मानिसलाई सधैँ चाहिने तर परिभाषित गर्न गाह्रो शब्द हो- घर। जंगली युगबाट समाजमा घर बनाएर बस्नुअघि मानिसहरु कहाँ बस्थे होलान्? बस्ने ठाउँ कस्ता हुन्थे होलान्? जाडो महिनामा गुफामा बसे पनि गर्मीमा के गर्थे होलान्? गुफा नभएका ठाउँमा कता बस्थे होलान्?
यसबारे समाजशास्त्रीहरुको फरक–फरक मत छन्। तर पनि मानिस कहिलेदेखि समाजमा बस्न थाल्यो अझै पनि खोजको विषय हो। घाम, पानी, हावाहुरी, जंगली जनावर, शत्रुबाट बच्न वा अन्य जे कारणले भए पनि मानिसले घर बनाउन थालेको धेरै समय भयो।
नेपालमा बाह्य पर्यटक प्राकृतिक सम्पदा विभिन्न जातिका संस्कृति र मौलिक घर एवं बस्ती हेर्न आउँछन्। मौलिक घर नेपाली समाजको सभ्यताको पहिचान मानिन्छ। विविध जाति, धर्म तथा भौगोलिक बनावट भएको मौलिकताले पर्यटकलाई आकर्षण गराएको छ। पर्यटकहरु आधुनिकभन्दा स्थानीय ढुंगामाटो तथा काठबाट बनाइएका पुराना शैलीका मौलिक घर भएका गाउँ अवलोकन गर्न रुचाउँछन्।
सहरदेखि गाउँसम्म पछिल्लो समय काठका छाना, खरका छाना, ढुंगाका छाना, टिनका छाना हुँदै अहिले आएर सिमेन्ट/कंक्रिट ढलानका छाना भएका घर धेरै छन्। साथै आफ्नो रुचि, हैसियतअनुसार उपत्यकामै पनि घरका आकार, रङ, शैली फरक-फरक छन्। तर पनि घर सबैलाई आफ्नो आश्रयका लागि चाहिन्छ नै।
नेपालमा भित्रिने बाह्य पर्यटक मौलिक संस्कृति, वेषभूषा रहनसहन र भाषासमेत अध्ययन गर्न रुचाउँछन्। मौलिकता र सुन्दरताका हिसाबले काठमाडौं, भक्तपुर र ललितपुरमा भएका पुराना घरका कारण ५० वर्ष पहिलासम्म उपत्यका विश्वका उत्कृष्ट ५० सहरमध्ये १०औं नम्बरमा थियो। तर, अहिले आधुनिक कंक्रिटका घर हुनुलाई समाजले प्रतिष्ठाको विषय मानेको छ। जसका कारण सबैले मौलिक घर छाड्दै क्रंकिटका घर बनाउन थालेका छन् भने काठमाडौं उपत्यका कंक्रिटको सहरमा परिणत भएको छ।
उपत्यकाका केही भित्री बस्तीबाहेकका क्षेत्रमा मौलिक पहिचान झल्किने घर भेट्न मुस्किलप्रायः छ। मौलिक पुराना घर जोगाएर पर्यटन विकास गर्न राजनीतिक नेतृत्व नै अन्योलमा छ। पर्यटन विकासका लागि मौलिक घर निर्माण र पुरानो सीप प्रयोग गरेर नेपालको सौन्दर्यलाई पुनः उजागर गर्न सबै एक हुन जरुरी छ।
अहिले विभिन्न शैलीका मौलिक एवं परम्परागत घर लोप हुने अवस्थामा पुगेका छन्। पुराना मौलिक घर भत्काएर नयाँ आधुनिक किसिमका कंक्रिटका घर सहर-बजारदेखि गाउँसम्म बन्न थालेका छन्। अर्कातर्फ ढुंगा, टायल, खरले छाएका नेपाली परम्परागत र मौलिक घर भत्काएर आधुनिक कंक्रिट पिल्लरका घर बनाउने क्रम तीव्र छ।
तर पनि काँठ क्षेत्रमा भने अझै पुराना कलात्मक शैलीका घर भेटिने गर्छन्। आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौं उपत्यकामा रहेका फरक शैलीका घर-












Shares

प्रतिक्रिया