मुलुकको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि यो पार्टीलाई नयाँ ढंगले पुनर्संरचना गर्नुपर्ने देखिएको छ। प्रतिनिधि सभा निर्वाचनको मुखमा गत पुस अन्तिम साता विशेष महाधिवेशन घोषणा गरी ‘जनताले मन पराएको’ नयाँ नेतृत्व सहित चुनावमा होमिएको पार्टीको यस्तो लज्जास्पद हार कांग्रेसको इतिहासमा पहिलो पटक भएको हो।
झण्डै आठ दशक लामो इतिहास बोकेको पार्टीमा पहिलो पटक कांग्रेस समानुपातिकतर्फ १७ प्रतिशत मतमा खुम्चिएको छ र ‘लोकप्रिय’ भनिएका सभापतिसहित सबै पदाधिकारीले चुनाव हारेका छन्।
पछिल्लो पटक २०६४ सालको निर्वाचनमा तत्कालीन नेकपा माओवादीको लहर आएका बेला पनि नेपाली कांग्रेसले प्रत्यक्षमा ३७ सिट जित्नुका साथै समानुपातिकमा २२ प्रतिशत मत ल्याएको थियो। २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच पार्टी एकीकरण घोषणा सहित कम्युनिस्ट गठबन्धन गरेर भएको निर्वाचनमा कांग्रेसले समानुपातिकमा ३१ प्रतिशत मत ल्याएको थियो। त्यसैले यो निर्वाचन कांग्रेसको इतिहासमा सबैभन्दा शर्मनाक हार हो।
राजनीतिक दलले जहिले पनि चुनाव जित्नका लागि लड्ने हो। चुनाव जित्न के–कस्तो रणनीति अख्तियार गर्नुपर्छ भन्नेमा नेतृत्व स्पष्ट हुनुपर्छ। चुनावमा जनतामाझ लैजाने एजेन्डा, चुनावी अभियान र चुनावी रणनीतिका विषयमा नेतृत्व अलमल भयो भने चुनावी माहोल बनाउन सकिँदैन। अहिले गगन थापा नेतृत्वमा चुनावमा होमिएको कांग्रेसमा यी तीनै विषयमा गम्भीर कमजोरी भएको देखिन्छ।
विशेष महाधिवेशन गरेर आएको ‘बदलिएको कांग्रेस’मा चुनावी एजेन्डा, चुनावी अभियान र चुनावी रणनीति तीनै विषय अस्पष्ट र कमजोर थिए।
चुनावी अभियानमा के विषय समेट्ने भन्नेमा पूरै केन्द्रीय नेतृत्व अस्पष्ट थियो। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बलमा संसद् विघटन गरेर भएको चुनावमा जेनजी आन्दोलनलाई हेर्ने स्पष्टता थिएन।
बालेन्द्र शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरिसकेपछि जेनजी आन्दोलनको ‘स्टेकहोल्डर’ त्यही दल थियो। उसले चुनावमा जेनजी आन्दोलनकै एजेन्डा लिएर गयो। जसको व्यापक जनअनुमोदन पनि भयो।
कांग्रेसले ‘बदल्यौँ कांग्रेस, बदल्छौँ देश’ भन्ने नारालाई अभियानको मुख्य एजेन्डा बनाएको थियो। यही नाराले नै कांग्रेसले शर्मनाक हार बेहोर्नु परेको हो।
कांग्रेसले विगतमा आफ्नो पार्टीको नेतृत्वमा भएका विकास निर्माण, सुशासनका विषयमा भएका संरचनागत र नीतिगत सुधार, वैदेशिक रोजगारी खुलाउन तत्कालीन कांग्रेस सरकारले गरेको पहल र त्यसले नेपालको गरिबी घटाउन र अर्थतन्त्र मजबुत बनाउन खेलेको भूमिका, शिक्षा क्षेत्रमा कांग्रेस सरकारले गरेको सुधार र अहिले विश्वविख्यात विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको पहुँच, सामाजिक कुरीतिहरूको लगभग अन्त्य लगायतका विगतमा गरेका कामहरूको फेहरिस्त जनतालाई पुनः सम्झाउन कन्जुस्याइँ गर्नु हुँदैन थियो।
तर, कांग्रेसले आफ्नै नारामा विगतमा कांग्रेसले मुलुकका लागि खत्तमै गर्यो, त्यसैले हामीले विशेष महाधिवेशन गरेर ‘पुराना नेताहरूलाई साइड लगाइदियौँ, अब हामी देश बनाउँछौँ’ भन्ने जस्तो भाष्य बोकेर चुनावमा होमियो। जसले कांग्रेसलाई भोट हाल्दै आएका मतदाता पनि अलमलमा परेर यस पटक मत बदल्न बाध्य भए।
यसको मतलब विगतमा रामराज्य थियो भन्न खोजेको होइन, तर जे भएका छन्, त्यसको जस लिने र जुन क्षेत्रमा विगतमा कमजोरी भए तिननलाई यो बाटोबाट सुधार गर्छौं भन्ने स्पष्ट कार्यक्रम कांग्रेसले मतदाता समक्ष लैजान सक्नु पर्दथ्यो, जुन नेतृत्वले गर्न चाहेन।
केही सञ्चारमाध्यम र खोक्रा विश्लेषकहरूको उक्साहटमा कांग्रेस नेतृत्व चुनावी माहोल राम्रो भएको हावामा दौडिरहेको देखिन्थ्यो। यसले एजेन्डागत रूपमा कांग्रेसप्रति विगतमा मतदान गर्दै आएका जनता पनि झन् विकर्षित भए।
अर्को महत्वपूर्ण विषय, कांग्रेसले चुनावी रणनीतिमा गम्भीर त्रुटि गरेको देखिन्छ। त्यो हो चुनावी तालमेल, चुनावको मिति र आन्तरिक विभाजनलाई कायमै राख्ने नेतृत्वको अहं।
जेनजी आन्दोलनको मुख्य स्टेकहोल्डर बालेन्द्र शाह नै रास्वपामा प्रवेश गरेपछि आन्दोलनको शत प्रतिशत हिस्सेदार रास्वपा हुने नै भयो। तर कांग्रेस नेतृत्व खोक्रा विश्लेषकहरूको उक्साहटमा जेनजी आन्दोलनको ठूलै हिस्सा आफूसँग रहेको भ्रममा थियो। आन्दोलन भएको ६ महिनामा भएको चुनाव र आन्दोलनका घाउहरू आलै भएका बेला त्यतिखेर सरकारमा रहेका कांग्रेस र एमालेले समान रणनीति बनाएर चुनावका लागि थप समय लिन सक्नुपर्थ्यो।
चुनावका लागि थप केही समय भएको भए अझै तयारी गरेर जाँदा जेनजी आन्दोलनको अर्को पाटोका विषयमा पनि मतदाताले बुझ्ने मौका पाउने थिए। यसको लागि एमालेसँग दूरी बढाएर होइन, सहकार्य गरेर अघि बढ्ने साहस नेतृत्वले गर्नु पर्दथ्यो।
२०४८ पछि अधिकांश समय सत्ताको नेतृत्व गरेका नेपाली कांग्रेस र नेकपा एमालेले विगतमा गरेका कामहरू संयुक्त रूपमा मतदातालाई सम्झाउन सक्नु पर्दथ्यो। र, यसका लागि दुवैले डिजिटल प्लटफर्म मार्फत विगतका कथाहरू भन्नु पर्थ्यो।
जेनजी आन्दोलनको नभनिएका कथाहरू पनि जनताले सुनेर तुलना गर्न पाउनु पर्दथ्यो। तर, चुनावमा यस विषयमा कांग्रेसले कहीँ केही उच्चारण समेत गरेन। बरु विगतमा जे–जे नराम्रो भयो, त्यो कांग्रेसले नै गरेको हो भनेर स्वीकार गर्दै त्यसमा हामी माफी माग्छौँ भन्दै हरूवा एजेन्डा जनता समक्ष लगेको थियो। कांग्रेस जनताबाट तिरस्कृत हुनुको मुख्य कारण समय अनुसारको एजेन्डा तय गर्न नसक्नु पनि हो।
अर्को महत्वपूर्ण पक्षm हालको नेतृत्वले सुन्नै नचाहने र वास्तविक पक्ष गठबन्धन नै हो। यो चुनाव कांग्रेस एक्लै लड्ने चुनावै होइन। विगतमा सहकार्य गरेका दलहरूबीच सहकार्य हुनै पर्दथ्यो। विगत सबै नराम्रो भन्ने रास्वपाको भाष्य चिर्न विगतमा यो–यो कामले यो–यो सुधार भए है भन्ने कथा पनि मतदातालाई सुनाउन सक्नु पर्दथ्यो।
तर कांग्रेस सभापति गगन थापाले कांग्रेसभित्र विगतका चुनावमा गठबन्धन गरेका कारण कांग्रेसी मतदाताले रुखमा भोट हाल्न नपाएर समानुपातिक मत घटेको भाष्य बनाउँदै आए। तर अहिले १ सय ६५ निर्वाचन क्षेत्रमै उम्मेदवार उठाएको कांग्रेसको समानुपातिक मत इतिहासमै सबैभन्दा कम १७ प्रतिशतमा सीमित भएको छ। यसले थापाले बनाएको भाष्य असत्य सावित गरेको छ।
हो, कांग्रेसमा क्षमता छ भने चुनाव एक्लै नै लड्ने हो। धेरैभन्दा धेरै सिट जित्ने नै हो। तर जित्न नसक्ने भए कोहीसँग सहयोग आदानप्रदान गर्ने नै चुनावको विश्व रणनीति हो। यो विषयको बुझाइमा कांग्रेसको विशेष महाधिवेशनबाट आएको नेतृत्व नराम्ररी चुकेको देखिन्छ। गठबन्धन गर्नु नै पदको लागि हो, गठबन्धन गर्नु अपवित्रता हो, गठबन्धन गर्नु मिलिजुली खाने हो भन्ने भाष्य बनाएर वर्तमान नेतृत्व चुनावी रणनीतिमा नराम्रोसँग असफल भएको छ।
कांग्रेस हारको अर्को महत्वपूर्ण कारण आन्तरिक एकताको प्रयास नै नहुनु हो। विशेष अधिवेशनबाट आएको कांग्रेस नेतृत्वले विशेष महाधिवेशनमा सहभागी नभएका सबै नेता तथा कार्यकर्ताहरू पुराना र बदनाम कांग्रेसी हुन भन्ने भाष्य बनायो।
चुनावी सभा तथा अभियानमा जाँदा पनि विशेष महाधिवेशनमा नगएका कांग्रेसीहरूलाई वर्तमान नेतृत्वले कर्के आँखाले हेर्ने व्यवहार गरेको गुनासा खुला थिए। विशेष महाधिवेशनमा नगएका तमाम नेता तथा कार्यकर्ताभित्रै पार्टी अपहेलित जस्तो देखिएका थिए। नेतृत्वले ती नेता तथा कार्यकर्तालाई अपनत्व अनुभूत गराउने प्रयास समेत गरेन।
कांग्रेसको घोषणापत्र अर्थात् प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रममा न शेखर कोइरालालाई बोलाइयो, न प्रकाशमान सिंहलाई, न बीपीपुत्र शशांक कोइरालालाई नै। सभापति र उपसभापतिको बडेमानको फोटो राखेर जनकपुरमा प्रतिबद्धता सार्वजनिक गरेपछि नै कांग्रेसको आन्तरिक विभाजन थप स्पष्ट देखिएको हो।
पार्टीमा अरुको अस्तित्व स्वीकार नगर्ने वर्तमान नेतृत्वको हठले नै यो चुनावमा देशभरि एकताको सन्देश दिन नसकेको हो।
तेरो अनुहारले भोट आउँदैन, मेरो अनुहारले मात्रै भोट आउँछ भन्दै चुनावमा पुराना नेताहरूलाई सक्रिय नबनाउने रणनीति, विशेष महाधिवेशनमा नगएका नेताहरू भ्रष्ट हुन् भन्ने भाष्य बनाएपछि पार्टीको आन्तरिक एकता थप खलबलिएको हो। जसले कांग्रेसको चुनावी माहोल जसरी जुरुक्क उठ्नु पर्थ्यो, त्यो हुन नसकेकै हो।
नेतृत्वले कांग्रेस एक छ भन्ने सन्देश दिनै चाहेन। पार्टीभित्र माथिदेखि तलसम्म विभाजन राखेर चुनावमा जाने एकलव्य हठले नै कांग्रेसको चुनावको परिणाम प्रभावित भएको हो।
अबको बाटो के?
चुनावमा इतिहासकै शर्मनाक हार बेहोरेपछि अब सहयोग र असहयोगको फण्डा फाल्ने होइन। एउटा सचेत नेतृत्वले यसमा गम्भीर आत्मसमीक्षा गर्नुपर्छ र माथि भनिएका कमजोरीहरूको निर्मम समीक्षा हुनुपर्छ। पार्टीलाई चलायमान गराउने हो भने सबैभन्दा पहिला विशेष महाधिवेशनले सिर्जना गरेको विभाजनको रेखा हटाउनु पर्छ। विशेष महाधिवेशनले एउटा चुनाव हाँक्ने म्यान्डेट पाएको रूपमा दुवै पक्षले बुझेर त्यसको अन्त्य गर्नुपर्छ।
कांग्रेसलाई निश्चित बुँदाहरूमा समझदारी गरी भावनात्मक रूपमा विशेष महाधिवेशनअघिको अवस्थामा पर्याउनु पर्छ। अर्थात् नेताहरूबीच खुला मनले छलफल गर्ने वातावरण बनाउनु पर्छ। वैशाखमा तोकिएको १५ औँ महाधिवेशनलाई कसरी एकताको महाधिवेशनमा रूपान्तरण गर्दै नयाँ चुनौतीहरूलाई चिर्ने र एउटा जिम्मेवार पार्टी बनाउने भन्ने विषयमा नेताहरूले विगतको तिक्तता बिर्सेर छलफल अघि बढाउनु पर्छ।
समयको पदचापको ख्याल गर्दै कांग्रेसका विगतमा देखिएको नीतिगत अस्पष्टतालाई चिर्दै जवाफदेखि पार्टीको रूपमा विकास गर्ने स्पष्ट खाका आगामी महाधिवेशनले बनाउन सक्नु पर्छ। र, यसको कार्यान्वयन कांग्रेस नेतृत्वमा रहेका स्थानीय निकाय र प्रदेश सरकार मार्फत सुरु गर्नु पर्छ।
तर, फेरि पनि विभाजनलाई बढाउने गरी गुटगत पक्ष–विपक्षमा कार्यकर्ता खटाउने हो भने कांग्रेस थप असान्दर्भिक हुँदै जाने छ। चुनावी हारको नैतिक र राजनैतिक चरित्र नेतृत्वले जनता समक्ष देखाउनै पर्छ।
(गोविन्द परियार नेपाली कांग्रेस महासमिति सदस्य हुन्)
Shares

प्रतिक्रिया