चलचित्र ‘रोल नं १’को टाइटल सङ सार्वजनिक भएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको चलचित्रमा टाइटल सङमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ।
गीतले नेपाली शिक्षा प्रणाली र विद्यालय तहमा हुने श्रेणीको दौडमा बालबालिकाले भोग्नुपर्ने दवावलाई मुख्य विषय बनाएको छ। भिडिओमा हिमाली भेगको सुन्दर दृश्य, ढुङ्गाले बनेका परम्परागत घर र ग्रामीण स्कुलको जनजीवनलाई बडो कलात्मक ढंगले उतारिएको छ। एकातिर बालकले मैनबत्तीको उज्यालोमा अबेरसम्म पढ्नुपर्ने बाध्यता छ भने अर्कोतिर साथीहरूसँग भलिबल खेल्ने र घुम्ने उसको रहरलाई दबाइएको देखिन्छ।
‘हरेक विद्यार्थीको कथा’ स्लोगन दिएको विनोद पौडेलको चलचित्र ‘रोल नं १’ गणतन्त्र दिवसको अवसर पारेर आउँदो जेठ १५ गते प्रदर्शन हुँदै छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ। बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ छन्।
विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन्। महेश दवाडीले लेखेको चलचित्रको डीओपी शिव राम श्रेष्ठ रहेका छन्।
चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन्। सम्पादक मदन घिमिरे हुन्। यस चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्ने जिम्मा लिएको छ।
Shares

प्रतिक्रिया