प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीका उपभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियारले भ्रष्टचारको मुद्दा चलाएपछि सडकमा प्रदर्शन गरेको छ।
कांग्रेसले जनवर्गीय संगठनको नेतृत्वमा सडकमा प्रदर्शन गरेको हो। शनिबारको प्रदर्शनको नेतृत्व नेविसंघले गरेको थियो भने आइतबार भएको प्रदर्शन तरुण दलको नेतृत्वमा गरिएको हो।
तरुण दलले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा चलाएको आराेप लगाएकाे छ। उनले नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र महासचिव विष्णु पौडेललाई उन्मुक्ति दिएर पार्टीका उपसभापति विजय कुमार गच्छादारमाथि भ्रष्टाचारको मुद्दा दायर गरेको आरोप लगाएको छ।
तरुण दलका अध्यक्ष जीतजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना लगायतका भातृ संगठनहरुका नेता कार्यकर्ताहरु प्रदर्शनमा सहभागी थिए।
प्रदर्शनमा ‘दुई तिहाइको दम्भ देखियो, न्यायको घाँटी रेटियो’, ‘नेपाल, पौडेल ओलीका यार, गच्छदार फसाउन लाग्यो अख्तियार’, ‘कठै अख्तियार, नेकपासामु लम्पसार’, ‘भ्रष्टहरुको ब्रहृम लुट, लालझण्डा बोकेपछि सबै छुट’ जस्ता नारा लगाइएका थिए।

प्रतिक्रिया