विचार


विप्रेषण भित्र्याउनेमाथि नै संकटमा अवहेलना

विप्रेषण भित्र्याउनेमाथि नै संकटमा अवहेलना

निष्णु थिङ
बैशाख १, २०७७ सोमबार ७:२७,

मर्मस्पर्शी दुई दृश्य
कोरोना महामारीकै सिलसिलामा दुई तस्बिरले संसारकै ध्यान खिच्यो। एउटा- इटलीका चिकित्सक प्रेमी-प्रेमिका, जो संक्रमितको उपचार गर्दागर्दै आफैं संक्रमणमा परे र एकअर्कालाई अन्तिम अकंमाल गर्दै संसारबाट बिदा भए। र, अर्को- भारतमा मजदुरी गर्ने एक नेपाली धार्चुलाबाट आफ्नै देश प्रवेशको अनुमति नपाएपछि महाकाली नदीमा पौडिँदै आए, तर उनलाई सीमामा प्रहरीले समाते र नांगै (कट्टु मात्र लगाएको) जिल्ला प्रशासन कार्यालयमा लैजाँदै गरेको दृश्य। यी तस्बिर हेर्ने जो कोहीका आँखा सम्भवतः नरसाई रहन सकेनन्।

यतिबेला दैनिक कोरोनाका कारण यो-यो देशमा यति जनाले ज्यान गुमाए भन्ने समाचार आइरहेका छन्। हरेक दिन घण्टा-घण्टाको अद्यावधिक समाचार सुनिरहेरिरहँदा यो पक्तिंकारलाई जस्तै धेरैलाई लाग्दो हो- मानौं, अहिले विश्वयुद्ध चलिरहेको छ। नेपालकै कुरा गर्ने हो भने यस्तै समाचार हामीले माओवादी र राज्यबीच युद्ध हुँदा हरेक दिन सुनेर पढकै हौं। अहिले यो कोरोना महामारीले पनि त्यस्तै युद्धको अनुभूति गराइरहेको छ। अहिलेको यो अवस्था कोरोना र मानवबीचको युद्ध नै हो।

घरको ढोका बन्द
स्वदेशमै रोजगारी दिन नसक्ने नेपाल सरकारले युवाजतिलाई वैदेशिक रोजगारीमा पठाउनु नै समस्याको समाधान ठान्यो। राज्यको त्यही नीतिअन्तर्गत नेपालका युवा विदेशमा बेचिन वा भाडामा दिन थालिएको त झन्डै २ सय वर्ष नै भइसक्यो। सुरुमा तत्कालीन बेलायती भारत सरकारका लागि यहाँका होनहार युवालाई सिपाहीमा भर्ती गराउन अख्तियार गरिएको नीतिलाई नेपालका शासकले निरन्तरता मात्रै दिएनन्, यसैलाई आफ्नो शासन टिकाइराख्ने बलियो अस्त्र पनि बनाए।

राज्यको त्यही नीतिअन्तर्गत अहिले त विश्वमा नेपाली नपुगेका कुनै देश छैनन्। एकाएक कोरोना भाइरसको संक्रमण सुरु भई यो विश्वव्यापी महामारी बनेपछि नेपालीका श्रम गन्तव्य मुलुकमा पनि समस्या सिर्जना भएका छन्। तसर्थ अहिले ती देशका सरकार एवं रोजगारदाताले नेपाली कामदारलाई पनि रोजगारीबाट निकालिरहेका छन् र आफ्ना घर फर्किन भनिरहेका छन्।

केही दिनअगाडि अस्ट्रेलियाले पनि त्यहाँ रहेका नेपाली विद्यार्थीलाई आफ्नो देश फर्किन भनेको कुरा चर्चामा आयो। त्यसैगरी भारतमा पनि लाखौं नेपाली काम गर्छन्। भारतमा त्यहाँको सरकारले लकडाउन गरेपछि त्यहाँ रहेका नेपाली यतिबेला धमाधम आफ्नो देश फर्किन चाहिरहेका छन्। तर उनीहरूलाई आफ्नै देश प्रवेश गर्ने अनुमति नहुँदा यतिबेला नेपाल-भारत सीमामा थुप्रै नेपाली बिचल्लीमा परेका छन्।

भारतका विभिन्न सहरबाट हिँडेरै सीमा नाकासम्म आएका नागरिकलाई आफ्नो देश छिर्न नदिएर रमिते बनिरहेको छ, हाम्रो सरकार। यसै क्रममा मुम्बईबाट रेल चढेको नेपालीको एक समूह दिल्ली आइपुग्दा भारत सरकारले लकडाउन गरेपछि त्यहाँबाट पैदलै नेपालतर्फ आइरहेको दृश्य भारतको एबीपी न्युजले देखाएको थियो। जहाँ एक महिला दूधे बच्चा काखमा च्यापेर हिँडिरेको देखिन्थिन्। उनले खाना खान नपाएले दूध नआएर बच्चा रोइरहेको दृश्य साह्रै कारुणिक थियो।

यसरी आफ्नो मुलुकको सीमासम्म आइपुगेका नागिरकलाई नेपाल सरकारले छिर्न दिइरहेको छैन भने स्थानीय सरकार, गाउँ/समाजले यतिबेला जताततै प्रवेश निषेधको सूचना टाँगिरहेका छन्। रौतहटको पौराइ गाउँमा एकजना भाइलाई निषेध गरेको दृश्य फेसबुकमा देखें। त्यसैगरी प्युठान झिमरुक गाउँपालिकामा स्थानीयले बाहिरबाट आउनेलाई प्रवेश निषेध गरेको पनि थाहा पाएँ।

नेपालको एक अंग्रेजी दैनिकमा अप्रिल २ मा प्रकाशित समाचारअनुसार हुम्लाको खगाल गाउँपालिका-३ नम्बर वडा कार्यालयले बाहिरबाट आउनेलाई २५ हजार जरिवानासमेत गर्ने निर्णय गरेको छ। बीबीसी हिन्दीका अनुसार बिहारको राजधानीभन्दा १ सय ५० किलोमिटर पर पटनामा बबलुको हत्या भएको छ। मुम्बईबाट केही मान्छे आफ्नो गाउँमा आएको सूचना जिल्ला प्रशासन कार्यालयलाई दिएकै कारण उनको हत्या गरिएको खबरमा उल्लेख छ।

सरकारबाटै विभेद
चीनको उहानमा रहेका १ सय ७५ नेपाली विद्यार्थीलाई सरकारले नै उद्धार गरी विमानमार्फत आफ्नो देशमा ल्यायो र खरिपाटीमा १४ दिन क्वारेन्टिनमा राखी आफन्तको जिम्मा लगायो। त्यसैगरी विदेशमा पढ्न बसेका  विद्यार्थीलाई पनि सरकारले नै पैसा पठाउने निर्णय गरेको छ।

तर त्यही सरकार, भारतबाट हिँडेरै आएका नेपालीलाई भने प्रवेशको अनुमति नै दिँदैन। यो, एकै देशका नागिरकलाई गरिएकाे पक्षपात/विभेद हो कि होइन? स्मरण रहोस्, चीनको उहानलगायत विदेशमा पढ्न बसेका विद्यार्थी उच्च/मध्यम वर्गीय परिवारका हुन् भने नेपाल-भारत सीमामा रोकिएका नेपाली निम्न वर्गीय परिवारका हुन्। सरकारी तहबाटै वर्गीय विभेद गरिएको छ।

अर्कातर्फ उनीहरूबीच आधारभूत भिन्नता के हो भने विदेशमा पढ्न बसेका नेपाली देशको धन बाहिर लाने र सीमामा रुवाबासी गरिरहेका नागरिक बाहिरी मुलुकबाट रकम अर्थात् विप्रेषण भित्र्याउनेहरू हुन्। यसरी देशभित्र दाम भित्र्याउने नागरिकलाई सकंट परेका बेला राज्यले अवहेलना गर्नु कुन हदसम्मको विभेद हो?

गुम्दै मानवीय संवेदना
जतिबेला चीन कोरोना महामारीसँग लडिरहेको थियो, त्यतिबेला विश्वका अन्य मुलुक आफ्नै मस्तीमा रमिरहेका थिए। त्यहाँ के भइरहेको छ, मतलबै थिएन। यसरी बेवास्ता मात्रै गरिएन, कोरोनालाई कतिपय शक्ति राष्ट्रले चीनविरुद्ध आक्रमण गर्ने अस्त्र बनाउन खोजे। अमेरिका र बेलायतले गर्न सक्ने जति चीनको बदनाम गरेकै हुन्। चिनियाँ अनुहारका मानिसलाई अमेरिका, बेलायतलगायत विभिन्न देशमा दुर्व्यवहार मात्रै गरिएन, भौतिक आक्रमणै भए।

त्यसको सिको नेपालमा पनि गरेको देखियो। यहाँको मूलधारको एक अंग्रेजी दैनिकले चीनका सर्वोच्च नेता माओत्सेतुङको बदनाम हुने खालको तस्बिरसहित प्रमुख समाचार छाप्यो। यसरी विश्व महाशक्तिले नै देखाएको संवेदनाहीन प्रवृत्ति विभिन्न राष्ट्र-राज्यमा पनि संस्थागत हुँदै गयो।

र, जुन गतिमा कोरोना भाइरस विश्वभर फैलिरहेको छ, त्यही गतिमा मानवीय संवेदना गुमाउने क्रम पनि तीव्र बनिरहेको छ। अहिले विश्वका सरकार, राज्य, समाज विस्तारै संवेदनाहीन बन्दै गइरहेका छन्। यस्तो अवस्थामा कोरोनाको प्रभाव हामीले कल्पना नगरेको हदसम्म जाने निश्चित छ।

अहिले निजी अस्पतालले सर्वसाधारण बिरामी भर्ना लिनै नमानेका घटना सुनिन थालिएका छन्। कोरोना संक्रमित बिरामी देखिन थाल्नेबित्तिकै हाम्रा राज्य, सरकार, सेवा प्रदायक संस्था तथा सिंगो समाजले नै मानवीय संवेदना गुमाउँदै गएको देखिन्छ। कोरोना महामारी कहिले र कुन हदसम्म जान्छ र मानव जातिले कति मूल्य चुकाउनु पर्ने हो, अहिल्यै भन्न गाह्रो छ। 

कुनै पनि राष्ट्र-राज्य र समाजले संकटका बेला आफ्ना नागरिकको घर फर्किने मौलिक अधिकार कुण्ठित गर्न हुँदैन/मिल्दैन। बरु तिनको व्यवस्थापन कसरी गर्ने? महामारीविरुद्धको लडाइँमा कसरी सबै एक हुन सकिन्छ? त्यसको विस्तृत खाका बनाई त्यसको कार्यान्वयनका लागि चुस्तदुरुस्त संयन्त्र बनाउनुपर्छ।

नेपालको सविंधानले कुनै नागरिकलाई देश निकाला गर्न नपाउने व्यवस्था गरेको छ। जस्तोसुकै अपराध गरे पनि आफ्नो देशमा रहन पाउने हक सुनिश्चित गरेको छ। विश्वव्यापी महामारीका कारण आफ्नो देश नफर्की नहुने बाध्यता कारण त्यसरी नेपाली सीमामा लाम लागेका हुन्।

नेपालको अर्थतन्त्रमा एकतिहाइ योगदान गर्ने प्रवासी नागरिकलाई विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिम सुरक्षित र पुनःस्थापना गर्नुपर्ने बेला राज्यको जिम्मेवार तहमा रहेका स्वास्थ्यमन्त्री र उपप्रधानमन्त्री तथा ओम्नी समूहलाई भ्रष्टाचारको आरोप लाग्नु र सम्झौतै रद्द गर्नुपर्ने स्थिति सिर्जना भएकाप्रति जति खेद प्रकट गरे पनि कम नै हुन्छ।

उसो त यस्ता संकट हाम्रा नेता, मन्त्री, प्रशासक तथा उनीहरूका आसेपासेलाई दसैं आएजस्तो हुने कुरा २०७२ को भूकम्पका बेला अर्थमन्त्री आफैं जस्तापाता काण्डमा मुछिएदेखि नै छर्लंग भएको हो। युद्धस्तरमा काम गर्नुपर्ने यो बेला सरकार भ्रष्टाचारमा मुछिनुले पुनः प्रस्ट पारेको छ- सरकार नागरिकको जीवनप्रति कति गैरजिम्मेवार छ! अहिलेको अवस्था सामान्य होइन, एउटा युद्धकै स्थिति हो। युद्धमा पलपलको महत्व हुन्छ। एकछिन मात्रै ढिला गरियो भने युद्ध हार्ने निश्चित हुन्छ।

यतिबेला काेराेनासँगकाे युद्ध जित्न जे-जे गर्न सकिन्छ, त्यही गर्नुपर्छ। सरकार सेनापति हो भने नागरिक सेना हुन्। सेनापति सुयोग्य नहुँदा युद्ध हारेका थुप्रै इतिहास छन्। त्यसको ज्वलन्त उदाहरण नेपाल-अंग्रेंज युद्ध (१८१४-१६) हो, जसमा मुख्तियार भीमसेन थापाको अयोग्यताका कारण नेपालले पराजय भोग्नुपरेको थियो। फलस्वरूप नेपालले एकतिहाइ भूभागै गुमाउनुपर्‍याे। 

कोरोनाविरुद्धको युद्धमा पनि सरकारको हविगत भीमसेन थापाकै जस्तो भयो भने थाहा छैन, नेपालले कति नागरिक गुमाउनुपर्ने हो! कामना गरौं- हामीले त्यस्तो दुरवस्था भोग्न नपरोस्। युद्धका बेला जुन राज्य/समाजले मानवीय संवेदनाको ख्याल गर्न सक्दैनन्, तिनले अवश्य पनि अपूरणीय क्षति बेहोर्नुपर्ने हुन्छ। तसर्थ मानवीय संवेदना नगुमाईकन नागरिक, सरकार तथा समाज सबै मिलेर कोरोना भाइरसविरुद्धको युद्ध लडौं, अवश्य जित्नेछौं। 

(निष्णु थिङ काठमाडौंस्थित थिंक ट्यांक संस्था कर्तव्य फाउन्डेसनका अध्यक्ष हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad