‘चुनाव सकिएको राति म ढुक्कले निदाएँ,’ प्रधानमन्त्री निवास बालुवाटारमा भुइँतलाको एउटा हलमा बसेर उनले सुनाए।
भर्खरै गम्भीर बिरामी भएर तंग्रिएका उनको शरीर थकित देखिन्थ्यो। तर, अनुहारमा सन्तुष्टिको चमक भने प्रस्टै थियो।
चुनावको तयारी हुँदै गर्दा प्रधानमन्त्री सुशीला कार्कीले सुरक्षा निकायका प्रमुखहरूलाई भनेकी थिइन्, ‘यो चुनावमा एक थोपा रगत नबगोस्।’
थुप्रैले अविश्वास गरेका थिए। कतिपयलाई लाग्थ्यो– यो मितिमा चुनावै हुँदैन।
तर, सुशीलाले हार मानिनन्। चुनाव तोकिएकै मितिमा भयो। र, एक थोपा रगत नबगी भयो।
त्यसैले आलोचकहरू पनि उनका प्रशंसक बनेका छन्। शंका गर्नेहरू चुप लागेका छन्। षड्यन्त्रका लम्बेतान कहानी रच्नेहरू नाजवाफ भएका छन्।
र, यतिबेला देशमा सबैभन्दा बढी प्रशंसित पात्र कोही छ भने त्यो सुशीला कार्की नै हुन्। किनकि उनले त्यतिबेला देशको कमान सम्हालिन्, जतिबेला सडकमा रगतको आहाल जमेको थियो, सिंहदरबारलगायत सत्ताका केन्द्रहरूबाट धुवाँको मुस्लो उठिरहेको थियो र जनमानसमा एउटै त्रास थियो– कतै देशमा सैन्य शासन त लाग्ने होइन!
यस्तो भयका बीच बालुवाटार पसेकी सुशीलाले अनेक आशंका र अविश्वासका माझ अभूतपूर्व संकट र अनिश्चितताबाट मुलुकलाई पार लगाइन्।

मात्र ६ महिना किन नहोस्, सुशीलाले नेपाली राजनीतिक इतिहासको अत्यन्त महत्वपूर्ण समय हाँकिन्। र, यो कठिन घडीमा सुशीलाका पछाडि उनको आड बनेर सँगै उभिएका थिए उनका पति– ‘फस्ट जेन्टलम्यान’ दुर्गा सुवेदी।
निडर प्रधानन्यायाधीशबाट निडर प्रधानमन्त्रीसम्म सुशीलाको यात्रामा दुुर्गा आदर्श जीवनसाथी मात्रै होइन, कहिलेकाहीँ मार्गदर्शक पनि बनेका छन्। तथापि, शक्तिको रवाफको कुनै संकेतसम्म उनमा पाइँदैन। न कुनै तडकभडक, न घमण्ड। दुर्गा आम नागरिकभन्दा फरक छैनन्। महात्मा गान्धीबाट प्रभावित उनको व्यक्तित्व त्यस्तै सरल छ। बालुवाटारभित्र पनि उनी कमिज–सुरुवाल र चप्पलमा भेटिन्छन्।
‘मुलुकले एउटा ठूलो भार सफलतापूर्वक बिसाएको छ, म त त्यसैमा खुसी छु। ढुक्कले सुस्ताएको छु,’ उनले भने।
नयाँ सरकार निर्माणको तयारी भइरहेको छ। त्यही सन्तुष्टिको एउटा सानो कुम्लो बोकेर ७९ वर्षीय दुर्गा चाँडै बालुवाटारबाट निस्किँदै छन्।
तथापि, भदौ २३ र २४ का त्रासद् दृश्य उनले बिर्सिन सकेका छैनन्। जसले सुशीला र दुर्गा बालुवाटार प्रवेशको मार्गप्रशस्त गरेको थियो।

जब दुर्गाले बालेनलाई भने : तपाईं प्रधानमन्त्री बन्नुस्
सक्रिय राजनीतिमा नरहेका दुर्गा अधिकांश समय निवासमै बिताउँदै थिए। भदौ २३ गते जेनजी आन्दोलनका क्रममा बानेश्वरमा युवाहरू प्रहरीको गोली लागेर ढले, कयौँ घाइते भए। अधिकांशलाई नजिकैको सिभिल अस्पताल पुर्याइएको थियो। सुशीला–दुर्गाले खबर पाए, उनीहरूका एक जना आफन्त पनि आन्दोलनमा घाइते भए।
घरमा सुशीला र दुर्गा मात्र थिए। आफन्त आन्दोलनमा घाइते भएको खबरपछि दुर्गाले सुशीलालाई भने, ‘कुन अस्पतालमा भर्ना भएको होला? तिमी भेटेर आऊ।’
जेनजी आन्दोलनमा घाइते भएका आफन्त कुन अस्पतालमा छन्, सुशीलालाई थाहा थिएन। सुशीलाले निकटस्थ डा अभिषेक सिंहलाई फोन गरिन्।
डा अभिषेक २४ गते बिहान ७ बजे नै गाडी लिएर कार्कीको घर पुगे। सुशीला, डा अभिषेक र हालका गृहमन्त्री ओमप्रकाश अर्याल सँगै निस्किए।
सुरुमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा जाने सल्लाह भयो। तर, भीमसेनगोला पुग्दा सडकमा आक्रोशित जमातले टायर बालिसकेको थियो। बाटो छिचोल्न समस्या हुने देखेर अभिषेकले गाडी मोडे। घाइतेहरू सिभिल अस्पतालमा धेरै छन् भन्ने सुनेर उनीहरू त्यतै लागे।
उनीहरू पुग्दा अस्पतालमा त्रासको माहोल थियो। यत्रतत्र घाइते थिए, मृत शरीरका सामु आफन्तहरूको क्रन्दन सुनिन्थ्यो। अस्पतालको मुटु कमाउने दृश्यले सुशीलालाई सहन गाह्रो भयो। उनले रुँदै घरमा भएका श्रीमानलाई फोन गरिन्।
‘हामी बाँच्नुको के अर्थ भयो? यो हदसम्मको क्रूरता किन देखाउनुपरेको होला?’ उनले भनिन्।
अस्पतालको अवस्था देखेर पति दुर्गासँग उनले बिलौना गरेको कुरा सामाजिक सञ्जालभरि फैलियो। सुशीलाले घाइतेहरूलाई पनि ढाडस दिइन्, ‘म तपाईंहरूको कुरा उठाउँछु। राज्यले तपाईंहरूमाथि गोली बर्सायो। अब हामी बोल्छौँ, तपाईंहरू स्वास्थ लाभ गर्नुहोस्।’
त्यसपछि उनी अस्पतालबाहिर निस्किइन्।
अन्य अस्पतालमा गएर घाइतेहरूलाई भेट्ने भन्दै उनीहरू पार्किङतिर जाँदै थिए। डा अभिषेकले सोधे, ‘श्रीमान् एक पटक सडकमा नै गएर बोल्ने कि?’
सँगै रहेका ओमप्रकाश अर्यालले सुझाए, ‘हुल आक्रोशित छ, ठेलमठेल होला। नजाने कि!’
तर, ‘जाने’ भन्दै सुशीला सडकमा पुगिन्।
सिभिल अस्पतालअगाडि केही युवाहरू जम्मा भएका थिए। भिडमा पुगेर उनले भनिन्, ‘तपाईंहरूलाई मेरो साथ छ।’
सुशीला सडकमा ओर्लिएपछि केही युवाहरू उनीसामु आए र अब देश जोगाउनुपर्यो भन्दै राष्ट्रिय झण्डा पनि दिए। भिड बढ्दै गयो, आवाज पनि ठूलो भयो, ‘तपाईं आउनु पर्यो!’
अस्पताल हिँडेकी सुशीला युवाहरूको जोडबलका सामु मौन बस्न सकिनन्। उनले केपी ओली सरकारविरुद्ध अभिव्यक्ति दिइन्। जुन तुरुन्तै मिडियामा हेडलाइन बन्यो।
त्यसबेलासम्म सुशीलाले देशको पहिलो महिला प्रधानमन्त्री हुन्छु भनेर सोचेकी थिइनन् सायद। न त घरमै बसिरहेका प्रजातान्त्रिक योद्धा दुर्गालाई बुढेसकालमा बालुवाटार प्रधानमन्त्री निवासमा बसाइँ सर्नुपर्ला भन्ने नै लागेको थियो।
सरकारको दमनविरुद्ध आवाज उठाएकी कार्कीको योजना अरु अस्पताल पुगेर घाइतेहरूलाई भेट्ने थियो। तर, सडकमा भिड र आक्रोश दुवै बढ्दै गएपछि त्यो सम्भव भएन। घर जाने अवस्था पनि नदेखेपछि डा अभिषेकले नयाँ बानेश्वरमै रहेका एक चिनजानका मान्छेलाई फोन गरे र बस्ने व्यवस्था मिलाए। त्यसपछि तीनै जना संसद् भवननजिकैको त्यो घरमा १० बजे पुगे र बसे।
जताततै आगजनी हुन थालेपछि दुर्गा अत्तालिए। उनले तारन्तार सुशीलालाई फोन गरे। सुशीला पनि आगजनी र गोली प्रहारका घटना बढ्न थालेपछि अत्तालिइन्। ‘यो क्रमलाई रोक्न अपिल गरौँ,’ भनिन्।
सुशीलाले सरकारको ज्यादती बढेको भन्दै जिम्मेवार व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने बताइन्।
‘भ्रष्टाचार गरेका छन्। उनीहरूलाई बाहिर जान दिन हुँदैन। कारबाहीको दायरामा ल्याउनु पर्छ, कानुनी कारबाही गर्नु पर्छ,’ कार्कीले भनिन्।
तत्काल नयाँ सरकार गठन गरेर घटनाक्रम साम्य पार्नुपर्ने र जेनजीले राखेको माग पूरा गर्नुपर्ने सुशीलाको मत थियो।
बिहानको १० बजे बानेश्वरको सो घरमा पसेकी सुशीला रातको २ बजे मात्र आफ्नो घर पुगिन्। सेना र प्रहरीको सहयोगमा उनीहरू तीनै जना घर पुगेका थिए।
राति घर पुगेपछि सुशीलाले दुर्गालाई सोधिन्, ‘अब देशमा के हुन्छ?’
‘यो दमनको फल आउँछ,’ दुर्गाको जवाफ थियो।

विध्वंशको भोलिपल्ट सहरमा प्रहरी कतै देखिएका थिएनन्। जताजतै आगजनी र अनिश्चय थियो। नागरिक सरकारको माग भइरहेको थियो। सम्भावित प्रधानमन्त्रीका रूपमा बालेन शाहको नाम सबैभन्दा चर्चामा थियो।
त्यसैले दुर्गाले बालेनलाई फोन गरेर भने, ‘तपाईं प्रधानमन्त्री बनेर यो सबै सम्हाल्नुस्।’
तर, बालेनले प्रस्ताव अस्वीकार गरे।
बरु, सुशीला कार्कीको नामबारे चर्चा सुरु भयो। डिस्कर्डमा भोटिङ नै भयो। खासमा उनले २४ गते दिएको अभिव्यक्तिले तरंग ल्याइसकेको थियो। आन्दोलनकारी जेनजीको नजरमा उनी परिसकेकी थिइन्।
प्रधानमन्त्री नियुक्तिअघि सुशीला र दुर्गा शीतलनिवास पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलको प्रस्ताव थियो– संसद् विघटन नगरी प्रधानमन्त्री बन्नुस्।
दुर्गाले तुरुन्त प्रतिवाद गरे, ‘संसद् हुँदाहुँदै सडकको मान्छेलाई कसरी प्रधानमन्त्री बनाउनुहुन्छ?’
उनी सुशीलाको हात समाएर घर हिँड्न तयार भए।
त्यसपछि राष्ट्रपति पौडेल संसद् विघटन गर्न तयार भए। सुशीला भदौ २७ गते नेपालको पहिलो महिला प्रधानमन्त्री बनिन् अनि दुर्गा प्रथम ‘फस्ट जेन्टलम्यान’।

पर्दापछाडिका आडभरोसा
सुशीलाले गएको छ महिनामा नचिताएको भूमिका खेल्नुपर्यो। मुलुकको कार्यकारी प्रमुख भएकाले हरक्षण उनी चासो र खबरको पात्र थिइन्। चुनाव गराउने बोझिलो जिम्मेवारी थियो। हरक्षण व्यस्त रहन्थिन्। तर, दुर्गाका लागि भने यो अवधि पनि खासै फरक रहेन। किनकि उनलाई राजकाजका कुरामा ज्यादा रुचि थिएन।
राजनीतिक भेटघाटमा उनी कमै सहभागी हुन्थे। त्यसमा पनि ज्यादाजसो आगन्तुकका कुरा सुन्थे। कहिलेकाहीँ मात्रै छोटो टिप्पणी गर्थे। सुशीलाका काममा अनावश्यक हस्तक्षेप गर्ने, चासो लिने काम उनले कहिल्यै गरेनन्। कुनै माग, कुनै सिफारिस गरेनन्।
‘उहाँ आफ्नो निजी आकांक्षा सम्पूर्णतः त्यागेर गृहस्थ बनेर बस्नुभयो। श्रीमती देशको प्रमुख पदमा पुग्दा पनि उहाँको स्वभाव परिवर्तन भएको छैन,’ प्रधानमन्त्री कार्यालयका एक सदस्य भन्छन्।
त्यसो त, उनको यो आदत सुशीला प्रधानमन्त्री बनेपछि बसेको होइन। उनी प्रधानन्यायाधीश हुनुभन्दा धेरै अघिदेखि दुर्गा यस्तै थिए। घरबाहिरको काम पुरुषको र घरधन्दा महिलाको भन्ने परम्परागत सोचविपरीत दाम्पत्यको सुरुदेखि नै सुशीला इतिहास रच्दै हिँड्दा दुर्गाले घर सम्हाल्दै आएका छन्।
गत पुसमा दुर्गा गम्भीर बिरामी भए। पुस १६ गते पिसाबको संक्रमण भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो। तर, ४ दिनसम्म अवस्था नसुध्रेपछि भारत लगियो। प्रोस्टेटको समस्याबाट पनि ग्रसित उनलाई खाना नपच्ने, पेट दुख्ने समस्या थपिएको थियो। एम्स अस्पतालमा उपचारपछि फर्केका उनी अहिले स्वस्थ छन्।
प्रधानमन्त्रीका चिकित्सक डा मनबहादुर केसी दुर्गालाई प्रोस्टेटका कारण बेलाबेला समस्या देखिने गरेको बताउँछन्।
‘अहिले स्वास्थ्य अवस्था सामान्य छ। उमेरका कारण पनि शरीर अस्वस्थ भएको हो,’ उनले भने, ‘तीनचार दिनमा स्वास्थ्य अवस्था बुझ्न म फोन गर्छु। बेलुकाको समयमा फोन गर्दा सुशीला आएकी छैनन् कुर्दै बसेको छु भन्नुहुन्छ।’
स्वास्थ्यमा सुधार हुँदै जाँदा परिवारमा खुसी पनि भित्रिएको छ। बेलायतमा बस्ने उनका छोराबुहारीलाई पुत्रलाभ भएको छ, उनी हजुरबा बनेका छन्।
‘अहिले म खुसी छु। बेलाबेला आफ्नो निवास धापासीको अवस्था बुझ्न जान्छु,’ दुर्गाले सुनाए।
खासमा दुर्गाको जीवन उनीसँगै प्रजातान्त्रिक आन्दोलनमा जोडिएका अरू नेताहरूको भन्दा बिल्कुल अलग छ।
२००३ सालमा धनकुटामा जन्मिएका दुर्गा पछि धरान बस्न थालेका थिए। २०२० सालमा एसएलसी उत्तीर्ण गरेपछि उनको बसाइ विराटनगर हुन थाल्यो। मोरङ कलेजमा उनले आईएस्सी पढे र त्यहीँ विद्यार्थी राजनीति सुरु गरे। स्वतन्त्र विद्यार्थी युनियनको सचिव पदमा कांग्रेस समर्थक प्यानलबाट उनी विजयी भए।
राजा महेन्द्रको ‘कू’ पछि उनी पढिरहेको मोरङ कलेजको नाम परिवर्तन गरेर महेन्द्र मोरङ बनाइयो। दुर्गाले विरोध जनाए। बदलामा उनलाई तीन महिना जेल हालियो। छुटेपछि पनि उनी फेरि पक्राउ परे र यस पटक १८ महिना जेलमा गुजारे।
जेलबाट निस्किएपछि स्ववियु चुनावमा सभापतिको उम्मेदवार भएका थिए दुर्गा। तर, जित्न सकेनन्। सो समयदेखि कोइराला परिवारसँग नजिक भएका थिए दुर्गा।
२०३० जेठ २८ गते नेपाली कांग्रेसले विमान अपहरण गरेर विराटनगरबाट काठमाडौँ ल्याउन लागिएको ठूलो रकम कब्जामा लियो। यो चर्चित घटनामा वसन्त भट्टराई र नगेन्द्र ढुंगेलसँगै दुर्गा पनि सहभागी थिए। सशस्त्र संघर्षलाई सहयोग पुर्याउने उदेश्यले वायु सेवा निगमको विमान अपहरण गरी उनीहरूले ३० लाख भारु लुटे।
यसबापत दुर्गाले करिब १० वर्ष लामो प्रवास बसाइका साथै दुई वर्ष भारतीय जेलमा बस्नुपर्यो।
सुशीलासँग पहिलो पटक चिनजान हुँदा दुर्गा विराटनगर जनता प्राथमिक पाठशालाको प्रधानाध्यापक थिए। काठमाडौँमा मावलीमा बसेर पढेपछि ५ कक्षामा भर्ना हुन कार्की त्यही स्कुल पुगेकी थिइन्। दुर्गाले सुशीलालाई पहिलो पटक त्यहीँ देखेका थिए।
दुर्गा भारतीय जेलबाट जमानतमा छुटेपछि उनी नेपाल फर्किए। राजनीति गर्ने चाहना मरिसकेको थियो। सुशीला पनि त्यतिखेर वकालत पेसामा स्थापित भइसकेकी थिइन्। नेपाल फर्किएर दुर्गा एम्नेस्टी इन्टरनेसनलजस्ता संस्थामा सक्रिय भए। उनकै अनुरोधमा कृष्ण पहाडी, प्रदीप पोखरेल, शम्भु कार्की र सुशीला पनि ती संस्थामा संलग्न भए। यिनै संस्थाको कार्यक्रममा दुर्गा र सुशीलाको भेट भइरहन्थ्यो।
सुशीला दुर्गाको शालीन व्यक्तित्वबाट प्रभावित हुँदै गएकी थिइन्। एक दिन अचानक सुशीलाले नै दुर्गालाई विवाहको प्रस्ताव राखिन्। वैवाहिक जीवनमा बाँधिएर घर–परिवार चलाउने अवस्था नभएको भन्दै दुर्गाले त्यसबेला केही जवाफ दिएनन्।
उनलाई ठूलो धुकचुक भयो। दुर्गाले आफ्नो पुस्तक ‘विमान विद्रोह’मा उल्लेख गरेअनुसार निकै छलफलपछि उनी विवाहका लागि तयार भए।
दुर्गा र सुशीलाबीच २०४६ साल साउन १३ गते विवाह भयो। तर, यसमा दुवैको परिवारको सहमति थिएन। दुवै पक्षले उनीहरूलाई स्वीकार गरेनन्।
बिहे भएको भोलिपल्टदेखि सुशीला कार्की बहस गर्न अदालत जान थालिन्। दुर्गा घर सम्हाल्न थाले।
२०६२/६३ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसको कोटाबाट सुशीलालाई न्यायाधीश बन्ने प्रस्ताव आयो। शम्भु थापादेखि कृष्णप्रसाद भण्डारीसम्मले आग्रह गरे, ‘तपाईं अब न्यायाधीश बन्नुपर्यो।’ त्यसपछि २०६५ माघमा सर्वोच्च अदालतको अस्थायी न्यायाधीश बनेर विराटनगरबाट सुशीला काठमाडौँ आइन्।
सुशीला काठमाडौँ आए पनि दुर्गा छोरा स्याहारेर विराटनगरमै बसे। छोरा कक्षा आठमा पढिरहेका थिए। काठमाडौँमा डेराको बन्दोबस्त भएपछि सुशीलाले छोरालाई बोलाइन्, दुर्गा विराटनगरमै बसे।
काठमाडौँ आएको सातौँ दिन राति छोरा प्रशान्तले रुँदै फोन गरे दुर्गालाई। सानैदेखि विराटनगरमा पढिरहेको छोराले काठमाडौँ बस्न नसक्ने भनेपछि उनले उतै आउन भने।
सुशीलाको प्रश्न थियो, ‘एक्लै सम्हाल्न सकिन्छ त?’
‘चाहिनेजति खर्च पठाइदिनू, बाँकी म सम्हाल्छु,’ दुर्गाको जवाफ थियो।
सुशीलाले सर्वोच्चमा रहँदा धेरै ऐतिहासिक फैसला सुनाइन्। उनकै इजलासले कांग्रेस नेता जेपी गुप्तालाई भ्रष्टाचारमा दोषी ठहर गरेर जेल सजाय सुनायो। सो समय गुप्ताको मुद्दा मिलाइदिन भन्दै दुर्गाकहाँ धेरैजना पुगेका थिए। तर, दुर्गा आफ्नो इमानबाट टसमस भएनन्।
चौतर्फी दबाबका बीच एक रात दुर्गालाई सुशीलाको फोन आयो, ‘हैन यहाँ त मार्लान् जस्तो भइसक्यो। आउने होइन? कि म मरिसकेपछि फोटोमा माला चढाउन मात्र आउने हो?’
त्यसपछि सुवेदी छोरा लिएर काठमाडौँ आए।
विवाह गरेको दिनदेखि आजसम्म सुशीला निरन्तर पर्दाअगाडि छिन्, दुर्गा पछाडि। तर, उनी सुशीलाका हरेक निर्णयमा बलियोगरी साथमा खडा छन्।

‘रास्वपामा उन्माद नछाओस्’
जेनजी आन्दोलनपछि अन्तरिम सरकारको नेतृत्व गर्न इच्छुकहरू धेरै थिए। प्रधानन्यायाधीश नै भइसकेका अरु पात्रको नाम पनि चर्चामा थियो। तर, जेनजीले किन सुशीलालाई रोजे त?
‘अन्याय सहन नसक्ने उनको बानीका कारण प्रधानमन्त्री बनाएको हो,’ दुर्गा भन्छन्, ‘प्रधानन्यायाधीशको पद सकिएपछि पनि उनी समाजमा भइरहेका विभेद, राजनीतिक दलहरूले गरेका नराम्रा कामहरूको खुलेर विरोध गर्थिन्। कोही पनि पूर्वप्रधानन्यायाधीश यसरी बोल्दैनन्। उनको त्यही स्वभावका कारण देशको बागडोर सम्हाल्ने ठाउँमा पुगिन्।’
पत्नीलाई सधैँ सम्मानपूर्वक सम्बोधन गर्ने उनी सुशीलाको सफलताबाट अत्यन्त खुसी छन्।
‘धेरै राजनीतिक दलले चुनावै हुँदैन भन्दै हिँडे। समाचार पनि निर्वाचन हुँदैन भन्दै लेखिए,’ उनले सुनाए, ‘त्यो सबै देख्दा सुशीलालाई पनि चुनाव हुँदैन कि भन्ने चिन्ता हुन्थ्यो। अनि चुनाव नै अन्तिम विकल्प हो। चुनाव गराएर देशलाई स्थिर बनाउन जिम्मेवारी तिमीलाई दिइएको हो, त्यो पुरा गर भन्दै ढाडस दिन्थेँ।’
सुशीलाको हरेक निर्णयमा सल्लाहकार र सहयोगीको भूमिका खेलेका दुर्गा यो सफलतालाई लोकतन्त्रको जित मान्छन्।
दुर्गा जेनजी आन्दोलनपछि परिस्थिति सम्हाल्न र चुनाव गराउनमा नेपाली सेनाले खेलेको भूमिकाप्रति आभारी छन्।
‘सेनाले जसरी अवस्था शान्त बनाएर सरकार गठन गर्न सहयोग गर्यो, त्यो तारिफयोग्य छ। २४ गतेपछि सेनाले अवस्था नियन्त्रणमा नलिएको भए झन् भयावह घटना हुन सक्थ्यो,’ उनी थप्छन्, ‘सरकार गठन गराएर निर्वाचन सफल बनाउनमा नेपाली सेनाले ठूलो भूमिका निर्वाह गर्यो।’
जेनजी आन्दोलनलाई उनी राजनीतिक दलहरूको गल्तीको परिणाम मान्छन्।
‘विगतमा राजनीतिक दलले गरेका गल्ती र अदूरदर्शिताका कारण जनताले वर्षौंसम्म दुःख पाए, त्यसको परिणाम जेनजी आन्दोलन हो,’ उनले भने, ‘राजनीतिक दलहरूले वर्षौंदेखि जनताका माग सम्बोधन गरेनन्। युवाको आवाज सुनेनन्। देश पछाडि पर्यो। र, त्यो आक्रोश सडकमा पोखियो। सामाजिक सञ्जाल बन्द गर्ने निर्णय नगरेको भए पनि यतिबेलै त्यो आक्रोश सडकमा नआउन सक्थ्यो।
त्यसैले जेनजी आन्दोलन स्वाभाविक भएको उनको भनाइ छ।
‘वर्षौंदेखि कुशासनका कारण युवा विदेश पलायन हुनुपर्यो। त्यसको परिणम त आउनु नै थियो। धेरै जनधनको क्षति भयो,’ उनी केहीबेर रोकिएर बोले, ‘लम्हों ने खता की थी, सदियों ने सजा पाई।’
यो चुनावी परिणामले पुराना दलहरूको अहंकारको अन्त्य गरिदिएको उनको ठम्याइ छ।
‘कांग्रेस, एमाले, नेकपामा हामी आफैँ मालिक हौँ भन्ने अहं थियो। त्यो जनताले तोडिदिए,’ सुवेदी भन्छन्, ‘वर्षौंदेखि गरेको दमनको फल अहिले जनताले दिए। यो परिणामले राजनीतिक दलहरूलाई दण्डित गरेको छ। अन्याय धेरै समय टिक्दैन।’
पुराना पार्टीलाई आफ्नो गल्ती स्वीकारेर नयाँ तरिकाले अघि बढ्न र करिब दुई तिहाइ बहुमत ल्याएको रास्वपालाई जनताको मालिक हुँ भन्ने नसोच्न उनी सुझाव दिन्छन्।
‘चुनावमा हारेका पार्टीहरूले आफू कहाँ चुकेको हो, त्यो पत्ता लगाएर काम गर्नुपर्छ। विगतमा भएका कमीकमजोरीलाई केलाएर, सुधारेर लैजानु पर्छ। गल्तीबाट सिकेर अघि बढ्नु पर्छ,’ उनले भने, ‘रास्वपाले धैर्य भएर काम गर्नुपर्छ। जनता मालिक हुन्, पहिलाको पार्टीले गरे जस्तो मालिक भएर बस्नु हुँदैन, पुरानो गल्ती फेरि दोहोरियो भने जनताले सहयोग गर्दैनन्, विद्रोह फेरि हुन्छ।’
अन्यथा रास्वपाको हालत माओवादीको जस्तै हुने उनको भनाइ छ।
‘२०६४ सालको चुनावमा माओवादीलाई केही गर्छन् भनेर यिनै नेपालीले जिताएर पठाएका हुन्। माओवादीले उन्माद देखाए। जनताको मत सदुपयोग गर्न सकेनन्। रास्वपाले पनि उन्माद देखायो भने माओवादीको जस्तो अवस्था आउँछ,’ कुराकानीको बिट मार्दै दुर्गाले भने, ‘अहिले जनता जागेका छन्, त्यसकारण उन्मत्त नभई काम गर्नुपर्छ।’
तस्बिरहरू : केशव थापा
Shares

प्रतिक्रिया