म्यागेजिन


यौन चाहना नभएकी युवतीको नजरमा परिवार

यौन चाहना नभएकी युवतीको नजरमा परिवार

सिंधु वासिनी
माघ ८, २०७६ बुधबार ९:४१,

हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ।

‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ। यसको रहस्य के हो?’

सन्ध्याको उत्तर थियो, ‘प्रेमी छैन, श्रीमान् छैन, परिवार छैन र तनाव पनि छैन।’

सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन्। उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन्।

उनी एक्लै बस्नुको कारण हो, उनमा यौन चाहना छैन। केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसेक्सुअल’ हुन्।

त्यसैले उनले विवाह गरेकी छैनन्। तर, परिवारका विषयमा भने उनको आफ्नै धारणा छ।

एउटा सुखी र खुसी परिवारमा श्रीमान्–श्रीमती र छोराछोरी हुनैपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन्। अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन्।

उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ।

‘२३–२४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो,’ सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु पे्रमी खोज्न थालेका थिए। मलाई भने त्यसमा कुनै चासो थिएन।’

उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन।

उनी भन्छिन्,‘त्यसबेला मलाई एक पुरुष ज्यादै मनपर्थ्यो। मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो। समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो, जुन सामान्य थियो। तर जब कुरो यौनसम्म पुग्यो, मलाई निकै असहज लाग्यो। मलाई यस्तो लाग्यो मेरो शरीरले यौनलाई स्वीकार गर्न सक्दैन। मलाई यौनको जरुरी नै थिएन।’

सन्ध्या यौनबाट तर्सिन्न थिइन्। तर, यौनबिना पनि उनी जीवनको आनन्द लिन सक्थिन्।

_110397348_c8a896a9-081d-4d9c-b710-2046ae157969.jpg

कसरी पहिचान भयो यौनिकता?
‘सम्बन्धमा प्रेमको भाव उत्पन्न हुन्छ तर यौन आकर्षण ममा छँदै थिएन,’ उनी भन्छिन्, ‘जुन पुरुषलाई म प्रेम गर्थेँ, उसको हात पक्रिएर हिँड्न मलाई रमाइलो लाग्थो। उसलाई अंगालो हाल्न, उसँग समय बिताउन मनपर्थ्यो तर यौन भनेपछि दिक्क लाग्थ्यो। मेरो शरीरले नै प्रतिक्रिया दिन छाड्थ्यो।’

सन्ध्यालाई यस्तो कयौंपटक भएको छ। जतिपटक उनको सम्बन्ध शारीरिक सम्पर्कनजिक पुग्यो, त्यति नै पटक पछि हट्न बाध्य हुन्थिन्। उनले यो समस्या साथीहरुलाई सुनाइन्। उनीहरुले डाक्टरसँग सल्लाह लिन सुझाए।

तर, डाक्टरकहाँ जानुअघि उनले यसबारे आफैँले इन्टरनेटमा पढ्न र बुझ्न थालिन्। उनी सामाजिक सन्जालमा ‘एसेक्सुआलिटी’सँग सम्बन्धित केही समूहमा पनि जोडिइन्।

‘सुरुमा मलाई कुनै गम्भीर समस्या छ कि भन्ने लागेको थियो। सम्बन्ध टुटेकोमा मैले आफूलाई नै दोषी ठानेँ। जब मैले आफ्नो यौनिकताबारे बुझ्न थालेँ, त्यसपछि आफैँलाई स्वीकार गर्न थालेँ,’ सन्ध्या भन्छिन्, ‘विस्तारै मैले यो रोग नभएर आफू असामान्य भएको थाहा पाए। सामाजिक सन्जालमार्फत मैले मेरैजस्तो अनुभूति भएका मानिसहरु भेट्न पाएँ। यसरी म आफूलाई चिन्न सफल भएँ।’

आफूलाई चिनेपछि उनले कुनै व्यक्तिसँग सम्बन्ध कायम गर्ने प्रयास गरिन् त?

‘कयौं पटकको अनुभवबाट आफूबारे थाहा पाइसकेपछि मैले बुझिसकेकी थिएँ, कुनै पुरुषसँग म नजिक हुने हो भने उसले यौनको कुरा गर्न थाल्नेछ। जसका लागि म तयार थिइनँ। यसबारे कुनै सम्झौता गर्न पनि म तयार थिइनँ। कुनै एसेक्सुअल पुरुषसँग मात्र मेरो सम्बन्ध टिक्नसक्थ्यो। त्यसैले मैले पुरुषसँग सम्बन्ध स्थापनाको प्रयास नै छाडिदिएँ,’ उनी भन्छिन्।

‘कैयौं मानिस एसेक्सुअल हुन्छन् तर उनीहरुलाई यसबारे सही जानकारी नहुँदा दुःख पाइरहेका हुन्छन्। सामाजिक र पारिवारिक दबाबका कारण आफ्नो यौनिकतालाई गोप्य राख्न उनीहरु बाध्य छन्,’ उनी भन्छिन्।

सन्ध्याको सपनाको परिवार
आफूजस्तै एसेक्सुअल पुरुष उनले फेला पारिन् त? अहँ। उनी भन्छिन्, ‘सामाजिक सन्जालमा त भेटिए तर वास्तविक जीवनमा भेटेको छैन। यदि मेरै समुदायको कुनै पुरुष भेटेँ भने म परिवारको बारेका सोच्नेछु।’

उनको नजरमा परिवारको अर्थ र महत्व के हो त?

जवाफमा उनी भन्छिन्,‘अहिलेसम्म म एक्लै छु। मलाई लाग्छ, पछिसम्म एक्लै नै हुनेछु। मेरा साथी, म बस्ने भवनका मानिसहरु नै मेरा परिवार हुन्। हामी अलग अलग कोठामा बस्छौँ तर हाम्रो भान्सा एक छ। हामी भेट्छौं, दुःखसुखका कुरा गर्छौँ। हामी परिवार हौं। परिवार मेरो पहिचान भन्दामाथि हाबी नहोस भन्ने मेरो धारणा छ।’

यद्यपि मन मिल्ने मान्छे भेटिए त्यस्तो व्यक्तिसँग उनी जीवन बिताउन तयार छिन्। तर, यो सम्बन्धको आफ्नै दायरा हुनेछ।

_110397352_9c958ef8-f85e-4737-a4b9-ed3104f272ec.jpg

‘त्यस्तो साथीसँग म एकै घरमा बस्न चाहन्छु। तर, हामीबीच दूरी पनि हुनुपर्छ। हामी एकै घरमा बसेपनि कोठा अलग हुनुपर्छ। हामी सँगै खाना खानेछौँ। भावनात्मक रुपमा साथमै हुन्छौं,’ उनी ती दायराबारे चर्चा गर्छिन्।

आमा बन्ने र बच्चा पाउने सन्दर्भमा सन्ध्या प्रष्ट छिन्। ‘मलाई अरुकै बच्चा मनपर्छ। आफू जन्माउन चाहन्नँ। मलाई लाग्छ बच्चाको चाहना राख्दा महिला कमजोर बन्छिन्,’ उनी भन्छिन्।

‘मानिसहरु प्राय मलाई बुढेसकालमा बच्चाले तिम्रो साथ दिन्छ भनेर सम्झाइरहन्छन्। तर, सबै बच्चाले आफ्ना आमाबुबालाई बुढेसकालमा हेरचाह गर्छन् भन्ने मलाई लाग्दैन,’ उनी भन्छिन्, ‘म बुढेसकालका लागि यतिबेला पैसा जम्मा गरिरहेको छु, लगानी गरिरहेको छु। मलाई थाहा छ म एक्लै छु र आफ्नो ख्याल आफैँले राख्नुपर्छ त्यसैले म आफ्नो शरीरको राम्रो हेरचाह गर्छु, स्वस्थ्य खाना खान्छु, योग गर्छु र कुनै फैसला लिनुभन्दा अगाडि राम्रोसँग सोच्छु।’

परिवार र छिमेकीले विवाह गर्न दबाब दिएपनि उनले सबै प्रस्ताव अस्वीकार गरेकी छिन्।

‘मेरो कान्छी बहिनीको विवाह भइसकेकोले ममाथि विवाहको दबाब झन् बढेको छ,’ उनी सुनाउँछिन्, ‘म कसैको कुरा सुन्दिनँ। म यसबेला एक्लै छु। एक्लै खाना खान्छु, किनमेल गर्न जान्छु। बिरामी हुँदा आफैँ अस्पताल जान्छु। विवाह जरुरी छजस्तो मलाई लाग्दैन। मेरो हिसाबमा जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको स्वतन्त्र र शान्त जीवन बाँच्नु हो।’
(बीबीसी हिन्दीबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad