ad ad

विचार


ओलीलाई सुझाव : प्रचण्ड–माधव नेपाललाई यसरी पनि सम्झिनुस्

ओलीलाई सुझाव : प्रचण्ड–माधव नेपाललाई यसरी पनि सम्झिनुस्

विष्णु रिजाल
माघ १६, २०७७ शुक्रबार १०:१५,

नेकपा विभाजनको प्रसव पीडाबाट गुज्रिरहेको बेला प्रधानमन्त्री केपी ओलीले दिनदिनै मानिसहरुलाई हँसाइरहनुभएको छ। विद्या भण्डारीलाई राष्ट्रपति र आफूलाई प्रधानमन्त्री बनाउने नेताहरुलाई अनेक उखान–टुक्का, उपमा र आरोप लगाएर उहाँले जति खिल्ली उडाउन खोजिरहनुभएको छ, वस्तुतः उहाँ स्वयम्को खिल्ली उडिरहेको छ। पार्टीभित्र समस्या आएपछि तिनलाई निराकरण गर्नुको साटो पार्टी नै फुटाइदिने गरी प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, प्रतिगामी र गणतन्त्रलाई कमजोर बनाउने कदमको संवैधानिक परीक्षण अदालतमा भइरहेको बेला सार्वजनिक अभिव्यक्तिले प्रधानमन्त्री ओली कति कमजोर धरातलमा उभिनुभएको छ भन्ने देखाउँछ। विकास, समृद्धि र स्थायित्वको नारा बोकेर निर्वाचनमा गएको र त्यही नारा अनुमोदन भएर प्रधानमन्त्री भएको व्यक्ति यतिबेला यी सबै कुरा छाडेर आफ्नै सहकर्मीहरुका विरुद्धमा मैदानमा उत्रिएको विडम्बनापूर्ण अवस्था छ।

पानी र बानी माथिबाट तलतिर बग्छ भनिन्छ। आदर्श मानिएका नेताहरुले जुन शैली अपनाउँछन्, त्यसैलाई कार्यकर्ताले अनुशरण गर्नु अन्यथा हुन्न। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री पदको मर्यादा, आफ्ना सहकर्मीहरुसँगको दशकौँ लामो सहकार्य र सामान्य राजनीतिक सम्बन्धलाई पनि ख्याल नगरेर दिनदिनै दिने उट्पट्याङ र उत्ताउला अभिव्यक्तिहरुले बाहिर बसेर सुन्नेहरुलाई त आनन्द दिलाउला, स्वयम् उहाँलाई अध्यक्ष र प्रधानमन्त्री बनाउने तमाम कार्यकर्तालाई आफ्ना नेताको स्तर देखेर कस्तो लाग्छ होला? यसका बारेमा उहाँले सामान्य पनि ख्याल नगरेको मात्र होइन, एकपछि अर्को उस्तै अभिव्यक्ति दोहो¥याइरहनुभएको छ। भन्नलाई अरु नेताहरु पनि के कम छन् र? उनीहरुले पनि जथाभावी बोली त रहेका छन् भन्न सकिएला। तर, यहाँनेर फरक के छ भने उहाँ मुलुकको कार्यकारी प्रमुख हुनुहुन्छ र उहाँको हस्ताक्षरबाट प्रतिनिधिसभा विघटनको सिफारिश भएका कारण स्वाभाविक रुपमा उहाँप्रति आक्रोश हुन्छ। तर, प्रधानमन्त्री ओली चाहिँ नामै किटेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालका विरुद्धमा मात्र होइन, पश्चिम पुगेर भीम रावल र पूर्वतिका मान्छे जम्मा गरेर योगेश भट्टराईलाई खुइल्याउन पछि पर्नुभएको छैन। यस्ता क्रियाकलापले नेकपाभित्रको बहसलाई पूरै व्यक्तिकेन्द्रित गरिदिएको छ। 

प्रधानमन्त्री ओलीले आफू १५ बर्षसम्म मातहतमा बसेर नेता मानेका माधवकुमार नेपाललाई ‘प्रचण्डको मामुली कार्यकर्ता’का रुपमा चित्रण गर्न प्रयत्न गरिरहनुभएको छ। आफूलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने नेतासँग यस तीन बर्षका बीचमा गरेको व्यवहारले पोलेर होला, ओलीले आफ्नो प्रहारको निशाना नेपालतिर सोझ्याइरहनुभएको छ। प्रचण्डले नेपाललाई पहिलो बरियताको नेता मान्न आफूलाई कुनै समस्या नरहेको सार्वजनिक घोषणा गरेर जवाफ दिएपछि पनि ओलीले के गरेर हुन्छ, माधव नेपाललाई होच्याउन छाड्नुभएको छैन। तर, उहाँले जतिजति माधव नेपाललाई होच्याएँ भनेर आनन्द मानिरहनुभएको छ, मानिसहरुलाई ओलीसँग माधव नेपाल किन दिक्दार हुनुभएछ भनेर बुझ्न सजिलो भइरहेको छ।

प्रधानमन्त्री ओलीको समूहले यतिबेला जोडतोडका साथ ‘एमालेहरु एक ठाउँमा रहनुपर्ने’ कुरा उठाइरहेको छ। पूर्वएमालेका नेता–कार्यकर्ताहरुलाई के गरेर भड्काउन सकिन्छ र त्यसबाट फाइदा लिन सकिन्छ भनेर तलदेखि माथिसम्म यस कुरालाई महत्वका साथ प्रचार–प्रसार गरिएको छ। आफूसँग आएका सानो संख्याका पूर्वमाओवादीका नेताहरुलाई समेत नजरअन्दाज गर्दै पूर्वसमूहको एकताको कुरा गरिँदैछ। तर, यहाँनेर हेक्का राख्नुपर्ने कुरा के छ भने यतिबेला नेकपामा आएको विभाजन वस्तुतः पूर्वएमाले समूहभित्रको समस्याले गर्दा हो। आफ्नो स्वार्थ पर्दा ‘एमालेहरु एक हुनुपर्ने’ कुरा निकाल्नेहरुलाई हेक्का हुनुपर्ने हो– पार्टीभित्र केपी ओलीले एकलौटी निर्णय गर्न खोज्दा माधव नेपालले तीनपटक ‘नोट अफ डिसेन्ट’ लेख्नुपरेको थियो। अहिले एमालेको हुरुरु माया लागेर कस्सिनेहरु त्यतिबेला पनि यही पार्टीमा थिए। माओवादीसँगको एकतामा सिंगो एमालेको होइन, आफ्नो गुटको मात्र प्रतिनिधित्व गर्दै ओलीले मनपरी गरेर माओवादीलाई होइन, एमालेलाई नै पेल्नुभएको थियो। त्यसैले आज ‘एमालेहरु’ को नारा लगाएर सुम्सुम्याउन खोज्नु गैँडाले चाट्न खोजे जस्तै हो।

माधवकुमार नेपाललाई ‘प्रचण्डसँग मिल्न गएको’ भनेर कार्यकर्ता भड्काउन खोज्नुको कुनै तुक छैन। किनभने, प्रचण्डसँग एकता माधव नेपालले होइन, केपी ओलीले गर्नुभएको थियो। आज प्रचण्ड अनेक कारणले मन नपर्न सक्नुहोला तर घाम जत्तिकै छर्लंग र यथार्थ कुरा के हो भने त्यतिबेला उहाँको समर्थन नभएको भए न विद्या भण्डारी राष्ट्रपति बन्ने सम्भावना थियो न केपी ओली प्रधानमन्त्री नै। सम्भवतः यही पद प्राप्तिको हतारोले गर्दा ओलीले त्यतिबेला प्रचण्डसँग एकता गर्नुभएको थियो। तर, आज कताबाट के बल प्राप्त गरेर हो, एकता उचित लागेन भनेर अरुमाथि आरोप लगाउन सुहाँउँदैैन। 

पूर्वएमालेका नेता–कार्यकर्तालाई भड्काउनकै लागि प्रधानमन्त्री ओली र उहाँका समर्थकहरुले प्रचण्डले हिजो गरेको ‘गल्ती’ हरुको फेहरिस्त सुनाइरहनुभएको छ। हिजो युद्धका बेला मारिएका १७ हजार मानिस सम्झेर यतिबेला प्रधानमन्त्रीले दिनदिनै आँशु चुहाइरहेको आश्चर्यलाग्दो दृश्य देखिन्छ। पक्कै पनि मानिसहरुको ज्यान गएको कुरालाई राम्रो मान्न सकिन्न। त्यसमा पनि युद्धमा असंलग्न एमालेका नेता–कार्यकर्ताहरुले अनाहकमा ज्यान गुमाएको थप पीडादायी अनुभव हामीसँग छँदैछ। तर, ओलीलाई यस्ता कुरा सम्झना भइरहँदा एउटा थप कुरा पनि सम्झना हुन आवश्यक छ– यी घटना यही पुस ५ गते उहाँले संसद विघटन गरेका कारण प्रचण्ड–नेपाल एक ठाउँमा उभिएपछि भएका होइनन्। त्यसैले आफ्नो सुविधामा तर्क अघि सार्ने कुराले नेताको उचाइ बढाउँदैन। 

यसबाट पनि अघि बढेर ओलीले प्रचण्डमाथि बासी आरोपहरु दोहो¥याइरहनुभएको छ। यतिसम्मकि, नेपालमा जनयुद्ध गर्दा प्रचण्ड कपालमा जेलवाला तेल लगाएर दिल्लीमा बसेको, ०७० को निर्वाचनमा मतपेटिका सारेर चुनाव जितेको, मतपत्र च्यातेर छोरीलाई मेयरमा जिताएको जस्ता कुराहरुको ओलीलाई यतिबेला सम्झना भइरहेको छ। सबैलाई थाहा छ, यी कुनै पनि घटना हालका होइनन् र यहाँले दुईजनालाई जेटका पाइलट भनेर पार्टी एकता गर्नुअघि नै भएका थिए। उहाँले एकता गर्दा यी कुनै कुराको पनि चर्चा गर्न र जिम्मा लिनुनपर्ने अनि कुरा मिलेन भनेर चिहान उधिन्ने कुराले हाम्रो राजनीतिक चेतनास्तर र नेताहरुको हैसियत देखाउँछ। 

माधवकुमार नेपालले प्रचण्डसँग आफ्नो ‘४० बर्ष लामो सम्बन्ध छ’ भनेको कुरालाई अपव्याख्या गर्दै ‘त्यसो भए एमालेका कार्यकर्ता मारिएका बेला पनि माधव नेपाल र प्रचण्डको सहकार्य रहेछ’ भनेर अपब्याख्या गर्ने कोसिस भएको छ। नेताहरुबीचको सम्बन्ध र राजनीतिलाई नबुझ्ने र तथ्यलाई तोडमरोड गर्ने कुत्सित मनशायका साथ आएका यस्ता कुतर्कहरुको जवाफ आवश्यक नभए पनि द्वन्द्वका बेलामा समेत शान्तिका लागि माधव नेपालले लखनऊ, सिलिगुडी र दिल्ली पुगेर गरेका प्रयासहरुलाई मात्रै सम्झिँदा पुग्छ। यस्तो तर्क तिनीहरुले गरिरहेका छन्, जो पार्टी एकता हुँदा ‘केपी ओली र प्रचण्डको केमेस्ट्री मिल्छ’ भनेर सिद्धान्त प्रतिपादनमा लागेका थिए। कम्तीमा आफैँले खाएको थालमा फोहोर नगर्दा सम्बन्धित पात्रहरुलाई नै फाइदा हुन्छ। 

केपी ओली कमजोर राजनीतिक धरातलमा उभिनुभएको छ। होला, उहाँसँग यतिबेला राज्यसत्ता छ, राष्ट्रपति खल्तीमा हुनुहुन्छ, पैसा छ, हुल्लडबाजहरुको पंक्ति छ, रातीराती भेट्ने विदेशी मित्रहरु छन्। तर, राजनीतिक एजेन्डा छैन। राजनीतिक रुपमा उहाँ पूरै प्रतिरक्षात्मक हुनुहुन्छ। राष्ट्रपतिसँग मिलेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने जालसाजीपूर्ण व्यवहारले उहाँलाई पूरै एक्ल्याएको छ। कमल थापाबाहेक कसैले पनि देशभित्र उहाँको कदमलाई साथ दिएका छैनन् भने हिजो उहाँलाई महान् ठान्ने विदेशी मित्रहरु पनि आज जिब्रो टोक्न बाध्य छन्। यसैकारणले विषयान्तर गर्नका लागि पुराना कुराहरुलाई विरुप पारेर उत्खनन् गर्न बाध्य हुनुहुन्छ। 

यदि इतिहास नै खोतल्ने हो भने केपी त्यहाँ पनि रक्षात्मक नै भेटिनुहुन्छ। प्रचण्डलाई आज आएर व्यक्ति हत्याको अभियोग लगाउने हो भने त्यसको अगुवा पनि ओली स्वयम् हुनुहुन्छ। जुन व्यक्ति राजनीतिक गतिविधि गरेको बेला व्यक्ति हत्याको अभियोगमा पक्राउ परेर १४ बर्ष जेल बसेको छ, त्यही व्यक्तिले अरुलाई आरोप लगाएको पटक्कै सुहाउँदैन। यी सबै विगतलाई सिरानी हालेर नयाँ आधारमा सम्झौता भएर संविधान बनिसकेपछि निहुँ खोज्ने कुरा गर्दा आफ्नै इतिहासको उत्खनन् हुन्छ भन्ने कुरा किन ध्यान नदिएको होला? 

प्रधानमन्त्री नै तल्लोस्तरको गालीगलौजमा उत्रिएपछि नेकपाको विवाद यतिबेला गालीगलौजमय भएको छ। नेतादेखि कार्यकर्तासम्म तर्क, बहस र छलफलमा होइन, चर्का गालीगलौजमा उत्रिरहेका छन्। प्रधानमन्त्रीलाई जवाफ दिन अरु नेताहरु पनि त्यही तहमा उत्रिएको सिको कार्यकर्ताहरुले गरिरहेका छन्। आफूसँग कुनै एजेन्डा र तर्क नभएकाले व्यंग्य, गाली र उखान–टुक्काबाट काम चलाइरहनुभएका प्रधानमन्त्री ओली त्यसबाट मुक्त नभएसम्म नेकपाको बहस स्वस्थ हुन सक्दैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .