मधेस


बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने आठ जनाको लाइसेन्स निलम्बन

बारम्बार ट्राफिक नियम उल्लंघन गर्ने आठ जनाको लाइसेन्स निलम्बन

सुभाष कर्ण
बैशाख ३, २०८३ बिहिबार २०:१८, जनकपुरधाम

ट्राफिक नियम उल्लंघनमा सवारी चालकमाथि मधेस प्रदेशस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले कडाई गरेको छ। 

अब पाँच पटक भन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकको सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बन गर्ने प्रक्रिया शुरु गरेको छ।

बारा जिल्लाको पथलैयास्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जारी गरेको नयाँ प्रेस विज्ञप्तिअनुसार अब बारम्बार नियम तोड्ने चालकहरूलाई सीधै ‘लाइसेन्स निलम्बन’ को कडा कारबाही प्रक्रिया शुरु गरिएको जनाएको छ। 

विज्ञप्तिअनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ६० बमोजिम ‘चालकले पालन गर्नुपर्ने शर्तहरु पाँच पटक भन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको चालक अनुमति पत्र ६ महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ’ भन्ने व्यवस्था बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको जनाइएको छ। 

ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूको विवरणमा चेक गर्दा ५ पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गरेका ८ जना देखिएको र तिनीहरूको लाइसेन्स ६ महिनाका लागि निलम्बनका लागि यातायात व्यवस्था कार्यालय वीरगञ्जमा पठाइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका सूचना अधिकारी वकिल बहादुर सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

अहिले डिजिटल प्रणालीमार्फत निगरानी कडा बनाइएपछि यस प्रावधानलाई प्रभावकारी रूपमा लागू गर्न थालिएको हो। यति मात्र होइन, ट्राफिक प्रहरी कार्यालयहरूलाई समेत सक्रिय बनाइएको छ। अब जहाँसुकै चेकजाँच हुँदा सवारी चालकको ट्राफिक नियम उल्लंघन विवरण प्रणाली सफ्टवेयरबाट पुरानो रेकर्ड जाँच गरी तुरुन्तै कारबाहीका लागि प्रक्रिया अघि बढाइने विज्ञप्तिमा भनिएको छ। 

कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक नवीन बहादुर सिंह भन्छन्, ‘एक पटकभन्दा बढी, पाँच पटकभन्दा माथि नियम उल्लंघन गर्ने चालकलाई अब कुनै छुट दिइने छैन। नियम उल्लंघन गरे तत्काल कारबाही हुन्छ, र आवश्यक परे लाइसेन्स निलम्बनसम्म गरिन्छ।’

यो कदमले सडक सुरक्षामा ठूलो सुधार ल्याउने अपेक्षा गरिएको छ। यो कारबाही प्रक्रियाले लापरवाही गर्ने चालकहरूले पनि सतर्कता अपनाउनेछ भन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad