विचार


यी हुन् कोरोना भए पनि नतिजामा नदेखिने अवस्था

यी हुन् कोरोना भए पनि नतिजामा नदेखिने अवस्था

डा. सुरज भट्टराई
चैत २१, २०७६ शुक्रबार ६:७,

रूपन्देहीस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना गरिएका युवकको गत हप्ता मृत्यु भयो। त्यसअघि परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब पठाइएको थियो र उनको मृत्यु भइसकेपछि नतिजा (रिपोर्ट) आयो, जसमा कोरोना भाइरस नगेटिभ अर्थात् नरहेको देखाइयो।

तर बुटवल कोरोना अस्पतालमा फोकल पर्सनका रूपमा कार्यरत चिकित्सकले रिपोर्ट नेगेटिभ आए पनि बिरामीमा जुन जटिल लक्षण देखिएका थिए, त्यसआधारमा उनलाई कोरोना भाइरसको संक्रमण थिएन भनेर निश्चित गर्न नसकिने बताएका छन्। अर्थात् उनले कोरोना परीक्षण प्रणालीलाई नै चुनौती दिएका छन्। यसबाट प्रश्न उठेको छ- कोरोना पत्ता लगाउन गरिने पीसीआर परीक्षण पनि गल्ती हुन सक्छ?

गत फेब्रुअरीमा चीनको हुबेई प्रान्तको एक अस्पतालमा गरिएको एक अध्ययनले पनि यस्ता केही घटना देखाएकाे छ। चिकित्सकले संक्रमित भनेर भर्ना गरेका ६ सय १० बिरामीमध्ये ३ सय ८२ जनाको पहिलो पीसीआर रिपोर्ट कोरोना नेगेटिभ आएका थिए। दोस्रोपटक परीक्षण गर्दा तीमध्ये १२ प्रतिशत बिरामीमा कोरोना भाइरस पोजेटिभ अर्थात् संक्रमण देखियो।

चौथो पटकसम्म परीक्षण गरेपछि मात्रै सबै ३ सय ८२ जनाकै रिपोर्ट पोजेटिभ आयो। त्यसैले एकपटक मात्रै परीक्षण गर्दा कोरोना छ/छैन, पत्ता नलाग्न सक्छ। पटकपटक परीक्षण गर्नुपर्ने हु्न्छ। भाइरसको संक्रमण रहेको तर परीक्षण गर्दा नदेखिने यो अवस्थालाई ‘फल्स नेगेटिभ’ भन्ने गरिन्छ।

चीनका चिकित्सकले कुनै बिरामी कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित छ कि छैन भनेर पत्ता लगाउन सबैभन्दा पहिले छातीको सीटी–स्क्यान गरेका थिए। सार्वजनिक घटना हेर्ने हो भने संक्रमितमध्ये ९६ प्रतिशत बिरामीको सीटी-स्क्यानमा निमोनिया भएको देखिन्छ।

यसले चिकित्सक/स्वास्थ्यकर्मीलाई पनि त्यस्ता बिरामीको उपचार गर्दा आफू सुरक्षित हुन थप सतर्कता अपनाउन पनि आधार दिन्छ। तर हाम्रा अस्पतालमा त्यसरी सीटी-स्क्यान गर्ने सुविधा छैन। भाइरसबाट संक्रमित हो/होइन भनेर निश्चित गर्न हामीले प्रयोग गरिरहेको पद्धतिमार्फत ल्याबको रिपोर्ट आउन समय लाग्छ। तसर्थ पटकपटक परीक्षण आवश्यक परेको हो।

किन आउँछ ‘फल्स नेगेटिभ’?
नमुना संकलन पद्धति, संक्रमण अवस्थाअनुरूप नमुनाको प्रकार र ल्याब परीक्षण प्रक्रियामध्ये कुनै एकमा त्रुटिका कारण रिपोर्ट फल्स नेगेटिभ अर्थात् भाइरस नरहेको आउने गर्छ। यस लेखमा यी तीनवटै पक्ष केलाउन प्रयास गरिएको छ।

१. नमुना संकलन
नमुना संकलन राम्रोसँग हुन नसक्दा स्वाबमा भाइरस देखिँदै नदेखिने वा आवश्यक मात्रामा नआउने हुन सक्छ। यस्तो हुँदा पनि संक्रमित व्यक्तिको रिपोर्ट नेगेटिभ देखिन सक्छ। विश्वभर नै नाक वा मुखको भित्री भागबाट स्वाब (तरल पदार्थ) संकलन गरिन्छ।  तसर्थ संकलक व्यक्तिले के कुरामा ध्यान दिनुपर्छ भने नमुना संकलन गर्दा सम्बन्धित व्यक्तिको नाक वा मुख भित्रको सही स्थानसम्म स्वाब निकाल्ने औजार पुग्यो कि पुगेन?

एउटा मसिनो काठ वा प्लास्टिकको टुप्पोमा कपास भएको औजारले स्वाब निकालिन्छ। तर काठको औजारले निकाल्दा नमुनामा भाइरस भएको खण्डमा त्यसको आरएनए निष्क्रिय हुने गरेको केही अनुसन्धानले देखाएका छन्। त्यसैले प्लास्टिकको स्वाब-औजार प्रयोग गर्नु विज्ञान-सम्मत हुन्छ। उचित पद्धति प्रयोग नगरी नाकबाट सिंगान र मुखबाट र्‍याल निकालेर मात्र काम लाग्दैन।

तसर्थ नमुना निकाल्ने व्यक्तिले यस पक्षमा बढी नै ध्यान दिन जरुरी छ। साथै त्यो नमुना (स्वाब) को भण्डारण, चिस्यान वा ओसारपसार गर्दा पनि ध्यान दिन आवश्यक छ। कहीं पनि त्रुटि भयो भने भाइरसको आरएनए छ्यालब्याल वा क्षतविक्षत (आरएनए डिग्रिडेसन) हुन सक्छ र परीक्षणको परिणाम नेगेटिभ आउन सक्छ।

२. संक्रमणको अवस्था र नमुनाको प्रकार
संक्रमित व्यक्ति रोगको कुन अवस्थामा रहेका बेला नमुना संकलन गरिएको हो भन्ने कुराले पनि परीक्षण परिणाम (रिपोर्ट) मा फरक पार्छ। कुनै व्यक्ति प्रारम्भिक चरणको संक्रमणमा छ भने पीसीआर परीक्षण ‘फल्स नेगेटिभ’ आउन सक्छ। त्यस्तै शरीरको कुन स्थानबाट नमुना निकालियो भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ।

लक्षण नदेखिएका वा कम सिकिस्त बिरामीको हकमा नाक वा मुखको भित्री भागबाट निकालिएको नमुनाले ६० देखि ७० प्रतिशतसम्म सही नजिता दिन सक्छ। धेरै सिकिस्त बिरामीको हकमा श्वासनली वा फोक्सोबाट संकलन गरिएको नमुना (तरल पदार्थ) ले ९० देखि ९५ प्रतिशतसम्म सही परिणाम (रिपोर्ट) दिन सक्छ। जसलाई परीक्षणको क्लिनिकल सेन्सिटिभिटी भनिन्छ।

सबै बिरामीको फोक्सो वा श्वासनलीबाट नमुना निकाल्न सम्भव हुँदैन, आईसीयूमा भर्ना भएकाको मात्र यसो गर्न सम्भव हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएअचो) ले नाक र मुख, श्वासनली र फोक्सोबाट निकालिएको स्वाब र खकार गरी ३ प्रकारका नमुना कोरोना परीक्षणका लागि उपयुक्त हुने बताएको छ। तर खकारको परीक्षण कति ठीक भन्ने विषयमा खासै अनुसन्धान भएको छैन।

३. ल्याबको प्रक्रिया
संकलन गरिएको नमुना आधिकारिक ल्याबमा ल्याएपछि त्यसलाई २ चरणमा परीक्षण गरिन्छ। पहिलो चरणमा नमुनामा भएको आरएनए छुट्याइन्छ, त्यसलाई आरएनए एक्सट्राक्सन भनिन्छ। दोस्रो चरणमा आरएनएको आनुवांशिक तत्व (जेनेटिक कम्पोनेन्ट) मा वृद्धि (एमफ्लिपिकेसन) गरिन्छ, त्यसलाई पीसीआर भनिन्छ।

त्यसरी धेरै संख्यामा वृद्धि गरिएको आनुवांशिक तत्व कोभिड-१९-विशेष प्राइमरसँग जुधाइन्छ। संक्रमणको शंका गरिएका व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुवांशिक तत्व छैन भने कुनै प्रतिक्रिया आउँदैन र नतिजा नेगेटिभ आउँछ।

तर संक्रमित व्यक्तिको नमुनामा कोरोना भाइरसको आनुवांशिक तत्व छ भने त्यो प्राइमरको तत्वसँग मेल खान्छ र एउटा रंगिन चित्र (फ्लोरेसेन्स) देखिन्छ। जसले नै परिणाम पोजेटिभ भएको पुष्टि गर्छ। १ एमएल नमुना लिटरको हजार भाग मा भाइरसको संख्या ५ सयभन्दा कम भयो भने पनि संक्रमित व्यक्तिको पीसीआर परीक्षण नेगेटिभ आउन सक्छ, यो नै यस पद्धतिको प्राविधिक त्रुटि हो।

यसैले संक्रमणबारे गरिने परीक्षणका तीनवटै चरण राम्रोसँग हुन जरुरी छ। अन्यथा परिणाम सही आउन सक्दैन। त्यसैले कोरोना संक्रमित आशंका गरिएका बिरामीको नमुना एकपटक परीक्षण गर्दा पीसीआर नेगेटिभ देखायो भन्दैमा घर पठाउन मिल्दैन।

अहिले कोरोना भाइरस परीक्षणमा प्रयोग गरिने रिएजेन्टको विश्वभर अभाव छ। थोरै मात्रै कम्पनीले यसको उत्पादन गरिरहेका छन्। त्यसको विकल्पमा अन्य प्रकारको पीसीआर पद्धति आएका छन्। तर ती सबैले मान्यता पाएका छैनन्। थोरैले मात्रै पाएका छन्।

रिएजेन्ट बचत गर्न एउटा विकल्प मल्टिप्लेक्स पीसीआर पद्धति पनि हुन सक्छ। त्यसले कोभिड-१९ मात्रै नभएर अन्य भाइरसको पनि एकैपटक परीक्षण गर्छ। जसले कोभिड-१९सँगै अन्य किसिमका कोरोना, सार्स, मर्स, इन्फ्लुएन्जा, रेस्पिरेटोरी सिनसाइटिएल भाइरस (आरएसभी) र अन्य भाइरसको एकैपटक परीक्षण गर्न सक्छ। चीनमा कोरोना महामारीबीचमै हान्ता भन्ने भाइरसले मानिसको मृत्यु भएको छ।

कोरोना जाँचका लागि विभिन्न नयाँ किटको उत्पादन पनि गरिएको छ, विशेषगरी द्रुत (र्‍यापिड) नतिजा दिने खालका। दक्षिण कोरियाले महामारी सुरु हुनेबित्तिकै निजी क्षेत्रका उत्पादकलाई बोलाएर र्‍यापिड किट उत्पादन गर्न लगायो। त्यहाँको सरकारले कडा रूपमा नियमन गर्‍यो। अब अमेरिकाले पनि त्यसै गर्ने सम्भावना छ।

र्‍यापिड डाइग्नोस्टिक किट
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य सेवा विभागका महानिर्देशकले र्‍यापिड डाइगोनिस्ट किट (आरडीटी) ले काम गर्छ कि गर्दैन भन्ने प्रश्नमा देशमा महामारी भइहालेको खण्डमा प्रयोग गर्न त्यस्तो किट ल्याएको र त्यसको गुणस्तरका विषयमा जाँच गरिने जानकारी दिएका छन्। उक्त किटको सेन्सिटिभिटी र स्पेसिफिसिटीलाई ध्यान दिइने उनको भनाइ छ।

सय जना संक्रमितको स्वाब परीक्षण गर्दा त्यस किटले कति जनालाई भाइरस पोजेटिभ देखायो, त्यो प्रतिशतलाई सेन्सेटिभिटी भनिन्छ। त्यसैगरी संक्रमण नभएका सय व्यक्तिको नमुना जाँच्दा कति जनालाई किटले नेगेटिभ नै देखायो, त्यो प्रतिशतलाई स्पेसिफिसिटी भनिन्छ। किट नमुना परीक्षणका लागि उपयुक्त साबित हुन उल्लिखित दुवैको अंक ७० देखि ९० प्रतिशतसम्म वा यसभन्दा बढी हुनुपर्ने हुन्छ। यसबारे विस्तृत जानकारी प्राय: किटमै उल्लेख हुन्छ।

अहिले कोरोना भाइरस परीक्षणको द्रुत नतिजा दिने भनेर आएको किट पनि पीसीआरकै सानो रूप हो। विकसित देशमा १५ मिनेट वा कम समयभित्रै नतिजा प्राप्त गर्न सकिने खालका किट प्रशस्त मात्रामा उत्पादन भइरहेको अवस्था छ। तर डब्ल्यूएचओले त्यस्ता किट उत्पादक केही कम्पनीलाई मात्र मान्यता दिएको छ।

संक्रमण शंका गरिएका व्यक्तिको नाक वा मुखको भित्री भागको तरल पदार्थ र विशेष प्रकारको रसायन मिश्रण गरेर किटमा हालिन्छ र संक्रमण भए/नभएको छु्ट्याउने काम गरिन्छ। तर कोभिड-१९ परीक्षणका सन्दर्भमा आवश्यक अनुसन्धान र तथ्य अभावमा र्‍यापिड डाइगोनिस्ट किटलाई भरपर्दो मानिँदैन।

कोरोना परीक्षण गर्ने अन्य विधि पनि छन्, जस्तैः एन्टिबडी र एन्टिजिन परीक्षण। यी दुवै परीक्षणका लागि संक्रमित व्यक्तिको रगत आवश्यक पर्छ। पीसीआरले शरीरमा तत्काल भएको भाइरस संक्रमण देखाउँछ भने एन्टिबडीले पुरानो संक्रमण र त्यसविरुद्ध शरीरले गरेको प्रतिरक्षात्मक अवस्था जनाउँछ। तर एन्टिजिनबारे अनुसन्धान जारी नै छ।

मृत्युपछि पनि रोगबारे परीक्षण हुन सक्छ?
कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षण देखिएका बिरामीको मृत्यु हुँदा उनको राम्रोसँग परीक्षण गरियो/गरिएन भनेर पनि प्रश्न उठेको छ। मृत्युको कारण पत्ता लगाउन पनि पीसीआर परीक्षण महत्वपूर्ण हुन्छ। मृतकको शरीरबाट के कस्तो नमुना लिइयो वा दोहो/तेहेर्‍याएर  परीक्षण गरियो/गरिएन भन्ने प्रश्न पनि उत्तिकै गहन हुन्छ।

स्क्रिनिङ गर्दाको जस्तै अन्य अंगको नमुना लिइयो वा लिइएन भन्ने विषय पनि महत्वपूर्ण हुन्छ। मृत्यु भएका व्यक्तिमा भाइरस संक्रमण रहेको पत्ता लगाउन सकिएन भने वा रिपोर्ट ‘फल्स नोगेटिभ’ आएको रहेछ भने त्यसले परिवार र साथीभाइलाई जोखिममा पार्ने सम्भावना बढी हुन्छ। तसर्थ एकपल्टको परीक्षण रिपोर्ट नेगेटिभ आयो भन्दैमा ढुक्क भएर बस्न मिल्दैन। पोस्टमार्टममार्फत अन्य अंगको नमुनासमेत लिएर परीक्षण गर्नुपर्ने हुन्छ।

कोभिड-१९ को सन्दर्भमा मृतकको नाक वा मुखभित्रको नमुना मात्रै होइन, पोस्टमार्टममार्फत फोक्सोको तन्तुसमेत संकलन गरेर पीसीआर परीक्षण गराउन सकिन्छ। विकसित देशमा त मृत्युको कारण पत्ता लगाउन छातीको सीटी-स्क्यान पनि गर्ने गरिन्छ। तर ती प्रक्रियामा पारिवारिक, सामाजिक, धार्मिक, आर्थिक र अन्य जटिलता देखिन आउने गरेका छन्। यस्तो अवस्थामा मृतकको शरीर पूरै चिरफार नगरी फोक्सोको नमुना मात्रै लिने गरी बायोस्पी गर्न सकिन्छ। न्यून क्षतिबाट बायोस्पी नमुना संकलन गर्ने यो पद्धति नेपालमै गण्डकी प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा अनुसन्धान क्रममा छ।

(बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनबाट विश्व स्वास्थ्य र संक्रामक रोग विषयमा स्नातकोत्तर गरेका डा. सुरज भट्टराई नेपालस्थित अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज जीआईएसएसमा आबद्ध छन्। उनी गण्डकी प्रदेशमा एमआईटीएस टोली नेतृत्वकर्ता हुन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad