विचार


डरलाग्दो ‘डिपार्चर’

‘बालेन छन्, रवि छन्, संसद् छैन’
डरलाग्दो ‘डिपार्चर’

सन्जय घिमिरे
जेठ ७, २०८३ बिहिबार १६:२६, टेक्सस, अमेरिका

केही दिनअघि कान्तिपुरमा विष्णु सापकोटाको एउटा लेख आयो– ‘डिपार्चर’सँग तर्सिएको परम्परावादी वृत्त

त्यसमाथि अनेक क्रिया–प्रतिक्रियाहरू आए, अझै आइरहेका छन्। भ्याएसम्म म ती क्रिया/प्रतिक्रियाहरू टाढाबाट हेरि/सुनिरहेको छु।

लेख प्रकाशित भएको भोलिपल्टै लेखक सापकोटालाई ट्याग गरेरै ट्विटरमा मैले टिप्पणी गरेको थिएँ– ‘म तपाईंको लेखनको राम्रै पाठक हुँ तर यो लेखमा तपाईं केही चुक्नुभयो कि भन्ने मलाई लागेको छ।’

त्यति टिप्पणीले मात्र मन शान्त भएन। र आज यो लेखिरहेको छु।

सोचिरहेको छु – समाज र राजनीतिक चिन्तनका अनेक आयामहरूलाई बुझ्ने र त्यसमाथि गहिरा बहस गर्न वा लेख्न रुचाउने सापकोटा किन त्यति फितलो र एकोहोरो भएका होलान्? सोचाइको त्यो ठाउँमा उनलाई केले पु¥यायो होला?

म यो भनिरहेको छैन– उनी त्यस्तो हुन पाउँदैनन्।

म यो भनिरहेको छैन– उनले त्यसरी सोच्नु र लेख्नु हुँदैनथ्यो।

आफ्नो सोचाइ र विचारमा एकोहोरो भएपछि मान्छेले आत्महत्या त गर्छ, लेख्नु त के कुरा भो र? यसतर्फ मलाई धेरै भन्नु छैन।

म यहाँ आज उनले प्रयोग गरेका खासगरी दुई शब्दमाथि आफ्ना विचारहरू राख्न खोज्दैछु।

दुई शब्द हुन्– ‘डिपार्चर’ र ‘तर्सिएको’।

पहिले, पहिलो शब्दकै कुरा गरौँ– ‘डिपार्चर’।

हुन त, सापकोटा जस्तो अंग्रेजीको उतिसारो ज्ञान भएको मान्छे म होइन। तैपनि, मैले बुझेसम्म ‘डिपार्चर’ तटस्थ शब्द हो, यसले कुनै नकारात्मक वा सकारात्मक कुरातर्फ सुरुमा नै इंगित गर्दैन। भलै सापकोटाले यो शब्दमार्फत सकारात्मक कुरातर्फ इंगित गर्न सकेजति बल लगाएका छन्।

तर उनले गलत ठाउँमा बल लगाए।

गत भदौ २३/२४ र त्यसपछि फागुनमा भएको निर्वाचन सही ‘डिपार्चर’ हो कि होइन? मेरो दृष्टिमा उनले पहिले यो प्रश्नको जवाफ खोज्न बल लगाउनु पर्थ्यो।

मलाई सोध्नुहुन्छ भने म त पहिलो दिनदेखि प्रस्ट छु– भदौ २३/२४ र त्यसपछि जेजति घटनाहरू नेपालमा भए, भइरहेका छन्, त्यो न क्रान्ति हो, न डिपार्चर। परिवर्तन चाहिँ मान्न सकिएला। परिवर्तन पनि उत्ताउलो परिवर्तन।

लौ, सापकोटाकै शब्द र विचारलाई एकछिन मानौँ, त्यो डिपार्चर नै हो।

मेरो चेतले भन्छ– यस्तो डिपार्चर, न ग्राउन्ड ठिक छ, न जहाजका पार्टपुर्जा र पाइलटहरू भरपर्दा छन्, न जाने ठाउँको स्पष्टता छ। जहाजको यस्तो खतरनाक डिपार्चरलाई सापकोटाजस्ता विचार, दर्शन र चिन्तनका ‘कुलब्वइ’ले किन धुन्धानको डिपार्चर ठानेका होलान्?

यसो भन्न उनी स्वयंलाई चाहिँ किन डर नलागेको होला? किन नतर्सिएका होलान् स्वयं उनी?

तर्सनु पर्ने थुप्रै कारणहरू छन्।

उनको लेख पढ्दा खासगरी दुई चिजलाई उनले मुख्य आधार बनाएको देखिन्छ। एउटा– विदेशमा जाँदा त्यहाँका मान्छेले नेपालप्रति राखेको चासो र अर्को– नेपाली जनताले दिएको मत।

औसत मान्छेले यी दुई चिजलाई मुख्य आधार बनाएर केही लेखेको वा बोलेको भए, म केही भन्दैनथेँ। कमसेकम सापकोटा जस्ता चैतन्य भएका मान्छेले ती दुई चिजलाई मुख्य आधार मानेर अरुलाई ललकारेको देख्दा मेरो मुखबाट निस्केको शब्द हो– हत्तेरी।

जतिबेला नेपालमा माओवादी सशस्त्र युद्ध भइरहेको थियो, त्यतिबेला विदेशतिर हिँड्दा सोध्ने गर्थे– नेपालमा के भइरहेको हो?

जब राजदरबार हत्याकाण्ड भयो, तब दुनियाँले सोध्ने वा चासो राख्ने अर्को विषय पायो– त्यो कसरी भयो?

जब राजा ज्ञानेन्द्रले शासन लिए, त्यतिबेला मसँगै रमेशनाथ पाण्डेले भनेका थिए– अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उचाइ हवात्तै बढेको छ।

जब माओवादी मूल राजनीतिमा प्रवेश गरे, प्रचण्ड भन्थे– संसारले हामीलाई ‘वाह’ भनेको छ। संसारमा हाम्रो मूल्य बढेको छ।

यस्तै सस्ता प्रचारमा मेरा प्रिय लेखक सापकोटा पनि किन लागेका होलान्?

अब कुरा गरौँ, जनताले दिएको भारी मतको।

प्रजातन्त्रको गुण वा अवगुण जे भन्नुस्– प्रजातन्त्रमा भिडको प्रभाव बढी हुन्छ। संख्याको प्रभाव बढी हुन्छ। यसको अर्थ यो होइन कि यो सधैँ ठिक हुन्छ।

म चाहन्थेँ– सापकोटा जस्ता चिन्तकहरू भिडको पछाडि नलागून्, समाजको चिन्तन, मनोविज्ञान र लहडमाथि नै बरु प्रश्न गरून्। र हामी जस्तालाई लाभान्वित गरून्।

हुन त, सापकोटालाई जस्तै अधिकांशलाई लाग्छ– अहिले नेपाल ट्रयाकमा छ। बहुमतको सरकार छ। सरकारमा काम गर्ने हुटहुटी छ। बलियो संसद् छ।

केही दिनअघि म नेपालका एक जना मित्र महेश ढुंगेलसँग कुरा गरिरहेको थिएँ। ढुंगेल बडो गहिरो र मिहिन विश्लेषण गर्छन् राष्ट्रिय/अन्तर्राष्ट्रिय राजनीति र सामाजिक मनोविज्ञानका बारेमा। उनी भन्दै थिए– नेपालमा अहिले संसद् छैन।

उनी के भनिरहेका छन्, एकछिन त म अलमलिएँ।

उनले प्रस्ट्याए– बालेन छन्, रवि छन्, संसद् छैन।

हो कि क्या हो। यस्तो लाग्छ रास्वपा पनि संसदमा छैन। अलिअलि हर्क साम्पाङ बोल्छन्। अमरेशकुमार सिंह पनि धन्य बोल्न थालेका छन्। र, छ कि क्या हो भने जस्तो हुन्छ कहिलेकाहीँ। नत्र त केको हुनु?

अरु दलको त विचरा के कुरा गर्ने? ती त्यसै हराएका, त्यसै हतोत्साहित छन्। तिनका भित्री–बाहिरी दुवै ग्रह अशान्त छन्। मूलधारका मिडियाप्रति विश्वास गिर्दो छ।

यही बेला अलिकति भने पनि प्रश्न गर्न टाउको उठाउँदै गरेका बौद्धिक समाज, रास्वपाबाहेक अरु राजनीतिक दलहरूमा आस्था वा विश्वास राख्ने वर्ग र नागरिक समाजलाई सापकोटाले किन ‘पुराना वृत्त’ भनेर टुङ्ग्याइदिएका होलान्?

म त नेपालमा दिनप्रतिदिन राजनीतिक र कूटनीतिक दृष्टिले जोखिम बढ्दै गरेको देखिरहेको छु। यसलाई म कसरी ‘डिपार्चर’ भनूँ?

भन्नै परे भनूँला– डरलाग्दो ‘डिपार्चर’।

डिपार्चर भन्ने शब्दपछि अब कुरा गरौँ– ‘तर्सिएको’ शब्दको।

यसमा म यत्ति भनूँ– उड्ने मैदान पनि ठिक छैन, उड्न गुडेको जहाजका इन्जिन पूर्ण ठिकठाक छैनन्, चालकहरू पनि अनुभवी छैनन्, जहाजको अवतरणको ठाउँ, ठेगान छैन। यस्तो देख्दादेख्दै अलि बौद्धिकहरू, अलि बुझेका, अलि पाका नतर्सेर के गर्ने?

बिनासुरक्षा भिरबाट हाम्फाल्नु आँट वा साहस होइन, मूर्खता हो।

यो डिपार्चर होइन। यस्तो डिपार्चरसँग अलि–अलि त तर्सिनै पर्छ।

तर्सिन दिनुस् विष्णुजी, यो तर्साइले दुर्घटनाबाट बचाउन मद्दतै गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad