फोटोफिचर


यसरी हुँदैछ एनपीएल अक्सनको तयारी (तस्बिरहरू)


सरोज नेपाल
साउन २४, २०८२ शनिबार १५:५२, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनको अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान)कै आयोजनामा हुने एनपीएलको अक्सनमा १६४ खेलाडीको नाम छ। यीमध्ये ३७ खेलाडीमाथि ८ क्लबलले बोली लगाउनेछन्। 

आज शनिबार ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा मिनि अक्सन सुरु हुँदैछ।  ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्। 

हरेक टोलीले १२ जना नेपाली खेलाडी अनुबन्ध गर्न ९० लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। प्रत्येक टोलीले दोस्रो सिजन पनि ट्यालेन्ट हन्टबाट एक/एक जना खेलाडी अनुबन्ध गर्नु पर्नेछ। 

नेपाल क्रिकेट संघ (क्यान)ले १ सय ५० खेलाडीलाई विभिन्न क्याटेगोरीमा विभाजन गरेको छ। क्याटेगोरी ‘ए’ मा ८ जना, क्याटेगोरी ‘बी’ मा ३५ तथा क्याटेगोरी ‘सी’ मा १०७ खेलाडी रहेका छन् । 

अक्सनका लागि सार्वजनिक सूचीमा खेलाडीलाई तीनवटा श्रेणीमा वर्गीकरण गरिएको छ। ए श्रेणीका खेलाडी अनुबन्ध गर्दा १० लाख रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म बोलकबोल हुनेछ। त्यसमा सबैभन्दा बढी रकम तिर्ने टोलीले अनुबन्ध गर्न पाउँछ। तर अधिकतम १५ लाख रुपैयाँ तिर्न एकभन्दा बढी टोली तयार भएमा गोलाप्रथाबाट टुंगो लगाइनेछ। 

यस्तै बी श्रेणीका खेलाडी अनुबन्ध गर्न ५ लाख रुपैयाँदेखि १० लाख रुपैयाँ तोकिएको छ। सी श्रेणीका लागि न्यूनतम २ लाखदेखि अधिकतम ५ लाख रुपैयाँ खर्च गर्न सक्नेछन्। 

हरेक टिममा १२ जना नेपाली खेलाडी हुनुपर्नेछ। ८ वटा टोलीले पहिलो सिजनका ६ देखि ७ जना खेलाडीलाई नै निरन्तरता दिएका छन्। उनीहरूले जति खेलाडी रिलिज गरेका छन् त्यति नै संख्यामा अक्सनबाट अनुबन्ध गर्नु पर्नेछ। 

आफूसँग भएको बजेटका आधारमा कुन क्याटोगोरीका खेलाडी कति जना अनुबन्ध गर्ने भन्ने विकल्प टोलीलाई खुला छ।   

यसअघि पहिलो एनपीएलमा भने कुन श्रेणीका कति खेलाडी लिन पाउने भन्ने नियम थियो। पहिलो एनपीएलमा ए र सी श्रेणीबाट ३/३ जना र बी श्रेणीबाट ४ जनाका दरले खेलाडी अनुबन्ध गर्नु पर्ने नियम थियो। त्यसअघि नै मार्की खेलाडी छनोट गरिएको थियो। अब टोलीले आफ्नो अवस्था अनुसार खेलाडी छनोट गर्न पाउनेछन्। 

जनकपुर, पोखरा र कर्णालीसँग ७/७ खेलाडी छन्। अब यी टोलीले ४/४ जना खेलाडी शनिबारको अक्सनबाट अनुबन्ध गर्नेछन्। विराटनगर, चितवन, काठमान्डु, लुम्बिनी र सुदूरपश्चिमले ६/६ खेलाडी रिटेन गरेका छन्। यी ५ टोलीले अक्सनबाट  ५/५ जना खेलाडी अनुबन्ध गर्नेछन्। त्यसपछि ८ वटै टोलीले आ आफ्नो प्रदेशमा ट्यालेन्ट हन्टबाट एकएक जना खेलाडी टिममा राख्नुपर्नेछ। 

विदेशी खेलाडीको हकमा भने फ्रेन्चाइज टोलीले आफै छनोट गरेर अनुबन्ध गर्न पाउनेछन्। तर एउटा खेलमा चारजना विदेशी खेलाडी मात्रै खेलाउन पाइने नियम यथावत छ। अनुबन्ध भने त्यो भन्दा बढी गर्न पाउँछन्। 

गत सिजन नेपाली खेलाडी अनुबन्धमा सबैभन्दा बढी खर्च लुम्बिनीले गरेको थियो। लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ लाख खर्च गरेको थियो। चितवनले ए क्याटेगोरीका तीनैजना खेलाडी १० लाख रुपैयाँका दरले भित्र्याएको थियो। सुदूरपश्चिमले ७४ लाख, काठमाडौँ गुर्खाजले ७० लाख, चितवन राइनोजले ६३ लाख, विराटनगर किंग्सले साढे ६६ लाख, जनकपुर बोल्ट्स्ले ६९ लाख २५ हजार, लुम्बिनी लायन्सले ८४ लाख ७५ हजार, पोखरा एभेन्जर्सले साढे ८० लाख र कर्णाली याक्सले ७४ लाख रुपैयाँ खेलाडी अनुबन्धमा खर्च गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad