मधेस प्रदेशमा सत्ता समीकरण फेरिन लागेको छ। मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनु पूर्वसन्ध्यामा एमाले सरकारमा सहभागी हुन लागेको हो।
मधेस प्रदेश सरकारमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको सरकार बन्न लागेपछि जसपा नेपाल सरकारबाट बाहिरिने सम्भावना बढेको छ। मुख्यमन्त्री यादवलाई निरन्तरता दिँदै सरकारलाई अघि बढाउने तीन दलको निर्णय अनुसार सत्ता समीकरण फेरिएको जनाइएको छ।
कांग्रेस, एमाले र नेकपासहितका तीन दलका शीर्ष नेतृत्वबिच भएको सहमति अनुसार एमाले सरकारमा सहभागी हुन लागेको संसदीय दलका नेता सरोज यादवले पुष्ट गरेका छन्।
उनले भने, ‘तीन दलीय शिर्षस्थ नेताहरूको निर्णय अनुसार एमाले सरकारमा सहभागी हुन लागेको हो। पहिलो चरणमा विना विभागीय मन्त्रीको रुपमा बाराका सांसद मोहम्मद समीरलाई पठाइने तयारी रहेको छ।’
मुख्यमन्त्री कृष्ण यादवले शुक्रबार विश्वासको मत लिनुअघि नै जसपा नेपालबाट सरकारमा बस्ने वा हट्ने के प्रतिक्रिया आउँछ त्यसपछि एमालेले मन्त्रालयको बार्गेनिङ्ग गर्ने बुझिएको छ।
श्रोतका अनुसार जनमत पार्टीले छोडेको अर्थमन्त्रालय, खेलकुद तथा समाज कल्याण र जसपा नेपालको कोटाबाट एउटा मन्त्रालय दिने आन्तरिक सहमति रहेको छ।
यदि जसपा नेपाल सरकारमा हट्यो भने तत्कालीन जसपा नेपाल नेतृत्वमा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय र लोसपाको जिम्मेवारीमा रहेको शिक्षा तथा संस्कृति मन्त्रालय एमालेले राख्ने र जनमत पार्टीको जिम्मेवारीबाट आएका अर्थमन्त्रालय कांग्रेस तथा खेलकुद तथा समाज कल्याण मन्त्रालय नेकपालाई दिने तयारी रहेको छ।
हुनत जसपा नेपालले पनि सरकारलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ। सरकारमा बसे वा नबसे दुवै अवस्थामा सरकारलाई समर्थन दिने जसपा नेपाल संसदीय दलका नेता सरोज यादवले बताएका छन्।
उनले भने, ‘हामीले सरकारलाई समर्थन दिने निर्णय गरिसकेका छौँ। जहाँसम्म जसपालाई सरकारबाट हटाउने तयारी भइरहेको कुरा आइरहेको छ। अहिलेसम्म सरकारमा हामी छदैछौँ, सरकारबाट हटाउने वा राख्ने त्यो मुख्यमन्त्रीमा भर पर्छ। तर सरकारलाई समर्थन जारी रहनेछ।’
एमाले सरकारमा सहभागी भएसँगै जसपा आउट भएपनि मुख्यमन्त्री यादवले कांग्रेसको २२, एमालेको २४, नेकपाको १४ मतसहित ६२ र जसपा नेपालको २६ मत सहित ८८ मत मत पाउनेछन्। यदि जसपा नेपाल सरकारबाट आउट भएन भने प्रमुख प्रतिपक्षी दल जनमत पार्टी बन्नेछ।
Shares

प्रतिक्रिया