निर्वाचन आयोगका आयुक्त ईश्वर पौडेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कुन पक्ष आधिकारिक हो भनेर आयोगले हालसम्म नभनेको बताएका छन्।
आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयुक्त पौडेलले नेकपा दुई गुट भएपनि कसैले दावी गर्न नआएको कारण आधिकारिकता नदिएको बताए।
‘अहिलेसम्म कुन पक्ष आधिकारिक भनेर निर्णय गरिसकेको अवस्था होइन। नेकपामा दुई गुट भएपनि हामीलाई आधिकारिकता देऊ भनेर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को उपदफा १ अनुसार कुनै पनि पक्ष नआएको हुनाले आधिकारिकता दिने भन्ने प्रश्न आएन,’ पौडेलले भने।
आजै निर्वाचन आयोग पुगेका प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेता सुवास नेम्वाङले भने आयोगले नेकपाको आधिकारिकताको टुंगो लगाइसकेको र आफूहरु त्यसैअनुसार अघि बढ्ने बताएका थिए।
यो पनि: नेम्वाङले भने- आयोगले नेकपा आधिकारिकता विवादको टुंगो लगाइसकेको छ
उनले आफूहरु नै आधिकारिक भएको आफ्नो दाबी रहेको बताएका थिए।
‘सुवास नेम्वाङले के बोल्नुभयो मलाई थाहा हुने कुरा भएन। कसैले दावी प्रस्तुत गर्दैन भने तँ आधिकारिक होस् भनेर बाटो बाटो भन्दै हिड्दैन नि,’ पौडेलले भने, ‘त्यसैले आधिकारिकताको विषयमा आयोगले केही पनि निर्णय गरेको छैन।’
पौडेलले अहिलेसम्म आयोगले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार अभिलेखिकरणको विषयमा मात्रै दुवै पक्षबाट पत्र आएकाले त्यो पार्टीको विधान र राजनीतिक दलसम्बन्धी ऐनअनुसार गर्न नमिल्ने निर्णय मात्रै गरेको बताए।
‘पहिले राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार हाम्रो अभिलेखिकरण गरिदिन दुवै पक्षले लेख्नु भएको थियो,’ पौडेलले थप प्रष्ट्याए, ‘हामीले विभिन्न दलसम्बन्धी विधान, राजनीतिक दल सम्बन्धी ऐन हेर्दा पुस ५ गतेभन्दा अघि यहाँ पेस गरेको नेकपाको विधान, त्यो विधानमा भएको व्यवस्था, राजनीतिक दलसम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार साविकको ७५ साल जेठ ३ गते यस निर्वाचन आयोगमा दर्ता भएको जे विवरण थिए त्यही विवरण सही छन् र अन्य विवरण अपडेट गर्न सक्दैनौ भन्ने विवरणसम्म दिएको हो।’
उनले दाजुभाइ छुट्टिएपनि अहिले अदालतमा अंशबण्डाको मुद्दा नपर्दाको अवस्था जस्तै भएकोले आयोगले अहिलेसम्म कुनै फैसला नगरेको बताए।
यो पनि:
- आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाएकोमा प्रचण्ड–नेपाल पक्षको यस्तो आपत्ति
- प्रचण्ड–नेपाल व्यस्त भएको भन्दै नेकपाले माग्यो निर्वाचन आयोगसँग थप समय

प्रतिक्रिया