पश्चिमा विश्वको राजनीतिक संकटलाई जम्मा एउटा शब्दमा समेट्न सकिन्छ। त्यो शब्द हो– अविश्वास। पश्चिमा मतदाताहरू आफ्नो राज्य व्यवस्थाप्रति निराशा, पूर्वाग्रह र आक्रोश महसुस गर्छन्। तर, यी हरेक भावनाको कारक भने विश्वास टुट्नु नै हो।
त्यसैगरी, अमेरिकाप्रति पनि बाँकी विश्वको भरोसा टुट्दै गएको छ। भलै त्यसबारे खास चिन्ता लिइँदैन। तर, हालै प्यु रिसर्च सेन्टरले सर्वेक्षण गरेकामध्ये अधिकांश मुलुकहरूले अमेरिकालाई भन्दा ज्यादा चीनलाई विश्वास गर्छन्। यो चिन्ताको विषय हुनुपर्ने हो। तैपनि अमेरिका आफू धर्तीकै सर्वप्रिय मुलुक भएजसरी व्यवहार गरिरहेको छ।
डोनाल्ड ट्रम्पको कारणले मात्र अमेरिकाप्रतिको विश्वासमा यति ठूलो पतन भएको होइन। अर्कोतिर अमेरिका मात्रै तल गएको पनि होइन, चीन पनि माथि उक्लिइरहेको छ। अमेरिकाको साखमा आएको यो गिरावट २०२३ मा सुरु भएको हो, जतिबेला जो बाइडेन राष्ट्रपति थिए।
र, त्यसको सुरुवात अक्टोबर ७ मा हमासले गरेको हत्याकाण्डको जवाफमा इजरायलले थालेको भयानक आक्रमणप्रति बाइडेनको समर्थनबाट भएको हो। इजरायलको सैन्यवादले अमेरिकाप्रति दुनियाँको दृष्टिकोणमा के फरक पर्छ भन्ने कुरालाई अमेरिकाको विदेश नीति संस्थापनले वास्ता गर्ने गरेको छैन। यद्यपि, अमेरिकी अलोकप्रियताको प्रमुख स्रोत इजरायल पनि होइन।
मान्छेहरू ठान्छन्, ट्रम्पका मूल्यमान्यतालाई बाँकी विश्वले दुत्कार्छ। त्यसैले ट्रम्पभन्दा अलि गतिलो राष्ट्रपति चुनिएपछि अमेरिकाको साखमा सुधार आउनेछ। तर, यो मन बुझाउने तर्क मात्रै हो। यो तर्कले एउटा मुख्य कुरालाई बेवास्ता गर्छ। सबैकुरा मूल्यमान्यताको आधारमा तय हुँदैन। स्वतन्त्रताको कुरा आउँदा अझै पनि बहुसंख्यक मुलुकहरू चीनलाई भन्दा अमेरिकालाई माथि राख्छन्। तैपनि उनीहरू अमेरिकालाई ज्यादा अविश्वास गर्छन्।
तसर्थ, अविश्वास भनेको अयोग्यताको पर्याय हो।
दुनियाँलाई थाहा छ, ट्रम्पकै अमेरिकामा पनि मान्छेहरू आफ्नो विचार व्यक्त गर्न र आफ्नो धर्म मान्न चीनको तुलनामा कयौँ गुणा ज्यादा स्वतन्त्र छन्। तर, के अमेरिकाको शासन ज्यादा योग्यता–क्षमताका साथ चलाइएको छ त? के चीनभन्दा अमेरिका ज्यादा स्थिर छ? यी दुईमध्ये कुनै पनि प्रश्नको जवाफमा हो भन्न सकिन्न।
इरानविरुद्ध कहिले सुरु हुने र कहिले थामिने ट्रम्पको युद्धलाई नै हेरौँ। यो अमेरिकाको आजसम्मकै सबैभन्दा अलोकप्रिय युद्ध हो। इराक र भियतनाममा जति क्षति अमेरिकाले नबेहोरे पनि इरान युद्ध ज्यादा अलोकप्रिय छ। आफ्ना सबै मित्र र सहयोगीबाट अहिले अमेरिका एक्लिएको छ। पश्चिमा पपुलिस्टहरूले समेत उसको साथ छाडेका छन्। उनीहरू यसलाई अमेरिकाको आजको दिनसम्मको सबैभन्दा लापरबाहीपूर्ण युद्ध मान्छन्। उल्टै त्यो युद्धमा सहभागी नभएकोमा ट्रम्प अन्य मुलुकको बेइज्जती गरिरहेका छन्।
यो तेस्रो खाडी युद्धले ऊर्जाका सम्बन्धमा चीन र अमेरिकाले अपनाएको तरिकाबीचको खाडललाई पनि स्पष्ट पारिदिएको छ। जीवाष्म इन्धनप्रति अमेरिकाको झुकावका विपरीत चीनले नवीकरणीयदेखि कोइलासम्मका सबैखाले ऊर्जामा ठूलो लगानी गरेको छ। अमेरिकाको यो उल्टो बाटोको कारक ट्रम्प हुन्। बाइडेनले हरित ऊर्जामा दिएको छुटलाई समाप्त मात्र पारेनन्, उनले वैकल्पि ऊर्जा परियोजनाबाट पछि हट्न पैसा पनि दिइरहेका छन्। यदि चीनसँग ठूलो तेल भण्डार हुँदैनथ्यो भने गएका केही महिनामा विश्वमा तेलको मूल्य निकै माथि पुग्ने थियो। त्यसैले २०२० को चुनावमा धाँधली गर्न चीनले सघाएको आरोप लगाउनुको सट्टा अमेरिकी उपभोक्तालाई ग्यालेनको ६ डलरका दरले पैसा तिर्नबाट जोगाएकोमा ट्रम्पले चीनलाई धन्यवाद दिँदा हुन्छ।
अमेरिकाको इरान युद्धसँगसँगै ग्लोबल वार्मिङका नजरअन्दाज गर्नै नसकिने संकेतहरू देखिएका छन्, खासगरी उत्तरमा। भारत र इरानजस्ता मुलुकमा त गर्मीमा धेरै मानिसहरूको मृत्यु हुनु सामान्यजस्तै भइसकेको छ। अहिले युरोपमा पनि कीर्तिमानी तापक्रम वृद्धिपछि वातानुकूलन प्रविधि नभएकोमा पछुतो लाग्न थालेको छ। ग्लोबल वार्मिङ सम्भ्रान्तहरूको चिन्ताबाट आम मानिसको जागरुकतामा बदलिँदैछ।
यस मामिलामा पनि अमेरिकाले खलनायकको भूमिका खेल्दैछ र २० औँ शताब्दीको तौरतरिकालाई अँगालिरहेको छ। अर्कोतिर चीनलाई भने ‘ग्लोबल साउथ’मा समाधानकर्ताका रूपमा लिने गरिन्छ। अमेरिका अग्रणी देखिएका प्रविधिका क्षेत्रहरूमा समेत बदनाम छ। उदाहरणका लागि इलोन मस्कको टेस्लालाई लिऊँ। हालै लन्डनमा नाजी जर्मनीको सम्झना गर्दै मस्कको साइबर ट्रकको विरोधमा एउटा विज्ञापन प्रदर्शन गरिएको थियो। जसमा साइबर ट्रकलाई ‘स्वस्तिकार’ भन्दै लेखिएको थियो, ‘मात्र ३ सेकेन्डमा ० देखि १९३९ पुग्छ।’
विश्वास भन्ने कुरा एकछिनमै समाप्त हुन सक्छ। तर, त्यसलाई आर्जन गर्न लामो समय लाग्छ। अझै पनि अमेरिकालाई ज्यादा मन पराउने ६ मुलुकमध्ये चार वटा चीनका छिमेकी हुन्। जापान, दक्षिण कोरिया, भारत र फिलिपिन्स। तर, अमेरिकालाई अविश्वास गर्ने मुलुकहरू क्यानडा र मेक्सिकोजस्ता उसका असुरक्षित महसुस गर्ने छिमेकी मात्र होइनन्। टाढाटाढाका मुलुकमा पनि अमेरिका अलोकप्रिय छ। त्यो पनि चीनको विशाल निर्यातले संसारको सबै कुनामा असर गरिराखेको बेलामा। अलग भनेका दुई मुलुक छन्। पोल्यान्ड, जो रुसको नजिकै छ र इजरायल। अस्ट्रेलिया र बेलायत समेत अमेरिकाभन्दा चीनमा ज्यादा भर गर्छन्।
ट्रम्प हट्दा अवश्य पनि फाइदा हुनेछ। जर्ज डब्ल्यू बुस हटेर बाराक ओबामा राष्ट्रपति बनेपछि अमेरिकाको साख ह्वात्तै बढेको थियो। तैपनि ओबामाले १९९० को दशकमा अमेरिकाको प्रतिष्ठा जति थियो, त्यो फेरि हासिल गर्न सकेनन्। ट्रम्पका उत्तराधिकारीलाई ओबामा युगको साख फर्काउन अझ ज्यादा कठिन हुनेछ।
अमेरिका–चीन प्रतिस्पर्धामा एआईको दबदबा बढ्दै गइरहेको छ। चिनियाँ मोडलहरूको क्षमता प्रायः कम भए पनि ती सस्ता र जोकसैले उपयोग र सुधार गर्नसक्ने खालका छन्। अमेरिकी मोडलहरू महँगा र अरुले परिमार्जन गर्न नसक्ने खालका छन्। पुस्तौँपछि पहिलो पटक अमेरिकी प्रविधिको वर्चस्व कायम हुने सुनिश्चित छैन।
अमेरिकाले अब बाँकी विश्वबाट स्वतः तारिफ पाइरहने आश राख्नु हुँदैन।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया