगज चल्यो।

बाग्मती किनारको सुन्दर फाँटसँग जोडिएको अलि अग्लो भागमा थापाथली दरबारथियो। त्यस दरबारमा कालान्तरमा अरू संरचनाहरू पनि थपथाप र जोडजाड गरिएका थिए। थपिएका संरचनामध्येकै एक थियो, सिंहमहल।

जंगबहादुरका कान्छा भाइतर्फका भतिजा चन्द्रशमशेर विसं १९५८ मा सत्तामा आएपछि सिंहमहलमा आफ्ना छोरा सिंहशमशेरलाई राखे। खासमा यो भवन सिंहमहल भनेर चिनिन थालेको पनि त्यसपछि नै हो।

२०१३ सालमा स्थापना हुँदा नेपाल राष्ट्र बैंक जुद्ध सडकमा भाडामा बसेको थियो। पछि बालुवाटारको ललिता भवन र थापाथलीको सिंहमहलमा सरेको हो। राष्ट बैंकले सिंहमहल राणाहरूबाट किनेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .