ad ad

विचार


ओलीको ज्योतिषविद्यामा चुक, ‘१७ असार’पछि पनि गठबन्धन टुट्ने सम्भावना कम

ओलीको ज्योतिषविद्यामा चुक, ‘१७ असार’पछि पनि गठबन्धन टुट्ने सम्भावना कम

सीताराम बराल
असार ११, २०७९ शनिबार १७:३, काठमाडौँ

चर्चित गायक रामकृष्ण ढकालको स्वर रहेको, गाउँघरमा प्रचलित एउटा उखानलाई टपक्क टिपेर बनाइएको एउटा गीत छ, ‘हिरा काट्ने हिरैमा राखेर, दुःख काट्ने दुखैमा हाँसेर...।’

यति भाका टिपेपछि गायक ढकाल अझ विरह लाग्ने गरी गाउँदै जान्छन्, ‘भन्न सजिलो, धेरै सजिलो। कसले पो बुझ्छ र मनको पहिरो!’ 

हिरा काट्न हिरा नै चाहिएजस्तै ज्योतिषीको भविष्यवाणीमा अत्यधिक विश्वास गर्ने प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्योतिषविद्याकै डर देखाउनु पर्यो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लाग्यो होला सायद। त्यसैले, चुनाव प्रचारका दौरान विराटनगर पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ वैशाखमा भने, ‘शेरबहादुरजी असाध्यै ज्योतिषीमा विश्वास गर्नुहुन्छ। त्यसो भए आफ्नो ज्योतिषीलाई बोलाएर सोध्नुस्– जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ?’ 

विराटनगर पुगेर यस्तो भन्नुभन्दा दुई दिनअघि पत्रकार विजयकुमारलाई दिएको अन्तर्वार्तामा पनि अध्यक्ष ओलीले गठबन्धनलाई ‘ग्रहदशा लागेको’ दाबी गरेका थिए। 

अध्यक्ष ओलीको उपरोक्त भनाइको आसय थियो, ‘स्थानीय तह निर्वाचन (२०७९) को परिणाम सत्ता गठबन्धनका लागि प्रतिकूल हुन्छ र मतपरिणाम सार्वजनिक हुन थालेसँगै सत्ता गठबन्धनमा संकट सिर्जना हुन्छ। र, अन्ततः टुट्नेतिर नै जान्छ।’ 

त्यसैले आफूले देउवालाई ‘असार १७ का दिन कस्ता ग्रह, दशा, नक्षत्रहरु कहाँ–कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् कस्तो छ’ भनेको दाबी पनि ओलीले गरेका थिए। 

‘देउवाका लागि जेठ महिना त्यति राम्रो नरहेको’ ओलीको दाबीका विपरीत देउवा नेतृत्वको सत्ता गठबन्धनले सहज रुपमा जेठ महिना पार गर्यो। समयले नेटो काट्दै–काट्दै दोस्रो हप्ता पनि पार गरेको छ। र, ओलीले तोकेको १७ असार आउन अब एक हप्ता मात्र बाँकी छ। 

ओलीको दाबीका आधार 
सबैभन्दा पहिले ओलीले केका आधारमा देउवामाथि संकट सिर्जना हुने तिथि भन्दै १७ असारको मिति तोके, त्यसबारे छलफल गरौँ। 

ओली धर्म–कर्म, ज्योतिषविद्यामा विश्वास गर्ने आध्यात्मिक पात्र होइनन्। तर, राजनीतिक स्वार्थका लागि राजनीतिमा उनले धर्म र अध्यात्मको प्रयोग गर्दै आएका छन्। यसको उदाहरण रामायणका प्रमुख पात्र ‘भगवान राम’ माडीको अयोध्यापुरीमा जन्मेका हुन् भन्ने उनको दाबी हो।  

खासमा रामायण पौराणिक कथा मात्र हो। तर, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा पर्ने भएकाले उनले रामको जन्मभूमि माडीको अयोध्यापुरी हो भनिदिए। 

ओली राजनीतिक स्वार्थका लागि अध्यात्म र धर्मलाई कसरी प्रयोग गर्छन् भन्ने कुराको यो त सानो उदाहरण मात्र हो।    ओलीले अध्यात्म र धर्मलाई कसरी प्रयोग गर्न सक्छन् भन्नेबारे एउटा रमाइलो किस्सा उनको गृहनगर दमक (झापा) का राजनीतिक–सामाजिक अगुवाहरुबीच चर्चित छ।  

घटना २०६४ पहिलो संविधान सभा निर्वाचनअघिको रहेछ।  

राजनीतिक–सामाजिक क्षेत्रका अगुवाहरु दमक नगरको सर्वाङ्गीण विकास निर्माणका सन्दर्भमा सर्वदलीय प्रतिनिधिमण्डलका रुपमा काठमाडौँ आएका रहेछन्। सबैजसो पार्टीका झापाली नेताहरुसँग भेटघाट गर्ने योजनाअनुसार उनीहरु ओलीको बालकोटस्थित निवास पुगेछन्।  

कुराकानीको सिलसिलामा नगरपालिकाको अलिक सीमान्तमा रहेको एउटा वडास्थित पोखरीको संरक्षणबारे चर्चा भयो। त्यसका लागि बजेटको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भयो।  

जब आर्थिक प्रबन्धको विषयमा कुरा सुरु भयो, ओलीले प्रतिनिधिमण्डललाई सुझाव दिएछन्, ‘झापा फर्किंदा पाटन (ललितपुर) बाट एउटा विष्णुको मूर्ति किन्नुहोला। त्यो मूर्तिको नाक, कान, औँला सबै भाँचभुँच पारेर कसैले नदेख्नेगरी पोखरीको बीचमा फालिदिनू। त्यसपछि गाउँको कुनै गन्नेमान्ने वृद्धलाई ‘राति सपनामा यो पोखरीबाट भगवान निस्केर आफ्नो उद्धार गर’ भनेका छन् भन्न लगाउनू। तर, भाँचकुँच पारेर पोखरीमा मूर्ति फालिएको बारे तपाईंहरुबाहेक अरु कसैलाई जानकारी नहोस्।’ 

ओलीको थप सुझाव थियो, ‘वृद्धले त्यसो भनेपछि तत्काल पोखरीमा कोही हामफालोस् र त्यहाँ फालिएको मूर्ति बाहिर निकालोस्। यति भएपछि त्यो पोखरीमा देवताको बास रहेछ भन्ने विश्वास स्थानीयवासीलाई हुन्छ। यति विश्वास भएपछि पोखरीमात्र होइन, पुरै वडामा के–के गर्ने, कति विकास गर्ने हो, त्यसका लागि आवश्यक पर्ने चन्दा सहजै जम्मा हुन्छ।’   

यो त भयो, ‘भौतिकवादी’ छँदै ओलीले स्थानीय अगुवाहरुलाई दिएको सुझाव। बढ्दो उमेर र दुई–दुई पटक प्रधानमन्त्री बनेपछिका केही घटनाहरुका कारण पनि ओलीमा ज्योतिषीहरुले गर्ने भविष्यवाणीप्रति विश्वास पलाउन थालेको हुनसक्छ। र, त्यही कारण उनले १७ असारपछि देउवा सरकार संकटमा पर्ने दाबी गरेका हुनसक्छन्। 
    
जस्तोः २०७४ को निर्वाचनमा वाम गठबन्धनको कारण झण्डै पत्तासाफ भएको नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बन्लान् भन्ने विश्वास र अनुमान कसैलाई थिएन।  

तर, देउवा भने छिट्टै प्रधानमन्त्री बन्नेमा विश्वस्त थिए। ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेको खुलासा गर्दै प्रतिनिधि सभाको यही कार्यकालमा प्रधानमन्त्री बन्ने दाबी गरिरहेका थिए। 

नभन्दै प्रतिनिधि सभाको झण्डै दुई तिहाइ समर्थन हासिल गरेका ओलीलाई साढे तीन वर्षपछि विस्थापित गरी देउवा प्रधानमन्त्री बन्न सफल भए।

देउवाका ज्योतिषीले गतसाल (२०७८) असारमा उनी (देउवा) प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए। देउवाका ज्योतिषको त्यो भविष्यवाणी पनि मिल्न पुग्यो। उनी प्रधानमन्त्री भए। 

भौतिकवादी हुँदाहुँदै पनि यी दुई घटनाबाट ओलीलाई लागेको हुनसक्छ, कसैले नपत्याए पनि ज्योतिषीको भविष्यवाणीमा धेरैथोरै सत्यता अवश्य हुँदो रहेछ। 

जहाँसम्म ओलीले तोकेको १७ असारको मितिको सन्दर्भ हो, एमालेवृत्तमा यसबारे के चर्चा छ भने ज्योतिषविद्याका जानकार अध्यक्ष ओलीका पिता मोहनप्रसाद ओलीले १७ असारपछि ओलीको ग्रह–दशामा सुधार हुने र देउवाको ग्रहदशा बिग्रन सुुरु हुने बताइदिएका छन्।

‘यही कारण उहाँ (ओली) ले १७ असारपछि देउवा सरकार र सत्तागठबन्धनमा संकट सिर्जना हुने बताउनु भएको हो,’ एक नेताले भने।

चुकेको निसाना
केही भविष्यवाणी संयोगवश मिल्न सक्छन्। तर अहिलेको राजनीतिक घटनाक्रम र समीकरण हेर्दा ज्योतिषीको हवाला दिँदै ओलीले संकेत गरेजस्तो गठबन्धन धरापमा पर्ने र टुटिहाल्ने सम्भावना निकै कम छ। 

हो, जेठ अन्तिम साता एकीकृत समाजवादीले देउवा सरकारमा रहेका आफ्ना मन्त्रीहरु परिवर्तन गर्ने निर्णय गरेपछि त्यो पार्टीभित्र ठूलो भाँडभैलो सिर्जना भएको छ। यो भाँडभैलो हेर्दा ओलीको दाबी पुरा होला कि जस्तो लाग्न सक्छ। 

तर, मन्त्री परिवर्तनसम्बन्धी निर्णयले सो पार्टीभित्र सिर्जित खलबलीकै कारण देउवा सरकारमाथि तत्काल संकट सिर्जना हुने स्थिति देखिन्न। 

किनकि, असन्तुष्ट मन्त्रीहरु विरोध खतिवडा र प्रेम आलेले शुक्रबार पार्टी पोलिटब्युरो बैठकमा पार्टीले गरेको निर्णय स्वीकार गर्ने बताएका छन्। उनीहरुले नयाँ बन्ने मन्त्रीहरुको सूची समावेशी हुनुपर्ने माग गरेका छन्। यो मन्त्री परिवर्तन गर्ने पार्टीको निर्णय स्वीकार गर्न उनीहरु तयार भइसके भन्ने संकेत हो। 

मानौँ, अहिले जे भने पनि मन्त्री पदबाट हटेपछि त्यही झोँकमा उनीहरुले एकीकृत समाजवादी परित्याग नै गरे रे! त्यसपछि पार्टीले पनि उनीहरुलाई सांसद पदबाट हटायो रे! यस्तो भयो भने चाहिँ के होला? 

आधा दर्जन सांसदहरुको संख्या घट्दैमा देउवा सरकार अल्पमतमा पर्ने देखिँदैन। नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) सहितको सत्ता गठबन्धन कायमै रहने भएकाले देउवा सहज अवस्थामा रहनेछन्।

हो, स्थानीय तह निर्वाचनमा अपेक्षाकृत परिणाम हासिल गर्न नसक्दा नेपाली कांग्रेस र माओवादी केन्द्रप्रति एकीकृत समाजवादीको शीर्षतहमा आक्रोश छ। तर, अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल वर्तमान सत्ता गठबन्धन तोड्ने पक्षमा छैनन्। उनीहरु निर्वाचनसम्मै यो गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा देखिन्छन्।  

सत्ता गठबन्धनको अर्काे घटक जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीचको शक्तिसंघर्षका कारण संकटमा परेको छ। मन्त्री परिवर्तन गर्ने विषयले त्यहाँभित्र पनि ठूलै हलचल छ। तर, दुवै अध्यक्ष गठबन्धन तोड्ने पक्षमा देखिँदैनन्।  

यही कारण एकीकृत समाजवादी र जसपाका कारण तत्काल सत्ता गठबन्धनमा संकट सिर्जना हुने स्थिति देखिँदैन। त्यसबाहेक देउवाले पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेका पनि छन्। कुनै पार्टीका सांसदहरु मार्फत् संकट सिर्जना भयो भने सरकार बचाउन देउवाले लोसपाको सहयोग लिन सक्छन्। 

अब बाँकी रह्यो– प्रमुख सत्ता साझेदार एकीकृत माओवादी।  

प्रधानमन्त्री देउवाले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई बढाउन ढिपी कसेको भए निश्चय नै सत्ता गठबन्धनमा संकट सिर्जना हुने थियो। किनभने, १ असारमा देउवासँग भएको कुराकानीमा प्रचण्डले एसपीपी अघि बढाइए गठबन्धनबाट बाहिरिने चेतावनी दिएका थिए। 

तर, प्रचण्डको चेतावनीपछि देउवा एसपीपी अघि नबढाउने निर्णयमा पुगिसकेका छन्। प्रचण्डका भनाइमा, ‘आफू मर्न तयार रहेको तर सम्झौता नगर्ने’ अडान देउवाले प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादवसँगको १ असारको बैठकमा गरेका थिए। 

त्यसैबमोजिम एसपीपीमा संलग्न नहुने निर्णय मन्त्रिपरिषदले गरिसकेको छ।

त्यसैले, सानातिना समस्या देखिए पनि ओलीले दाबी गरेजस्तो गठबन्धन तोडिने खालको संकट भने देखा परेको छैन। 

खासमा महिना (जेठ) र मिति (१७ असार) नै तोकेर ओलीले गठबन्धनमा संकट सिर्जना हुने दाबी गरेकै दिन २६ वैशाखमा सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ‘ओलीको क्षेप्यास्त्र बीचैमा खस्ने र त्यसले टार्गेट नभेट्ने’ दाबी गरेका थिए।  

ओलीले पनि त्यसयता ‘१७ असार’ को उच्चारण गरेका छैनन्। उनलाई पनि लागेको हुनसक्छ, ‘स्थानीय तह निर्वाचनको परिणामपछि मेरो निसाना चुकिसक्यो।’ 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .