अबको केही दिनमा कोभिड–१९ का कारण ज्यान गुमाउनेहरुको संख्या १० लाख नाघ्दैछ। सायद अभिलेख नभएका थप १० लाख मानिस यसबाट मारिएका हुनसक्छन्। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार नौ महिनाअघि महामारी सुरु भएयता पहिलो पटक सेप्टेम्बर १४ देखि २० सम्मको सात दिनमा संक्रमितको संख्या २० लाख नाघ्यो। भाइरस अहिले उदीयमान विश्वमा बढी फैलिइरहेको छ। भारतमा प्रतिदिन ९० हजारभन्दा बढी संक्रमित फेला परिरहेका छन्। महामारी पार गरिसक्यौँ भन्ठान्ने केही युरोपेली मुलुकहरु दोस्रो लहरसँग जुध्दै छन्। अमेरिकामा मर्नेहरुको आधिकारिक संख्या यसैसाता दुई लाख नाघ्यो। २६ राज्यमा संक्रमितको संख्या बढ्दै छ।
संसारले कत्रो कष्ट बेहोरिरहेको छ, यी आँकडाले देखाउँछन्। निको भएकामध्ये करिब १ प्रतिशत जनसंख्यामा चरम थकान र फोक्सोमा क्षतिजस्ता दीर्घकालीन स्वास्थ्य समस्या देखिएका छन्। खासगरी विकासशील मुलुकमा गरिबी र भोकमरीले महामारीको पीडालाई कयौँ गुणा बढाइदिएको छ। अझ उत्तरी गोलार्धमा हिउँद आउँदैछ, जसले मानिसहरुलाई घरभित्रै बस्न बाध्य बनाउनेछ। र, खुला हावामा भन्दा बन्द कोठामा संक्रमण चाँडो फैलिन्छ। त्यसमाथि रुघामर्कीले स्वास्थ्य प्रणालीमा बोझ थप्न सक्छ।
यो चरम निराशाको बीचमा पनि हामीले तीन वटा विषयलाई ख्याल गर्न जरुरी छ। तथ्यांकहरुलाई हेर्दा आशा र निराशा दुवै देखिन्छ। उपचार विधि र औषधिहरुका कारण कोभिड–१९ कम घातक बन्दै गइरहेको छ। नयाँ खोप र औषधि आएपछि तिनले पनि सघाउनेछन्। आज समाजमा रोग नियन्त्रणका औजारहरु तयार छन्। तथापि, थुप्रै मुलुकका सरकारहरु जनस्वास्थ्यका आधारभूत पक्षमै चुकिरहेका छन्। र, कोभिड–१९ को खतरा अझै महिनौँ, सम्भवतः वर्षौँसम्म रहनेछ। त्यसैले सरकारले राम्रो तयारी गर्न आवश्यक छ।
पहिले संख्याको कुरा गरौँ। विश्वभर बढी संक्रमित देखिनुको प्रमुख कारण हो– परीक्षणमा वृद्धि। खासमा हाम्रो आकलनअनुसार वास्तविक संक्रमण दर मे महिनामा सबैभन्दा उत्कर्षमा थियो। त्यसबेला प्रतिदिन ५० लाख संक्रमित हुन्थे। अहिले त्यो संख्या घटेको छ। परीक्षण दर बढेकैले संक्रमितको तुलनामा मृत्युदर घटिरहेको देखिन्छ। त्यसमाथि भारतजस्तो युवाहरुको बाहुल्य रहेको मुलुकमा कोरोनाको मृत्युदर कम हुन्छ। भारतको औसत उमेर २८ वर्ष छ।
मृत्युदरमा आएको कमीले चिकित्सकीय प्रगतिलाई पनि पुष्टि गर्छ। डाक्टरहरुलाई अहिले थाहा भइसकेको छ–फोक्सोबाहेक मुटु र मिर्गौलाजस्ता अंग पनि कोभिड १९ को जोखिममा हुन्छन्। त्यसैले चाँडै उनीहरुले सम्बन्धित लक्षणको उपचार गर्छन्।
महामारी सुरु हुँदा बेलायतको आईसीयूमा रहेका बिरामीमध्ये ९० प्रतिशत भेन्टिलेटरमा थिए। जुन महिनामा त्यो संख्या ३० प्रतिशतमा झर्यो। निकै सस्तो डेक्सामेथासोनजस्ता औषधिले गम्भीर बिरामीमा २०–३० प्रतिशतले मृत्युदर घटायो। युरोपमा अहिले मृत्युदर वसन्तको तुलनामा ९० प्रतिशतले कम भएको छ। तथापि उच्च जोखिम भएको समूहमा संक्रमण फैलिएपछि मृत्युदर फेरि बढ्नसक्छ।
केही प्रगति अझै हुन बाँकी छन्। भाइरसलाई रोक्न सक्ने ‘मोनोक्लोनल एन्टिबडी’ यो वर्षको अन्त्यसम्ममा उपलब्ध हुनेछ। यो निकै महंगो हुनेछ तर संक्रमित भइसकेपछि पनि प्रभावकारी हुने बताइएको छ। खोप आउने पनि निश्चितजस्तै भइसकेको छ। कोभिड–१९ का हरेक असरलाई कम गर्ने औषधि उपलब्ध हुँदै जाँदा त्यसबाट निकै ठूलो फाइदा पुग्नेछ।
यति हुँदाहुँदै पनि यो महामारी सन् २०२१ मा हाम्रो दैनिक जीवनको हिस्साका रुपमा कायम रहनेछ। खोप नै आए पनि त्यो शतप्रतिशत प्रभावकारी हुने आशा कसैलाई छैन। प्रतिरोध क्षमता कमजोर भएका वृद्धवृद्धामा खोपबाट प्राप्त सुरक्षा अस्थायी हुनसक्छ अथवा त्यो प्रभावकारी नहुनसक्छ। अर्बौँ डोज खोप बनाउन र लगाउनमा अर्को वर्षको धेरैजसो समय बित्नेछ। सुरुमा खोप दुई डोज लगाउनुपर्ने हुनसक्छ। र, खोपलाई सुरक्षित राख्नुपनि चुनौतीपूर्ण हुनेछ।
त्यस्तै, खोप कसले पहिले पाउने भन्ने विषयमा पनि लुछाचुँडी हुनसक्छ। अरुलाई धकेलेर लाइनको अगाडि पुग्न नसक्नेहरुबीच संक्रमण कायम रहनेछ। अर्कोतिर, कयौँ मुलुकमा गरिएको सर्वेक्षणअनुसार एक चौथाइ वयष्कहरु खोपमा विश्वासै गर्दैनन्। भाइरस रहिरहने यो अर्को कारण बन्नसक्छ।
तसर्थ, अझै केही समयका लागि कोभिड–१९ विरुद्धको सबैभन्दा पहिलो सुरक्षाको विधि भनेकै परीक्षण, पहिचान, सामाजिक दुरी र स्पष्ट सरकारी सञ्चार नै हो। त्यसका लागि के चाहिन्छ, त्यो सबैलाई जानकारी छ। तथापि अमेरिका, बेलायत, इजरायल, स्पेनलगायतका मुलुक यसमा नराम्ररी असफल भए।
मान्छेको ज्यान जोगाउन लकडाउन गर्ने कि अर्थतन्त्र पूर्ववत् चलाउन सबैथोक खुला राख्ने? प्रायः मुलुकहरु यही प्रश्नबाट जोगिन चाहेका देखिन्छन्। समस्या यहीँनेर छ। अर्थतन्त्र र स्वतन्त्रतालाई प्राथमिकतामा राखेर भाइरस फैलिन दियो भन्दै दक्षिणपन्थीहरु स्वीडेनको प्रशंसा गर्छन्। तर, स्वीडेनको मृत्युदर प्रतिलाख ५८.१ छ। र, जीडीपी पनि दोस्रो त्रैमासिकमा मात्रै ८.३ प्रतिशतले खुम्चियो। मृत्युदर र अर्थतन्त्र दुवै हिसाबले स्वीडेनको अवस्था डेनमार्क, फिनल्यान्ड र नर्वेभन्दा खराब छ।
वामपन्थीहरु भने न्युजिल्यान्डको प्रशंसा गर्छन्। जसले मानिसको ज्यान जोगाउन भन्दै कडा लकडाउन गर्यो। न्युजिल्यान्डमा प्रतिलाख ०.५ मानिसको मात्र ज्यान गयो। तर, अर्थतन्त्र भने दोस्रो त्रैमासिकमा १२.२ प्रतिशतले खुम्चियो। यी दुवैको भन्दा फरक अवस्था ताइवानमा देखिन्छ। ताइवान धेरै हदसम्म खुला रह्यो। तर, मृत्युदर प्रतिलाख ०.०३ रहँदा अर्थतन्त्र पनि १.४ प्रतिशतले मात्रै खुम्चियो।
हालै इजरायलमा समग्र लकडाउन गरिएको छ। यस्तो लकडाउन नीतिगत असफलताको लक्षण हो। यसबाट ठूलो घाटा हुन्छ र यो दिगो पनि हुँदैन। जर्मनी, दक्षिण कोरिया र ताइवानले परीक्षण, पहिचान र क्वारेन्टिन विधिबाटै संक्रमण रोके। संक्रमण व्यापक फैल्याउने स्थानका रुपमा जर्मनीमा कसाइखाना तथा दक्षिण कोरियामा बार र चर्च देखिए। फ्रान्समा जस्तो परीक्षणको गति धीमा भएको स्थानमा यो विधि असफल हुनेछ। इजरायलमा जस्तो कन्ट्याक्ट ट्रेसिङलाई विश्वास गरिएन र यो काम गुप्तचर निकायको हातमा पुग्यो भने मानिसहरुले यसलाई असफल तुल्याउनेछन्।
त्यसैले सरकारहरुले आर्थिक र सामाजिक हिसाबले उपयुक्त विधि रोज्नुपर्छ। मास्क सस्तो, सुविधायुक्त छ र यो संक्रमण रोक्न प्रभावकारी पनि हुन्छ। डेनमार्क र जर्मनीमा जस्तो स्कुल खोल्ने कामलाई प्राथमिकतामा राख्नुपर्छ। बारजस्ता भीडभाड हुने, संक्रमण फैलिने जोखिम भएका स्थान खोलिनु हुन्न। बेलायत सरकारले झैँ दिनदिनै परिवर्तन भइरहने आदेश जारी गर्ने तर सरकारी अधिकारीहरुले नै पालना नगर्ने अवस्था भए नागरिकले पनि टेर्दैनन्।
अचानक महामारी फैलिँदा कुनै पनि मुलुकका सरकार तयार थिएनन्। त्यसैले उनीहरुले आपतकालीन उपाय अपनाए। तर, अहिले पनि बिनातयारी बसेका मुलुकका लागि कुनै बहाना छैन। सामान्य अवस्थामा फर्किने हतारका कारण स्पेनले होसियारी गुमायो। बेलायतमा परीक्षण प्रणालीले काम गरिरहेको छैन, जबकि जुलाईदेखि नै संक्रमित बढिरहेका छन्। कुनै समय विश्वकै सबैभन्दा सम्मानित जनस्वास्थ्य संस्था अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन एकपछि अर्को गल्ती, खराब नेतृत्व र राष्ट्रपतिले नै बदनाम गरेपछि निकम्मा बन्यो। इजरायलका नेताहरु घमण्ड र आन्तरिक कलहको सिकार बने। महामारी समाप्त हुन अझै लामो समय बाँकी छ। एकदिन यो समाप्त हुनेछ तर सरकारले लत्तो छाड्न हुँदैन।

प्रतिक्रिया