नेपाल सरकारले लागू गरेको भन्सार नीतिले मधेसका सर्वसाधारणको दैनिकीमा प्रत्यक्ष असर पारेको भन्दै युथ एसोसिएसन अफ नेपाल (यान)ले सरकारलाई ध्यानाकर्षण गराएको छ।
यानका अध्यक्ष राहुलराज यादवको नेतृत्वमा शुक्रबार मधेसी आयोगमार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो। ज्ञापन पत्रमा १०० रुपैयाँभन्दा माथिको सामानमा भन्सार लगाउने नीति अहिले महँगाईको समयमा अव्यवहारिक भएको भन्दै यस्तो नीतिले गरिब, मजदुर, किसान तथा सीमान्तकृत समुदायलाई थप मारमा पारेको जिकीर गरिएको छ।
ज्ञापनपत्रमा मधेसको भौगोलिक, सामाजिक तथा आर्थिक अवस्था अन्य क्षेत्रभन्दा फरक रहेको उल्लेख गर्दै यहाँका नागरिकहरू वर्षौंदेखि सीमावर्ती भारतीय बजारमा निर्भर रहेकाले तिनीहरुलाई दैनिक उपभोग्य सामग्रीमा समेत भन्सार तिर्नुपर्ने बाध्यता अन्यायपूर्ण भएको उल्लेख छ।
यानले मिथिला क्षेत्रको ‘रोटी–बेटी’ सम्बन्ध, विवाह, चाडपर्व तथा धार्मिक गतिविधिसँग जोडिएका सामानमा समेत कर लगाइनु भनेको सांस्कृतिक अधिकारमाथिको हस्तक्षेप भएको आरोप समेत लगाएको छ। विशेषगरी दलित तथा विपन्न समुदायमाथि यसले गम्भीर असर पारिरहेको यानको भनाई छ।
यस्तै, सीमाक्षेत्रमा सुरक्षाकर्मीबाट हुने कुटपिट, सामान जफत तथा दुर्व्यवहारका घटनाले अवस्था झन् जटिल बनेको भन्दै यानले मानवअधिकार उल्लंघनका घटनाप्रति गम्भीर ध्यान दिन माग गरेको छ।
Shares

प्रतिक्रिया