विचार


पश्चिम एसियाका दुई ‘दादा’

पश्चिम एसियाका दुई ‘दादा’

इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान


गिडियन राकमन
पुस २७, २०८१ शनिबार २१:११,

‘नेतामध्ये केवल हामी दुईजना बाँकी छौँ अहिले। म र भ्लादिमिर पुटिन।’ गतसाता टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले गरेको निर्लज्ज टिप्पणी थियो यो।

उनको यो विश्वसूचीमा सी चिनफिङ र डोनाल्ड ट्रम्पले विवाद झिक्न सक्छन्। तर, क्षेत्रीय तहमा कुरा गर्ने हो भने एर्दोगानले पश्चिम एसियाको बान्की बदलिरहेका दुई बाहुबली नेतामध्ये एक आफू भएको दाबी गर्न सक्छन्। अर्का हुन्, उनले घृणा गर्ने प्रतिद्वन्द्वी इजरायलका बेन्यामिन नेतन्याहु।

एर्दोगानको यो अहंकार सिरियामा उनको भूमिकाको उपज हो। बसर अल असदको शासन पल्टाउने इस्लामिक समूह हायात तहरिर अल सामलाई पूर्ण रूपमा सहयोग गर्ने एक मात्र क्षेत्रीय शक्ति टर्की नै थियो। एचटीएसले सत्तामा कब्जा गरेलगत्तै टर्कीको गुप्तचर सेवाका प्रमुख इब्राहिम कलिनले दमास्कस भ्रमण गरेका थिए।

एर्दोगानले लामो समयदेखि पुरानो अटोमन साम्राज्यभर टर्कीको शक्ति पुनर्निर्माण गर्ने आकांक्षा राख्दै आएका छन्। असदको सत्ता पल्टाउँदा एर्दोगानका लागि क्षेत्रीय प्रभाव विस्तारको अर्को बाटो खुल्छ। त्यसको घरेलु फाइदा पनि छ। सिरियामा कुर्दहरू कमजोर हुन्छन्, टर्कीको शरणार्थी समस्या अलि सहज हुन्छ र २०२८ पछि पनि राष्ट्रपति पदमा रहने उनको कोसिसलाई मद्दत गर्छ।

एचटीएस र मुस्लिम ब्रदरहुडजस्ता इस्लामिक समूहहरूसँगको टर्कीको गठबन्धनलाई इजरायल र खाडीका अनुदार अधिराज्यहरूले गम्भीर खतरा मान्ने गर्छन्। असदको सत्ता ढलेलगत्तै इजरायलले वायु र नौसैनिक शक्तिमाथि बमबारी गरेर सिरियाको सैन्य क्षमता विनास गर्‍यो र १९६७ मा कब्जा गरेको गोलान हाइट्सभन्दा परको भूमि पनि कब्जा गर्‍यो।

आफ्नो सो चाललाई इजरायली सरकारले होसियारी र रक्षात्मक कदम दाबी गर्‍यो। तर, एर्दोगानले जस्तै नेतन्याहुले पनि मौका छोपेका हुन्। गतसाता नेतन्याहुले भने, ‘निकै ठूलो कुरा भएको छ यहाँ। साइक्स–पिकेट सम्झौतापछि सय वर्षमा नभएको भूकम्प गएको छ।’

१९१६ मा बेलायत र फ्रान्सबीच अटोमन साम्राज्य विभाजन गर्ने सम्झौता भएको थियो। पश्चिम एसियामा उथलपुथल भइरहेका बेला ग्रेटर इजरायलको पक्षपातीहरूले फेरि सीमा विस्तार गर्ने मौका देखेका छन्। हारेत्जका अलुफ बेन लेख्छन्, ‘५० वर्षको फिर्तीपछि इजरायलको सीमा फैलाउने नेताका रूपमा नेतन्याहूले आफ्नो विरासत कायम गर्न खोजेको देखिन्छ।’

नेतन्याहुको सरकारमा सेटलर्स अभियानको पर्याप्त प्रतिनिधित्व छ। उनीहरू गाजा पुनः कब्जा गर्न जोड दिइरहेका छन्। ट्रम्प प्रशासनले अधीनस्थ वेस्ट ब्यांकको औपचारिक रूपमै टुक्र्याउने अनुमति दिन सक्छ। र, सिरियाली भूमिमाथि इजरायलको ‘अस्थायी’ कब्जा स्थायी बन्न सक्छ।

पछि गएर नेतन्याहुले इरानसँग अन्तिम हिसाबकिताब गर्ने मौका पाउने छन्। दशकौँपछि इरान सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ। स्वदेशमै इरानी सत्ताले विरोध खेपिरहेको छ भने सिरियामा असदको पतनले थप अस्थिर हुने छ। तेहरानले हमास, हिजबुल्लाह र अहिले असदसहित आफ्ना सहयोगीहरू भटाभट नष्ट भएको देखेको छ।

आफ्ना प्रोक्सीहरूले बेहोरेको नोक्सानको जवाफमा इरानले आणविक हतियार प्राप्तिको प्रयासलाई तीव्रता दिन सक्छ। तर, त्यसले इजरायली आक्रमणलाई निम्त्याउन सक्छ। बाइडेन प्रशासनको चेतावनीका बाबजुद लेबनानमा हिजबुल्लाहविरुद्धको सफल आक्रमणपछि इजरायलीहरू आश्वस्त र उग्र मुडमा छन्।

गएको वर्ष इजरायलले एकैपटक अनेकौँ मोर्चामा लड्न सक्ने क्षमता देखायो। गाजा, वेस्ट ब्यांक, लेबनान, यमन, इरान र सिरियासमेत। अहिलेसम्मका लागि यो क्षेत्रमा इजरायल एक मात्र आणविक शक्ति हो र अमेरिकाको पूर्ण समर्थन उसैलाई प्राप्त छ।

अक्टोबर ७ मा हमासको प्रलयकारी आक्रमणपछि इतिहासमा सफल नेताको रूपमा दरिने नेतन्याहुको सम्भावना क्षीण देखिन्थ्यो। स्वदेश र विदेश दुवैतिर अत्यन्त विवादास्पद उनीमाथि अहिले पनि भ्रष्टाचारको आरोपमा छानबिन चलिरहेको छ। 

एर्दोगानजस्तै नेतन्याहु निर्दयी तरिकाले राजनीतिक रूपमा जीवित रहन खप्पिस छन्। दुवैले पहिलोपटक दशकौँअघि शासन सम्हालेका थिए। र, दुवै आफूलाई महान् ठान्छन्। 

तर, क्षेत्रीय प्रभुत्व कायम गर्ने उनीहरूको सपना उस्तै कमजोरीले ग्रस्त छ। इजरायल र टर्की अरब बहुल क्षेत्रका गैरअरब शक्ति हुन्। अरब विश्वमा अटोमन साम्राज्य ब्युँताउने कुनै चाहना छैन। इजरायल त अझ पश्चिम एसियामै उपरिया शक्तिका रूपमा कायम छ, जोप्रति अरु त्रस्त हुन्छन््, अविश्वास र घृणासमेत गर्छन्। 

क्षेत्रीय प्रभुत्वको वास्तविक आकांक्षा राख्नलाई टर्की र इजरायल ज्यादै कमजोर आर्थिक शक्ति हुन्। टर्कीको अर्थतन्त्र मुद्रास्फितिका कारण कमजोर भएको छ। प्रविधि र सैन्य शक्ति जति भए पनि इजरायल एक करोडभन्दा कम जनसंख्या भएको सानो मुलुक हो।

एर्दोगान र नेतन्याहूको प्रतिद्वन्द्वी महत्वाकांक्षाबीच सिरियामा झडप हुन सक्छ। सिरिया क्षेत्रीय शक्तिहरूको लडाइँको मैदान पनि बन्न सक्छ किनकि साउदी अरब र अन्य खाडी मुलुकको पनि त्यहाँ दाउ छ।

अघिल्लो साता तुर्कहरू दमास्कसको पतनलाई लिएर खुसी भनाइरहेका थिए भने इजरायलीहरू सिरियाली सेनालाई ध्वस्त पारिरहेका थिए। यही समयमा साउदी अरबले भने एउटा शान्तिपूर्ण उपलब्धिको खुसी मनाइरहेको थियो– ऊ २०३४ को विश्वकपको आयोजक बन्न सफल भयो।

साउदी र अन्य खाडी राष्ट्रले सायद इजरायलको सीमा विस्तारको आकांक्षाभन्दा टर्कीको इस्लामिक गठबन्धनबाट ज्यादा प्रत्यक्ष खतरा महसुस गर्छन्। तर, रियादलाई थाहा छ, गाजामा इजरायलको हमलाले अरब विश्वलाई क्रुद्ध तुल्याएको छ। त्यसैले एर्दोगानलाई रोक्न नेतन्याहुको नजिक बन्नु विवादास्पद हुनेछ। खासगरी इजरायलीहरूले दुई राज्य स्थापना गरी समस्या समाधान गर्ने सम्भावना नष्ट गरिरहँदा।

इजरायल र टर्कीसँग शक्तिशाली सेना छन्। तर, साउदी, कतार र यूएईसँग वित्तीय शक्ति छ। त्यसैले रियादले जे निर्णय लिन्छ, त्यसले एर्दोगान र नेतन्याहुका गतिविधिले भन्दा पश्चिम एसियालाई ज्यादा प्रभावित तुल्याउँछ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad