राजनीति


विवाद समाधानका लागि देउवा निवासमा कांग्रेस शीर्ष नेताहरुको बैठक

विवाद समाधानका लागि देउवा निवासमा कांग्रेस शीर्ष नेताहरुको बैठक

नेपालखबर
माघ ८, २०७६ बुधबार ९:५७,

पार्टीभित्र देखिएको विवाद समाधानका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार दिउँसो कांग्रेसका शीर्ष नेताहरुको बैठक सुरु भएको हो। बैठकमा सभापति देउवा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरु सहभागी छन्।

भारतको नयाँ दिल्लीमा स्वास्थ्योपचार गरेर माघ ४ गते स्वदेश फर्किएपछि पौडेलले सभापति देउवासँग  निर्णायक छलफल गर्न लागेका हुन्।

यसअघि पुस २७ गते सभापति देउवाले आफ्नै निवासमा पौडेल र सिटौला पक्षसँग छलफल गरेका थिए। सो छलफलमा पार्टीमा देखिएका विवाद समाधान गर्ने सहमति बनेको थियो। आजको छलफलले केन्द्रीय समिति बोलाउने बारेको निर्णय गर्ने नेताहरुले बताएका छन्।

देउवाले केन्द्रीय कार्यसमितिको बहुमतबाट १४ औं महाधिवेशन फागुन ७ गतेदेखि गर्ने, महाधिवेशन प्रयोजनार्थ विधानका धारा निलम्बन गर्ने, विभागको संख्या २८ बाट बढाएर ४७ पुर्‍याउने र भ्रातृसंस्था तरुण दलको म्याद ६ महिना थप्ने निर्णय गरेपछि पौडेल समूह असन्तुष्ट छ। पार्टीमा चल्दै आएको सहमतीय परम्परा तोडेर पहिलो पटक सभापति देउवाले बहुमतले महाधिवेशनको मिति तय गरेपछि पौडेल समूह असन्तुष्ट छ। मंसिर २६ पछिका केन्द्रीय कार्यसमिति बैठक पौडेल समूहले बहिष्कार गर्दै आएको छ।

देउवा बहुमतबाट निर्णय गरेर अघि बढ्न खोजेपछि पौडेलले आफू निकटका जिल्ला सभापतिको भेला बोलाएर पुस २१ गतेदेखि तीन दिनसम्म परामर्श गरेका थिए। जिल्ला सभापतिहरुको भेलाबाट महाधिवेशनको मिति सहमतिमा तोक्न देउवालाई लिखित सुझाब दिइएको थियो।

बुधबारको छलफलमा नमिलेका कुराहरु मिलाउने प्रयत्न हुने नेताहरु बताउँछन्।

स्वास्थ्य उपचारका लागि पौडेल दिल्ली गए पनि यसबीचमा उपसभापति विमलेन्द्र निधि, नेताहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहबीच पटक पटक वार्ता भएको छ। बैठकमा नमिलेका विषयलाई मिलाउन प्रयास हुने वरिष्ठ नेता पौडेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad